एम्सका पदाधिकारीसँग आरजु राणाको आग्रह : सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गरौँ

प्रधानमन्त्री देउवाको औपचारिक भारत भ्रमणका क्रममा डा. देउवा पनि हाल भारतमा छिन्।

एम्सका पदाधिकारीसँग आरजु राणाको आग्रह : सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गरौँ

नयाँ दिल्ली। प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआईआईएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेकी छन्।

इन्स्टिच्युटको भ्रमणका क्रममा डा. देउवाले यस किसिमको ‘डेडिकेटेड’ अस्पताल नेपालमा पनि आवश्यक रहेकाले त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न र पूर्वाधार निर्माणमा सहयोग गर्न आग्रह गरेकी हुन्।

इन्स्टिच्युटका विज्ञहरूसँगको अन्तरक्रियामा डा. देउवाले नेपालमा पनि एआईआईएमएसजस्ता संस्था स्थापना गरी तिनको संस्थागत विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्ने बताइन्।

सरकारी र गैरसरकारी निकायको निरन्तर प्रयासबाट नेपालमा मातृ मृत्युदर र नवजात शिशुको मृत्युदर घटाउन सकिएको भए पनि अझै यो समस्या चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले मुलुकको सुदूरपश्चिम क्षेत्रमा यो समस्यामा अझै रहेको देखिएकाले त्यस क्षेत्रमा एआईआईएमएसको सेवा लैजान आवश्यक रहेको बताइन्।

एआईआईएमएसका निमित्त निर्देशक प्रा.डा.नीना खन्नाले डा. देउवाको आग्रहलाई स्वीकार गर्दै छिट्टै यस सम्बन्धमा आवश्यक पहल शुरु गरिने बताइन्। उनले नेपाल सरकारसँग समन्वय गरी यस क्षेत्रमा काम गर्न इच्छुक रहेको धारणा राखिन्।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी डा. देउवाले तीन दशकदेखि नेपालमा सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएकी छन्। प्रधानमन्त्री देउवाको औपचारिक भारत भ्रमणका क्रममा डा. देउवा पनि हाल भारतमा छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved