यसरी बढ्दो छ नेपालमा चिनियाँ प्रभाव

सन् १९६० भएको नेपाल–चीन शान्ति तथा मैत्री सन्धिलाई नेपाल–चीन सम्बन्धको एक कोशोढुंगा नै मानिन्छ। तर त्यही सम्झौताका कारण भारतसँगभन्दा बढी भूमी हामीले गुमाएका छौं।

यसरी बढ्दो छ नेपालमा चिनियाँ प्रभाव

चीनले संसारभर आफ्नो प्रभाव बढाइरहेको छ। त्यस क्रममा विभिन्न देशसँग उसको संलग्नता अनेकौं तरिकाले बढिरहेको छ। विकासोन्मुख देशहरूमा विभिन्न तरिकाले चीन प्रवेश गरिरहेको पाइन्छ। विश्वशक्ति राष्ट्रको दौडमा अग्रस्थानमा आइपुगेको चीनलाई संसारमा आफू स्थापित हुन खोज्ने होड चल्नु स्वाभाविक हो। सोही क्रममा नै उसले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई)को धारणा अघि सारेको हो।

उसले यही क्रममा नेपालमा आफ्नो भूमिका बढाइरहेको छ। खासगरी उसको प्रतिस्पर्धी रहेको देश भारतको नेपालमा रहेको प्रभाव घटाउँदै आफ्नो उपस्थिति बढाउने ध्येय उसको देखिन्छ। अन्य छिमेकी देशसँग पनि उसले यसैगरी व्यवहार गरिरहेको छ। त्यसको उदाहरण गत वर्ष चीनमा आयोजित एक सम्मेलन हो।

गत वर्ष चीनमा भएको एक सांस्कृतिक सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट गंगाप्रसाद उप्रेतीलाई बोलाइएको थियो। त्यसबाहेक चीन नेपालबारे जानकारी राख्ने केही अन्य नेपाली व्यक्तिलाई पनि बोलाइएको थियो। श्रीलंकाबाट त राष्ट्रपति नै सहभागी थिए। तर त्यति ठूलो सम्मेलनमा भारतबाट आधिकारिक सरकारी प्रतिनिधि भने थिएनन्। यसको अर्थ हो, मध्य एशियाका अल्पविकसित देशमा चीन आफ्नो उपस्थिति बढाउन चाहन्छ।

कोभिड महामारीको समयमा पनि चीनले आफूले उत्पादन गरेको भ्याक्सिन नेपालमा पठाएको थियो।

विकासमा बढ्दो उपस्थिति

चीनले स्वाभाविक रूपमा नेपालमा पनि लगानी बढाइरहेको छ। बीआरआईमा नेपालले पनि हस्ताक्षर गरेको छ। त्यसै अन्तर्गत नेपालमा केही परियोजना सञ्चालित भएका छन् भने केही हुने क्रममा छन्। यसमार्फत पनि चीनले नेपालमा आफ्नो हस्तक्षेप बढाउँदै जाने प्रष्ट देखिन्छ। कैयौं अल्पविकसित देशहरूलाई हस्ताक्षर नै गराइसकिएको उक्त प्रोजेक्टबारे नेपालमा विभिन्न तरिकाका टिकाटिप्पणी जारी नै छन्।

केही विश्लेषकका अनुसार चीनले आर्थिक विकासका ठूला सपना देखाएर अविकसित वा अति कम विकसित मुलुकलाई सुरुमा ऋण लिन लगाउने, ऋण तिर्न नसकेपछि सम्पत्ति कब्जा गर्दै र क्रमशः सार्वभौमसत्तामै दखल दिन सक्ने शंका पनि व्यक्त गरेका छन्।

यसबाहेक पछिल्लो समय अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेञ्ज कर्पोरेसन’ सम्झौता (एमसीसी)लाई संसद्बाट अनुमोदन गर्ने विषयमा जुन तहको विवाद भयो त्यसमा चिनियाँहरूको भूमिका रहेको स्पष्ट भयो। अमेरिकी लगानी नेपालमा आएको चीनले राम्रो मान्दैन भन्ने देखियो।

राजनीतिमा उपस्थिति

त्यस्तै पछिल्ला वर्षहरूमा चीनले नेपाली राजनीतिमा पनि निकै चासो दिन थालेको देखिएको छ। नेपालका लागि चिनियाँ राजदुतले नेपाली राजनीतिक दलका शीर्ष नेताहरूले भेट्दै विभिन्न खाले सुझाव दिन थालेका छन्। यो चीनको रणनीतिभित्रै पर्छ। कुनै राजदुतको व्यक्तिगत वा राजदुतावासको चासो मात्रै होइन।

अर्थतन्त्रमा उपस्थिति

पछिल्लो समय नेपाली अर्थतन्त्रमा चीनले ठूलो भूमिका खेलिरहेको छ।  यसको सामान्य उदाहरण नेपाली बजारमा चिनियाँ सामानको प्रवाह हो।

नेपाली बजारलाई यहाँको आम्दानीसँग मिल्नेगरी सस्तो र सुलभ सामग्री पठाइरहेको छ। केही दशकअघिसम्म पनि नेपालमा लुगाहरू अत्यन्तै महंगो हुन्थे। जसका कारण अधिकांश ग्रामीण भेगमा मानिसले च्यात्तिएका लुगा टालेर लाउनपर्ने स्थिति थियो। तर अहिले न्यून आय हुनेहरूले पनि राम्रै लुगा लगाउने गरेका छन्। यो नेपालीहरू धनी भएर होइन। चिनियाँ उत्पादनले नेपाली बजार सस्तिएको छ। यो अवस्थाले यहाँको अन्य देशको उत्पादनलाई लगभग विस्थापित नै गरिदिएको पाइन्छ।

यसबाहेक अहिले सबैजसो शहरहरूमा चिनियाँ लगानी वा व्यापारहरू पनि बढिरहेको पाइन्छ।  चिनियाँ व्यापारीहरू नै यहाँ आएर विभिन्न स्थानमा सपिङ मलहरू खोलिरहेका छन्।

कन्फ्युसियस सेन्टर

पछिल्ला वर्षहरूमा चीनले आफ्नो भाषा संस्कृतिको प्रभाव पनि बढाइरहेको पाइन्छ। आफ्नो प्रभाव बढाउने रणनीतिभित्रै राखेर नेपालका विभिन्न कलेजहरूमा ‘कन्फ्युसियस सेन्टर’हरू स्थापना गरिरहेका छन्।

यसरी चिनियाँ भाषा पढाउने क्याम्पस र विद्यालयहरूलाई त चीनले सहयोग नै गरिरहेको छ।  यसमार्फत सयौँ विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई चिनियाँ भाषा पढाइरहेका छन्।

गुम्बा उपहार

चिनियाँहरूले अहिले कैयौं हिमाली क्षेत्रमा गुम्बा बनाएर त्यहाँका मानिसलाई खुशी पार्ने  गरेको पनि भेटिएको छ। हुन त्यस्ता ठाउँमा भारतले पनि गुम्बा बनाइदिने गरेको पाइन्छ। तर चिनियाँहरूले तिब्बतीयन मूलका मानिसहरूका लागि आफै लगानी लगाएर गुम्बाहरू धेरै स्थानमा बनाइरहेको छ। मुस्ताङ, गोरखा, रसुवा लगायतका स्थानमा त्यस्तो भएको छ।

नेपाली भ्रम

पछिल्लो समय विविध चिनियाँ गतिविधिहरूलाई ‘नेपाललाई चीनले बालखजस्तै माया गर्छ’ भन्ने पनि सुनिन्छ। त्यो भ्रम मात्रै हो।

चीन बेग्लै देश हो। उसका आफ्नै आकांक्षा, स्वार्थ र रुचीहरू छन्। त्यसैले उसले नेपाललाई हानी हुने काम नगरे पनि आफूलाई फाइदा हुने काम मात्रै गर्छ। यसको एउटा उदाहरण सन् २०१५ मा भारत र चीनले लिपु लेक भञ्ज्याङ हुँदै व्यापार बढाउने सहमति हो। त्यतिबेला चीनले नेपालाई पनि एकपटक सोध्नुपर्छ पनि नभनी सिधै भारतसँग लिपुलेकस्थििति नेपाली त्रिदेशीय नेपाली भूमी मार्फत व्यापार गर्ने गरी भारतसँग सम्झौता नै गरिदियो।

हुन त चीनले नेपाललाई कहिल्यै कुनै पनि विषयमा हस्तक्षेप गरेको पाइँदैन। तर नेपालमा रहेर आर्थिक र सामरिक लाभ लिइरहेको नै छ।

सीमामै हस्तक्षेप

नेपाल दुई विशाल देशको बीचमा बसेको विदित नै छ। यो अवस्थामा भारतसँग खुल्ला सीमा रहे पनि चीनसँगको भौगोलिक हिसाबले सीमा निकै टाढा छन्।

यही अवस्थामा भारतले सीमा मिच्यो सीमाका पिल्लरहरू सार्यो भन्ने कुरा आइरहे पनि चिनियाँहरूले त्यसो गरेको कुरा बाहिरिँदैन। तर चिनियाँहरूले पनि नेपालीसँगको सीमाका पिल्लरहरू कैयौं स्थानमा सारेको स्थानीयहरूले बताउने गर्छन्।

हुम्लाको सीमामा चिनियाँले पिल्लर सारेको विषय विवादमै आएको हो। त्यो विषयमा कर्णालीका मुख्यमन्त्री खल्लमखुल्ला नै बोलेका हुन्। तर परराष्ट्रमन्त्री गएर केही पनि भएको छैन भन्ने कुरा गरेका छन्। तर उनी त्यहाँ पुगेका छैनन्। यसबाहेक किमाथांकामा तीन सय ८० घरको गाउँ नै चीनतर्फ गएको छ। गोर्खासँग जोडिएको चिनियाँ सीमामा पनि हामी धेरै भुमी गुमाएका छौं। त्यतिबेलाको नेपाली टोलीले प्रमाण बोकेर गएनन्। नेपालीहरूलाई हस्ताक्षर गराएर चिनियाँले कैयौं गाउँ उतै पारिदिए। गोर्खाको रुइभोटतिर २०१८ सालसम्म नेपालमा बुझाइरहेको मालपोत अहिले चीनमा परिरहेको छ। त्यहाँका कतिपय परिवारमा एक भाइ चिनियाँ र एक भाइ नेपाली भएको पनि छ।  त्यतिबेला पनि नेपाली सञ्चारमाध्यममा चीनले माया गरेर चार हजारभन्दा बढी वर्ग किलोमिटर भूमी नेपाललाई दियो भन्ने समाचार आए। तर स्थलगत अध्ययन गर्दा त्यहाँको कृषियोग्य भूमी उता पारेर नेपालतिर भीर मात्रै पारिदिएको छ। यसबाहेक पहिल्यैदेखि कैयौं सीमा क्षेत्रमा चिनियाँ हस्तक्षेप भएको देखिन्छ।

सन् १९६० भएको नेपाल-चीन शान्ति तथा मैत्री सन्धिलाई नेपाल-चीन सम्बन्धको एक कोशोढुंगा नै मानिन्छ। तर त्यही सम्झौताका कारण भारतसँगभन्दा बढी भूमी हामीले गुमाएका छौं। यसमा चीनको ठूलो गल्ती छैन। नेपालको कुटनीतिक कमजोरीका कारण सो सन्धिले नेपाललाई गम्भीर हानी पु¥याएको छ।

नेपाल-चीन शान्ति तथा मैत्री सन्धिले हरेक दश वर्षमा रिभ्यु गर्ने भनिएको पनि नेपालीहरूले त्यो आँट नै गर्दैनन्। यसमा गल्ती चीनको होइन नेपालको हो।

होइन नाकाबन्दी

कोभिड महामारीपश्चात नेपालमा चीनबाट आउने सामग्रीको आयातमा चीनले कडाइ गरेको छ। यसलाई कतिपयले चिनयाँ अघोषित नाकाबन्दी पनि भने। तर यो संयोग मात्रै हुन गएको हो।

चीनले नेपालमा नाकाबन्दी लगाउने कुनै कारण छैन। चीनले नेपालमा त बढीभन्दा बढी सामानहरू पठाएर नेपाली बजारबाट अन्य देशहरूलाई विस्थापन गर्न चाहन्छ। त्यो उसको रणनीति हो। त्यसका लागि त नेपालीहरूले माग गरे बमोजिमको सबै सामान त पठाउनुपर्छ।

यति मात्रै होइन अहिले भइरहेको आयातलाई पनि चीन बढाउन चाहन्छ। भारतबाट हुने आयात पनि घटोस् भन्ने चाहना चीनको छ। यस्तो अवस्थामा नाकाबन्दी त हुन सक्दैन। पछिल्लो समय सामान आयातमा कडाइ हुनुको कारण कोभीड महामारीसँग सचेत हुनुबाहेक केही पनि होइन। नेपालबाट हुने निर्यातको विषय पनि त्यहि हो। थोरै मात्रामा हुने निर्यात पनि रोक्न चीनले चाहदैन। यो सबै संयोग मात्रै हो।

(मनीषा अवस्थीले गरेको कुराकानीमा आधारित।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved