मकवानपुरका १९ मतदानस्थल अतिसंवेदनशील

नेपालभ्युज

मकवानपुरका १९ मतदानस्थल अतिसंवेदनशील

हेटौंडा। मकवानपुरमा १९ मतदान स्थल अतिसंवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अनुसार जिल्लामा रहेका १६५ वटा निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षाको व्यवस्था मिलाइने भएको छ।

जसमा १९ वटा मतदानस्थललाई अतिसंवेदनशील मानिएको छ। त्यसैगरी ६० वटा मतदानस्थललाई संवेदनशील र ८६ वटा मतदानस्थललाई सामान्य गरी तीन भागमा मतदान स्थललाई विभाजन गरिएको पाण्डेले जानकारी दिए।

राक्सिराङ, कैलाश, बागमती र बकैया गाउँ पालिकाको केही मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको छ।

विकट ठाउँहरुलाई अति संवेदनशील स्थलका रुपमा लिइएको पाण्डेको भनाइ छ।

मकवानपुरमा ३ सय ५९ वटा निर्वाचन केन्द्र तोकिएको छ। विगतको निर्वाचनको समिक्षासहित सञ्चार र यातायातको पहुँचका आधारमा मतदान स्थल विभाजन गरिएको उनले बताए।

यसै हप्ताभित्र निर्वाचनस्थल र केन्द्रका लागि आवश्यक पर्ने सुरक्षा रणनीति तय गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

“संघीय सरकारले स्थानीय तहको निर्वाचनको एकीकृत सुरक्षा नीति पास गरिसकेकोले पनि काम गर्न थप सहज हुनेछ”, उनले भने, “मतदान स्थलको संवेदनशीलताका आधारमा सुरुक्षा योजना बनाएर अघि बढ्नेछौं।”

नागरिकले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा रणनीति तय गरिने जानकारी दिए। निर्वाचनलाई मध्यनजर गरी राजनीतिक दलसँग पनि निरन्तर संवाद र छलफल भइरहेको उनको भनाइ थियो।

निर्वाचन कार्यालयले पनि आवश्यक प्राविधिक तयारी गरिरहेको छ।

प्रशासनले राजीतिक दललाई पनि संवेदनशील भएर कार्यक्रम आयोजना गर्न अनुरोध गरेको छ। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन समेत प्रशासनले सूचना जारी गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved