तेह्रथुमको वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्मको मध्यपहाडी लोकमार्ग द्रुत गतिमा निर्माण हुँदै

नेपालभ्युज

तेह्रथुमको वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्मको मध्यपहाडी लोकमार्ग द्रुत गतिमा निर्माण हुँदै

वसन्तपुर (तेह्रथुम)। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तेह्रथुमको वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्मको मध्यपहाडी लोकमार्गमा जारी सडक विस्तारको कार्यले गति लिएको छ।

करिब १ हजार ८ सय ७९ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तगर्त पुर्वी खण्डमा हाल सडक विस्तारको कार्यले गति लिएको हो। अहिले वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्म ३ खण्डमा सडक कालोपत्रे गर्ने कार्य भइरहेको छ। जसमा वसन्तपुरदेखि लसुनेसम्मको १० किलोमिटर सडकमा कालोपत्रेको कार्य सम्पन्न भइसकेको छ।

बाँकी खण्डहरुमा धमाधम काम भईरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय पाँचथरका सब–इन्जिनियर विवश अधिकारीले बताए। उनले काँडेदेखि जिरिखिम्तीसम्मको ५ किलोमिटर पनि कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनका अनुसार जिरिखिम्तीदेखि तेह्रथुम सदरमुकाम म्याङ्लुङसम्मको खण्डमा पनि निमार्ण कार्य धमाधम भइरहेको छ। उनले भने, ‘यस सडकखण्डमा २ वर्ष अघिसम्म यात्रा गर्न अत्यन्तै असहज थियो। सडक विस्तारको काम अघि बढेपछि केही सहजता थपिएको छ। हामीले सडक मर्मतको कार्य पनि गरिरहेका छौं।’

पाँचथरको चिवाभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म निर्माणाधिन मध्यपहाडी लोकमार्गको दुुरावस्थाका कारण पछिल्लो समय स्थानीय र यात्रुहरुले निकैै हैरानी झेल्दै आएका थिए। तर, निर्माण कार्यले गति लिएपछि हाल अवस्था फेरिएको स्थानीय भरत लिम्बुले बताए। उनले सडक कालोपत्रे भएपछि औषधी÷उपचार, मालसामान ढुवानी र आवागमनमा निकैै सहजता थपिएको जानकारी दिए।

नेपालका पहाडी जिल्लाहरुमा सहज आवागमनको लक्ष्य सहित सरकारले मध्यपहाडी लोकमार्गको विस्तारको अवधारणा ल्याएको थियो। मध्यपहाडी लोकमार्गले अधिकांश पहाडी जिल्ला, तिनका सदरमुकाम र प्रमुख शहरहरुलाई छुने भएकाले आवतजावत तथा मालसामान ढुवानी सहजता ल्याउन यो लोकमार्गलाई महत्वका साथ हेरिएको हो।

जसमा लोकमार्गले छुने पाँचथरको फिदिम, तेह्रथुमका वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकमकर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनलाई अत्याधुनिक शहरको रुपमा विकास गर्ने सरकारी योजना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved