मध्यमा मिथिला यात्राका सहभागीहरू आज जनकपुरधाम आइपुग्दै

नेपालभ्युज

मध्यमा मिथिला यात्राका सहभागीहरू आज जनकपुरधाम आइपुग्दै

जनकपुरधाम। मिथिलाञ्चल क्षेत्रको गरिने सबैभन्दा लामो धार्मिक पद यात्राको रूपमा रहेको १५ दिने मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू आज शुक्रवार जनकपुरधाम आइपुग्ने भएका छन्।

तीर्थयात्रीहरूको टोली भारतको विहार राज्यको करुणाबाट भगवान् श्री राम तथा सीताजीको डोला बाजागाजा तथा झाँकीसहित बुधबार बिशौल आइपुगेर विश्राम गरेका छन्। १४औँ विश्राम स्थल बिशौलमा रात्रि विश्राम गरेपछि १५औँ विश्राम स्थलको रूपमा रहेको जनकपुरधाम आइपुग्ने गर्छन्।

भारतको बिशौलबाट बिहान कल्याणेश्वर स्थान, गिरिजा स्थान हुँदै जनकपुरधाम आउने र ४ गते शुक्रबार बिहान जनकपुरधामको वरिपरि क्षेत्रको पञ्चकोशी अन्तरगृह परिक्रमा सकेर परिक्रमाका तीर्थयात्रीहरू आ-आफ्नो घर फर्केपछि जनकपुर क्षेत्रमा चैत्र ५ गते शनिवार होली खेल्ने कार्यक्रम रहेको छ।

त्रेता युगमा मिथिलाका राजा जनककी पुत्री माता सीतासँग अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र रामसँग शुभ विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा मध्यमा मिथिला परिक्रमा लाखौँ तीर्थयात्रीहरू सहभागी भएर खाली खुट्टा श्रद्धासहित भ्रमण गर्ने गर्दछन्।

नेपाल तथा भारतको साझा सांस्कृतिक महत्वको मध्यमा मिथिला परिक्रमा दुवै देशका १५ पडाव स्थलमा विश्राम गर्दै १५ दिन लगाएर नेपाल भारतको १ सय ३३ किलोमिटरको दूरी भजन कीर्तन सहित तय गर्ने गर्दछन्।

घरपरिवारको शान्ति, समृद्धि, सुख, ऐश्वर्य प्राप्ति सहित अन्त्यमा मोक्ष प्राप्ति हुने जनविश्वासका साथ कतिपयले पटक पटक तथा केहीले एक पटक भए पनि मध्यमा मिथिला परिक्रममा सहभागी हुनुपर्ने धार्मिक मान्यताका साथ सहभागी हुने गरेको पण्डित लालबाबु झाले बताए।

परिक्रममा सहभागीहरूलाई परिक्रमा मार्ग तथा हरेक पडाव स्थलमा धार्मिक मेला, कथा प्रवचनका साथै भक्तजनहरूले निस्वार्थ रूपमा विभिन्न प्रकारका सेवा तथा सुविधाहरू तीर्थयात्रीहरूलाई प्रदान गर्ने चलन छ।

फागुन शुक्ल पक्ष प्रतिपदाबाट सुरु भएको मध्यमा परिक्रमा पूर्णिमाका दिन अन्तर गृह परिक्रमा सकेपछि सम्पन्न हुने परम्परा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved