होरीमा झुम्यो मिथिला, भोलि महामूर्ख सम्मेलन

जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा मिनापले आज ३ चैतमा होरी महोत्सव र भोलि ४ गते महामूर्ख सम्मेलन हुँदैछ।

होरीमा झुम्यो मिथिला, भोलि महामूर्ख सम्मेलन

जनकपुरधाम। मिथिला नाटयकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धूमधामसंग मनाउँदै आएको होरी(होली) महोत्सव आज बिहीबार जनकपुरधाममा मनाइने भएको छ।

होलीको जोगिरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिन सम्म मनाइने होरी महोत्सव भव्य रूप मनाइने जानकारी मिथिला नाटय कला परिषद(मिनाप)ले गराएको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले आज ३ चैतमा होरी महोत्सव र भोलि ४ गते महामूर्ख सम्मेलनको आयोजना गरी होली महोत्सवको आयोजना गर्दैछ ।

होलीको अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरी प्रसिद्ध छन्। मिथिला क्षेत्रको सांस्कृति अभियानमा अग्रणी भुमिका खेलेको दावी गर्ने मिथिला नाटय कला परिषद, मिनाप यसका आयोजक हुन्।

मिनापले मिथिला क्षेत्रवाट उच्च तहको बौद्धिक काम गर्ने जनालाई हरेक बर्ष छनोट गरेर महामूर्खसहित विभिन्न व्यङ्गाग्यात्मक पदवीबाट समाजिक सम्मान गर्ने चलन छ। जुन मिथिला क्षेत्रमा चर्चित पनि छन्। मिथिला नाट्य कला परिषदकै भनाइलाई यदि सत्य मान्ने हो भन्ने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई वर्षैपिच्छे छनोट गरेर यो पदवीवाट समाजिक सम्मान दिने चलन छ।

आपसी भाइचाराको रूपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दुसँगै मुस्लिम युवाहरूले पनि सँगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन्।

मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन शुरु गरिन्छ। तर अहिले आएर ग्रामिण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २६–२७ वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।

फागु पूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ ।

मिनापका महासचिव शैलेन्द्र मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताए।

फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामिण समूह सहभागी हुनेछन् । मिनापका महासचिव मल्लिकले पारम्परिक फागु गीत तथा डम्फालाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन गर्न लागिएको बताए।

महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । जसअन्तर्गत महत्वपुर्ण व्यक्तिलाई महामूर्खको उपाधी प्रदान गरिन्छ। जस अन्तर्गत महामूर्ख तथा अन्य उपाधीकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला वनाएर लगाउने प्रचलन रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved