सीमा समस्या हल गर्न चीन सकारात्मक

चीनले नेपालको हुम्ला लगायतका स्थानमा सीमा मिचेको भन्दै नेपालमा त्यसको विरोध हुँदै आएको थियो। असार अन्तिममा शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भए लगत्तै नेपाल सरकारले हम्लामा रहेको नेपाल चीन सीमा अध्ययन गर्न एक अध्ययन टोली गठन गरेको थियो।

नेपालभ्युज

सीमा समस्या हल गर्न चीन सकारात्मक

काठमाडौं । नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच नेपाल चीन सीमा अनुगमन गर्ने विषयमा सहमति भएको छ।

आज प्रधानमन्त्री कार्यालयमा दुई देशका परराष्ट्रमन्त्रीबीच भएको छलफलका क्रममा सीमा अनुगमन गर्ने विषयमा दुवै देशका परराष्ट्रमन्त्रीले सहमति जनाएको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको प्रेस वक्तव्यमा जनाइएको छ।

चीनले नेपालको हुम्ला लगायतका स्थानमा सीमा मिचेको भन्दै नेपालमा त्यसको विरोध हुँदै आएको थियो। असार अन्तिममा शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भए लगत्तै नेपाल सरकारले हम्लामा रहेको नेपाल चीन सीमा अध्ययन गर्न एक अध्ययन टोली गठन गरेको थियो।

अध्ययन टोलीले सीमा अध्ययन गरी नेपालको गृह मन्त्रालयलाई केही महीनाअघि नै आफ्नो प्रतिवेदन बुझाएको थियो। अध्ययन प्रतिवेदनमा पनि सीमा केही समस्या रहेको जनाइएको थियो यद्यपि, उक्त प्रतिवेदन भने सार्वजनिक गरिएको छैन।

नेपालमा सार्वजनिक नभएको उक्त सीमा समस्या अध्ययन प्रतिवेदन केही समयअघि बीबीसी विश्व सेवाले भने आफूले प्राप्त गरेको बताउँदै समाचार प्रकाशित गरेको थियो। उक्त समाचारमा नेपाल चीन सीमामा समस्या रहेको बताएको थियो।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पनि चीनसँग सीमा विवाद रहेको आवाज उठेसँगै सीमा समस्या अध्ययनका लागि एक अध्ययन टोली गठन गरेको थियो।

उक्त अध्ययन टोलीले भने दुवै देशबीच सीमामा कुनै प्रकारको समस्या नरहेको निष्कर्ष निकालेको थियो। नेपालमा चीनसँग सीमा समस्या रहेको आवाज उठ्दै गर्दा नेपालस्थित चिनियाँ दूतावासले भने दुई देशबीच सीमामा कुनै प्रकारको समस्या नरहेको दाबी गर्दै आएको थियो।

यद्यपि, आज दुई देशका परराष्ट्रमन्त्रीबीच भएको भेटवार्तामा भने सीमा समस्या अध्ययनका विषयमा समझदारी बनेको हो।

साथै नेपाल चीनबीच विभिन्न ९ विषयमा थप सहमति भएका छन्। सहमति भएका बुँदामा आर्थिक र प्राविधिक सहकार्य बढाउने, चीनको आर्थिक तथा प्राविधिक सहयोगमा हुने रेलसेवा सम्भाव्यता अध्ययनका विषयमा पनि सहमति भएको छ।

यस्तै दुई देशबीच प्रशारण लाइन विस्तारका सन्दर्भमा सम्भाव्यता अध्ययन गर्ने विषयमा पनि सहमति भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै चितवनमा चिनियाँ लगानीमा उत्पादित घाँस चीन निर्यात गर्ने विषयमा र उत्पादित घाँसको सुरक्षीत चीन निर्यात गर्ने विषयमा पनि सहमति जुटेको छ।

यस्तै नेपालमा नै उत्पादित उत्पादनलाई चीन निर्यात गर्न ९८ प्रतिशत भन्सार छुट दिने विषयमा पनि सम्झौता भएको छ। यस्तै अरनिको मर्मत सम्भार गर्ने विषयमा पनि दुई देशको परराष्ट्रमन्त्रीबीच सम्झौता भएको छ।

चितवनको बीपी कोइराला क्यान्सर अस्पतालमा चिनियाँ स्वास्थ्यकर्मीलाई पठाउने विषयमा पनि सम्झौता भएको छ। भने, कोभिड १९ रोकथामका लागि चीनले नेपाललाई भेरोसेल भ्याक्सिन प्रदान गर्ने विषयमा पनि दुई देशका परराष्ट्रमन्त्रीले सम्झौता गरेका छन्।

सन् २०२० मा नै चीन सरकारले नेपाललाई प्रदान गर्ने बताएको ६०० मिलियन युआन दुई देशको सरकारले तोकेको क्षेत्रमा खर्च गर्ने गरी चीनले नेपाललाई प्रदान गर्नेमा सम्झौता भएको छ। लामो समयदेखि रोकिएको दुई देशबीचको हवाई सेवा सुचारु गर्न आवश्यक प्रक्रिया थाल्ने पनि दुई देशका परराष्ट्रमन्त्रीले सहमति गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved