जयनगर-जनकपुर नियमित रेलसेवा आजबाट शुरू हुँदै

जनकपुरबाट जयनगरका लागि सामान्य टिकट रु ७० र एसीतर्फ ३ सय ७० कायम गरिएको छ।

जयनगर-जनकपुर नियमित रेलसेवा आजबाट शुरू हुँदै
फाइल तश्वीर

जनकपुरधाम। भारतको जयनगरदेखि नेपालको जयपुरसम्म आजबाट रेलसेवा शुरू हुँदैछ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्‍त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट संयुक्त रूपमा यो रेलसेवाको भर्चुअल उद्घाटन गर्नेछन्।

त्यसपछि नियमित रूपमा रेलसेवा शुरू हुने नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। यसअघि पटक–पटक रेल सञ्चालनको मिति तोकिएपनि नियमित रूपमा रेलसेवा सञ्चालनमा आउन सकेको थिएन।

देउवा र ओलीबीच हैदरावाद हाउसमा हुने भेटवार्तापछि रेल उद्‍घाटनको कार्यक्रम राखिएको छ। प्रधानमन्त्री मोदीले देउवाको सम्मानमा दिवाभोज समेत आयोजना गर्दैछन्।

देउवा र भारतका मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेछ। प्रधानमन्त्री देउवाले हिजो भारतस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा भारत र नेपालबीच महत्वपूर्ण सहकार्य हुने जानकारी दिएका थिए।

नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उनले बताएका थिए।

आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरे।नेपालको बृहत्तर आर्थिक सामाजिक विकासलाई केन्द्रमा राखेर समुन्नत राष्ट्रको मार्गचित्र कोर्ने दिशामा सबै नेपाली पुनः एकपटक जुट्नुपर्ने आवश्यकता उनले औल्याए।

यस्तो छ रेलवेको तयारी
शुक्रबार भारत भ्रमणमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधाधनमन्त्री नरेन्द्र मोदीले १२ बजेर २० मिनेटमा संयुक्त रुपमा भर्चुअल मार्फत बटन थिच्दै झण्डा हल्लाएर रेलको उदघाटन गर्ने कार्यक्रम रहेको छ।

रेल उदघाटनको लागि जयनगर स्टेशन र जनकपुरधाम स्टेशनलाई सजाइएको छ। दुबै स्टेशनमा भर्चुअल विधिबाट हुने उदघाटन हेर्न एलसिडी टिभी लगाइएको छ भने टेन्ट पण्डाल सहित अन्य सरसजावट गरिएको छ।

उदघाटनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले बताए। झाका अनुसार उदघाटनको बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थी दुबै देशको झण्डासहित उभिनेछन्।

प्रधानमन्त्रीद्वयले झण्डा हल्लाएपछि रेल गुड्ने छ। विद्यार्थीहरुले पनि झण्डा हल्लाउने छन् र जयनगरबाट जनकपुरको लागि रेल गुड्नेछ । रेल प्रत्येक स्टेशनमा केही समयको लागि रोकिदै जनकपुरसम्म आइपुग्ने छ।

महाप्रबन्धक झाले जनकपुर रेल्वे स्टेशनमा एक विशेष कार्यक्रम राखिएको बताए । यस कार्यक्रमका लागि संघीय सरकारकी भौतीक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव जनकपुर आइपुगेकी छन्। जनकपुर रेल्वे स्टेशनमा रेल आई पुगेपछि मन्त्री यादव त्यसमा चढेर कुर्था स्टेशनसम्म पुग्ने छिन्।

कुर्थाबाट फर्किने बेला फेरि जनकपुर स्टेशनमा मन्त्री यादव ओर्लिने र त्यहाँ केहीबेरको कार्यक्रमपश्चात रेल जयनगर फर्किने बताए।

उदघाटनको अवसरमा यात्रुले निःशुल्क रेल चढ्न पाउने छन्। उदघाटन पश्चात जनकपुरधामको कुर्थास्टेशन देखि भारत विहारको जयनगरसम्म नेपाल रेलले यात्रुलाई सेवा प्रदान गर्ने छ।

शनिबारदेखि सुरु हुन लागेको कुर्था–जयनगर सम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि सामान्य सिटका लागि रु ९० र वातावरण अनुकुलित (एसी) सिट र सुविधातर्फ ४ सय ५० रुपैयाँ टिकट कायम गरिएको छ।
जनकपुरधामबाट टिकट काट्दा केही सस्तो पर्नेछ। जनकपुरबाट जयनगरका लागि सामान्य टिकट रु ७० र एसीतर्फ ३ सय ७० कायम गरिएको छ। लामो समय पश्चात रेल्वे चल्ने भएपछि स्थानीयबासी खुसी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved