एमालेप्रति माधव नेपालको कटाक्षः जसले एमसीसी ल्यायो ऊ नै मूकदर्शक भएर बस्यो

नेपालभ्युज

एमालेप्रति माधव नेपालको कटाक्षः जसले एमसीसी ल्यायो ऊ नै मूकदर्शक भएर बस्यो
फाइल तस्वीर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमसीसी जसले संसदमा ल्याएको ऊ अहिले मूकदर्शक भएर बसेको आरोप लगाएका छन्।

उनले आफ्नो पार्टी बनेको प्रति एमाले अध्यक्ष केपी ओली आतंकित भएका बताएका छन्। “तपाईंहरूलाई सबैलाई थाहा छ। हामी सर्वोच्चको फैसलाबाट बनको वैधानिक पार्टी हौं। सर्वोच्च अदालतबाट कुनै पनि ह्विप लाग्दैन भन्ने प्रावधानबाट हामीले स्वतन्त्र अभिमत व्यक्त गरेका हौं,” उनले भने,” कसैलाई केही लाग्छ भने अदालत गए भो। अदालतमा गए पनि अदालतमा विधाराधान विषय संसदमा उठाउन पाइँदैन।”

व्याख्यात्मक घोषणासहित पारित भएको एमसीसीबारे पार्टीले गरेको पत्रकार सम्मेलनमा नेपालले केपी ओलीमा दम्भ पलाएको आरोप लगाए।

ओलीमा संविधान र पार्टीभन्दा माथि छु, मलाई कसैले छुन पाउँदैन भन्ने अहं पैदा भएको उनले बताए। अधिकांश समय केपी ओलीप्रति खनिएका नेपालले ओलीले व्यक्तिवाद अहंकारवादको चिन्तनले लोकतन्त्र समाप्त पार्न खोजेको आरोप लगाए।

नेकपा एमाले एमसीसीसम्बन्धी आज जारी गरेको प्रेस वक्तव्यलाई नेपालले दिमागी सन्तुलन बिग्रिएपछि आएको उपज भने। “यसलाई म भर्त्सना गर्न चाहन्छु, उनीहरूको कुनै भ्रममा नपर्न म आग्रह गर्छु,” नेपालले भने, “केपी ओलीमा देशभक्तिको भावना छँदै छैन।”

आत्मसपर्णवादी नीति केपी ओलीले अवलम्बन गरेर दक्षिणपन्थी बाटो अँगालेको आरोप लगाए। नेपालले विकास सहायता परियोजना एमसीसी संसदबाट पास गर्दैमा अमेरिकी सेना नआउने जिकिर पनि गरे। भने, ” संसदले अनुमोदन गरिसकेपछि अमेरिका र चीनले पनि सकारात्मक भनिसकेका छन्, हामीले १२ बुँदे व्याख्या गरिसकेका छौँ। यसलाई अमेरिकाले मानिसकेको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved