पढ्न नपाएका किशोरीहरूलाई रुपान्तरण कक्षा

“म मेरो वडाका हरेक किशोरीहरुले उचित शिक्षा पाउनुपर्ने पक्षमा छु। किशोरी शिक्षाले बालविवाहलाई न्यूनीकरण, यौन तथा प्रजनन् स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्न सक्छ,” वडाध्यक्ष रानाले भने।

पढ्न नपाएका किशोरीहरूलाई रुपान्तरण कक्षा

धनगढी। धनगढी उपमहानगरपालिका–७ देवरीया राना गाउँकी रञ्जना रानाको १५ वर्षकै उमेरमा विवाह भयो। भरखर नौ कक्षामा अध्ययनरत रञ्जनाको स्नातकसम्म अध्ययन गर्ने धोको थियो। विवाहपछि जेनतेन गरेर गाउँकै शिव माध्यामिक विद्यालयमा १० कक्षासम्म अध्ययन गरेकी उनको स्नातक पढ्ने सपना अधुरै रह्यो।

आर्थिक अभावका कारण पढाउन नसकिने भन्दै घर परिवारले विवाह गर्दिएपछि रञ्जना श्रीमानको घरव्यवहार सम्हाल्दै आएकी छन्। उनी आफ्नो पढ्ने सपना अधुरै रहेकामा चिन्तीत छिन्।

यस्तै, धनगढी–७ राना गाउँकै रोसनी राना १५ वर्षकी भइन्। शिव माध्यामिक विद्यालयबाटै सात कक्षासम्म अध्ययन गरेकी उनले आर्थिक अभावकै कारण विद्यालय छोड्नु परेको छ। घर परिवारले माथिल्लो कक्षासम्म पढाउन् नसकिने भनेपछि उनले विद्यालय छोडेको सुनाउँछिन्।

रोसनी अहिले गाउँमा अन्य मानिसहरूसँगै दैनिक ज्यालादारीमा मजदुरी गर्न जान्छिन्। सँगैका साथीहरू विद्यालय गएको देख्दा आफूलाई स्कुल जान नपाएकोमा दुख्ख लाग्ने गरेको उनले सुनाइन्।

रोसनी जस्तै गाउँकै १७ वर्षीया राम दुलारी रानाले पनि नौ कक्षाबाटै पढाइ छाडिन्। उनले पढाइ अधुरै छोड्नुको कारण पनि पारिवारिक आर्थिक अवस्था कमजोर हुनु हो। उनी पनि अहिले विद्यालय छोडेर दैनिक ज्यालादारीमा मजदुरी गर्न जाने गरेको सुनाउँछिन्।

उनीहरू जस्तै राना-चौधरी समुदायका धेरै किशोरीहरूले आर्थिक अभावकै कारण बीचमै पढाइ छोड्नु परेको छ। धनगढी उपमहानगरपालिका–७ का देवरीया, रानागाउँ, गौडी, मनेहराका विद्यालय छोडेका अधिकांश किशोरीहरूको समस्या उस्ताउस्तै छ।

यसरी विद्यालय शिक्षाबाट वञ्चित भएका किशोरीहरूका लागि युनिसेफको सहयोगमा बागेश्वरी असल शासन (बास) नेपालले धनगढीमा रुपान्तरण कक्षा सञ्चालन गरेको छ। बिहीबारदेखि चार समूहमा गरी जम्मा १०० जना किशोरीहरूलाई सहभागी गराउने उद्देश्यका साथ रुपान्तरण कक्षा शुरु गरेको हो। रुपान्तरण कक्षाले शिक्षाबाट वञ्चित भएका किशोरीहरूका साथै पढाइ बीचैमा छोडेका किशोरीहरूलाई समयमै प्रेरणायुक्त उचित शिक्षा दिई उनीहरूको भविष्य तथा जीवन उज्ज्वल बन्न मद्दत पुग्ने अपेक्षा छ।

प्रत्यक्ष रूपमा शिक्षा दिन नसके पनि जीवनोपयोगी सीप र व्यवहारिक ज्ञान प्रदान गरी जीवनको बाटो पहिल्याउन सिकाउने उद्देश्यका साथ किशोरीहरूका लागि रुपान्तरण कक्षा आयोजना गरिएको बासका प्रदेश संयोजक पाण्डव पुजाराले बताए। रुपान्तरण कक्षा उद्घाटन कार्यक्रयमा बोल्दै संयोजक पुजाराले बासले सुदूरपश्चिममा बाल संरक्षण कार्यक्रममार्फत उक्त कक्षाहरू सञ्चालन भइरहेको बताए।

यस्तै, उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष सीताराम रानाले आफ्नो वडामा सञ्चालन भएको उक्त कार्यक्रम प्रसंशनीय भएको बताए। धनगढी बजार बाहिरका गाउँहरूमा किशोरीहरूले विद्यालय छोड्ने क्रम बढेको भन्दै उनले चिन्ता व्यक्त गरे।

“म मेरो वडाका हरेक किशोरीहरूले उचित शिक्षा पाउनुपर्ने पक्षमा छु। किशोरी शिक्षाले बालविवाहलाई न्यूनीकरण, यौन तथा प्रजनन् स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्न सक्छ,” वडाध्यक्ष रानाले भने, “तसर्थ, किशोरी शिक्षा उचित भएमा केही हद्सम्म समस्याबाट महिलालाई छुटकारा दिलाउन सकिन्छ।”

यस्तै, शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापक नन्दलाल रानाले राना-चौधरी समुदायमा देखासीकी र विभिन्न अभावका कारण बाल्यकालमै विवाह गरिदिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरे। उनले आफ्नो विद्यालय १० कक्षासम्म मात्रै भएको र माथिल्लो शिक्षाको लागि अर्को विद्यालय गएर पढ्न नसक्ने अवस्थाको कारण किशोरीहरूले विद्यालय छोड्ने क्रम बढेको बताए।

शिक्षिका गीता सोडारीले बाल विवाह बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिन्। उनले आफूलाई चिन्ने, साथीमाझ रमाउने, संसार बुझने, तथा व्यक्तित्व विकास गर्ने समयभन्दा पनि अगावै बाल्यकालमै विवाह गरिदिएको खण्डमा पछि गएर विभिन्न किसिमका दुष्परिणामहरू आउन सक्ने हुनाले त्यसको बारेमा सजग तथा सावधान गराउनुपर्ने बताइन्।

उनले रुपान्तरण कक्षाले विद्यालय नगएका किशोरीहरूलाई विद्यालयमा भर्ना भएर नियमित रूपमा पढ्ने वातावरण सिर्जना गर्ने बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved