उच्च शिक्षा सञ्चालन ऐन तत्काल बनाउनुपर्छ : गगन थापा

महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएका समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए। विश्वविद्यालयमा जिम्मेवारीमा रहने कसैले पनि राजनीतिक पूर्वाग्रह राखेका काम गर्न नहुने उनको भनाइ छ।

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन्।

बुधबार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालको उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताए।

नेपालमा नयाँ संविधान बनेर संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको भन्दै थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको बताए।

महामन्त्री थापाले ऐन बनाएर उच्च शिक्षामा कसले कति लगानी गर्ने, विश्वविद्यालय कसरी चलाउने, नयाँ विश्वविद्यालय खोल्ने, नखोल्ने र शिक्षाको सम्बन्धमा संघ र प्रदेशको जिम्मेवारी के–के हुने भन्ने विषयमा छलफल हुनुपर्ने धारणा राखे।

विगतमा आफ्नो पार्टी प्रतिपक्षमा हुँदा पनि आफूले शिक्षा तथा स्वास्थ्य समितिमा र प्रधानमन्त्री तथा मन्त्रीहरुलाई पटक–पटक यस विषयमा कुरा राखेको भए पनि सुनुवाइ नभएको भन्दै थापाले वर्तमान सरकार बनिसकेपछि पनि निरन्तरको संसद् अवरोधका कारण यस विषय प्राथमिकतामा पर्न नसकेको उल्लेख गरे।

थापाले नेपालको उच्च शिक्षालाई कुन दिशातर्फ लैजाने भन्ने विषयमा मुलुकको जेठो विश्वविद्यालय हुनुका नाताले त्रिभुवन विश्वविद्यालयले नै नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए।

“पहिले हाम्रो उच्च शिक्षाको मुल ऐन बनाउँ भन्ने धेरै पटक मैले राखेको सम्झन्छु। त्यसमा ध्यान पुर्‍याउनुभएन। म अपिल गर्न चाहन्छु, यसमा लिड गर्ने त्रिभुवन विश्वविद्यालयले नै हो,” थापाले भने, “जति विश्वविद्यालय बने पनि यो माउ हो। त्यसैले नेपालको विश्वविद्यालय शिक्षा कतातिर लिएर जाने ? विश्वविद्यालय प्रशासन कसरी सञ्चालन गर्ने ? यस्ता विषयहरुलाई अब नपन्छाएर हामी यसमा काम गर्न तयार छौँ।”

सबै राजनीतिक दललाई एक ठाउँमा ल्याएर काम गर्न आफूहरु तयार रहेको थापाले बताए। भने, “गर्नु पनि पर्ने छ। किनकि कुनै एउटा दलको कुरा मात्र होइन यो। सबै एकै ठाउँमा आएर कुराकानी गर्ने हो। तर यसको लिडरसिपमा धेरै हदसम्म त्रिभुवन विश्वविद्यालयकै टिमले लिनुपर्ने हुन्छ।”

महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएका समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए। विश्वविद्यालयमा जिम्मेवारीमा रहने कसैले पनि राजनीतिक पूर्वाग्रह राखेका काम गर्न नहुने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved