एमसीसी नेपाली जनतालाई उपहार हो, सार्वभौम निर्णय नेपालकै : अमेरिका

अमेरिकी राजदूतावासले अमेरिका र नेपालबीचको साझेदारीको प्रतीक एमसीसीले नेपालमा रोजगारी र विकासका पूर्वाधार निर्माण गर्ने बताएको छ।

नेपालभ्युज

एमसीसी नेपाली जनतालाई उपहार हो, सार्वभौम निर्णय नेपालकै : अमेरिका

काठमाडौं। संयुक्त राज्य अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान नेपाल र नेपालीका निम्ति अमेरिकी जनताको उपहार भएको र त्यसलाई अनुमोदन गर्ने/नगर्ने नेपालकै सार्वभौम निर्णय भएको बताएको छ।

यहाँस्थित अमेरिकी राजदूतावासले शनिबार राति एक विज्ञप्ति जारी गर्दै अमेरिका र नेपालबीचको साझेदारीको प्रतीक एमसीसीले नेपालमा रोजगारी र विकासका पूर्वाधार निर्माण गर्ने बताएको छ। नेपालको अर्थतन्त्रको विकास गर्दै गरिबी घटाउन परियोजना नेपाल सरकारकै अनुरोधमा तयार गरिएको पनि अमेरिकाले स्पष्ट गरेको छ।

“यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औँ वर्ष हो। यी ७५ वर्षमा नेपालले ठूलो परिवर्तन देखेको छ। यी परिवर्तनहरूमा हामी नेपालको साथमा उभिएका छौँ। यो देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरूसहित अझ धेरै सहयोग गरेका छौँ। नेपाली नेताहरूले एमसीसीलाई अनुमोदन गर्ने वा नगर्ने सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका रूपमा नेपालले गर्ने निर्णय हो र नेपालको मात्र निर्णय हो,” विज्ञप्तिमा भनिएको छ।

“यो ५० करोड डलर एमसीसी अनुदान अमेरिकी जनताको उपहार हो। हाम्रा राष्ट्रहरूबीचको साझेदारीले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउनेछ। यो परियोजना नेपाल सरकार र नेपाली जनताद्वारा अनुरोध गरिएको थियो र पारदर्शी रूपमा गरिबी घटाउन र नेपालको अर्थतन्त्रको विकास गर्न ‘डिजाइन’ गरिएको थियो,” विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved