फर्किए चिनियाँ विदेशमन्त्री वाङ

नेपालभ्युज

फर्किए चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं। तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी चीन फर्किएका छन्। आइतबार दिउँसो २:४५ मा वाङ चीन प्रस्थान गरेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन्।

वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री देउवासँग भएको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिए। भेटबारे विस्तृत जानकारी आइनसकेकोमा कांग्रेस नेताहरूले वाङको भ्रमणअघि नै बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) सम्झौता ऋणमा नभएर अनुदानमा मात्रै लिने बताएका थिए।

आइतबार बिहान वाङले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय सम्बन्धका विषयमा छलफल गरेका थिए।

यस्तै वाङसँगको भेटमा प्रचण्ड र ओलीले बीआरआई अन्तर्गतका परियोजना अघि बढाउन जोड दिएका छन्। वाङसँगको भेटमा प्रचण्डले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता गरेका थिए। चिनियाँ परराष्ट्रमन्त्री वाङले ‘एक चीन’ नीतिमा नेपालले देखाएको प्रतिबद्धताको प्रशंसा गरेका थिए।

चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन कोभिड-१९ का कारण पूरा हुन नसकेको अवस्थामा त्यसलाई सहजता बनाउनेलगायत विषयमा पनि दुवै पक्षबीच सौहार्द रुपमा छलफल भएको थियो।

यस्तै वाङसँगको भेटमा बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयनका लागि एमाले अध्यक्ष ओलीले जोड दिएका थिए।ओलीसँग चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पनि कार्यान्वयनकाे चरणमा लैजान आफूहरू प्रतिबद्ध रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved