हुम्लाको मासपुर, जहाँका मतदाताले भोट हाल्न एक दिन हिँड्नुपर्छ

हुम्लाको मासपुर, जहाँका मतदाताले भोट हाल्न एक दिन हिँड्नुपर्छ

सुर्खेत । हुम्लाको ताजाकोट गाउँपालिका–३ स्थित मासपुर गाउँका स्थानीयलाई चुनावमा भोट हाल्न दिनभर पैदल हिँडेर मतदान केन्द्र पुग्नुपर्ने बाध्यता छ। चुनावमा भोट हाल्न मासपुरबाट एकदिन पैदल हिँडेर ताजाकोट गाउँपालिका केन्द्र पुग्नुपर्छ।

भोट हाल्न मतदान केन्द्र ताजाकोट पुग्न एक दिन लाग्ने मासपुरका ९२ वर्षीय दलवीर रोकायाले गुनासो गरे। ‘मतदानका तीन दिन समय छुट्याउनुपर्छ’ उनले भने, ‘जान आउन गरेर दुई दिन लाग्छ, एक दिन भोट हाल्नुपर्यो ।’

गाउँकै बनादेव आधारभूत विद्यालयमा मतदान केन्द्र राखिएको भए मतदान गर्न सहज हुने मासपुरकी कौशिला बुढाले बताइन्। ‘गाउँका सबैले भोट हाल्न पाउदैनौँ, तीन दिनको समय खर्च हुन्छ। गाईवस्तु हेर्नुपर्ने र घर कुर्नुपर्ने भएकाले एक घरको एकजना मात्रै भोट हाल्न जाने गरेका छौँ,’ उनले भनिन्।

उक्त गाउँमा ६७ मतदाता रहेको उनले बताइन्। ‘भोट हाल्ने समय नआइदिए पनि हुन्थ्यो जस्तो लाग्छ,’ उनले भनिन्, ‘भोट हाल्न दुःख मात्रै गर्नुपर्छ। जितेपछि नेताहरू कहिल्यै फर्कँदैनन्।’

२०७४ सालको तीनवटै तहको निर्वाचनमा मासपुरवासीमध्ये १७ जनाले मात्र मतदान गरेका थिए। आफु निर्वाचित भएदेखि नै मासपुरमा मतदान केन्द्र स्थापनाका लागि पहल गरेको तर, यस पटक सफल नभएको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए।

‘२४ घरधुरीका ६७ जना मतदातामध्ये एक घरबाट एक जना मात्र मतदान गर्न आउने गरेका छन्।’ उनले भने,‘वृद्धवृद्धा तथा अपाङ्गता भएका नागरिक लामो दूरी पैडल हिडेर पार गर्न नसक्ने हुनाले मतदाधिकारबाट बञ्चिन रहने गरेको छन्।’

निर्वाचन समय अझै बाँकी रहेकाले केन्द्र स्थापनाका लागि राजनीतिक दल, निर्वाचन कार्यालय र आयोगसँग माग गरिएको त्यो पनि सुनुवाई नभएको स्थानीय हरि बुढाले बताए। ‘मतदाता संख्यालाई मात्र ध्यान नदिएर भौगोलिक रुपमा विकट बस्तीको बाध्यतालाई पनि ध्यान दिनुपर्छ।’ उनले भने,‘हाम्रो माग कहिले पूरा भएको छैन।’

मासपुरको समस्यालाई आयोगलाई जानकारी गराउँदा गतवर्ष तय भएको मतदान केन्द्रलाई यथावत राख्ने र नयाँ नथपिने भन्ने भएकाले यस वर्ष त्यहाँ मतदान केन्द्र स्थापना नगरिएको जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए।
हुम्लामा ५२ वटा मतदान केन्द्र रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved