नेकपा एसको निर्णय : यथास्थितिमा एमसीसी टेबल गर्न समस्या छैन

नेपालभ्युज

नेकपा एसको निर्णय : यथास्थितिमा एमसीसी टेबल गर्न समस्या छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले संसदमा एमसीसी टेबल गर्नबाट नरोक्ने निर्णय गरेको छ। तर जबर्जस्ती नभएर सहमतिका आधारमा यसलाई अघि बढाउनुपर्ने पनि जनाएको छ।
‘‘टेबल गर्ने कुरा आपत्तिजनक होइन, अफ्टेरो मानेका छैनौं। आम जनताले, संसदले प्रत्येकले बहस गर्न पाउने विषय छ। संसदमा यदी छलफल गर्नुपर्ने हो, संसदले पारित गर्नुपर्ने हो भने छलफल नगरी पारित हुँदैन,’’ पार्टीको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिदैं नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने,‘‘यसपूर्व केहि विषयहरु प्रस्ट हुनुपर्छ, जबर्जस्त टेबुल गरिनेछैन। एउटा सहमति बन्नुपर्नेछ, संसदको अवरोध हट्नुपर्नेछ, अनिमात्रै टेबुल गर्ने वातावरण बन्छ।’’

जर्बजस्ती टेबल गर्न खोजिएको अवस्थामा निर्णय गर्ने अधिकार पार्टीको सचिवालयलाई दिइएको उनले बताए। ‘‘संसदको अवरोध खुलाउन र सहमति जुटाउनका लागि पार्टीले कोसिस गर्नेछ। त्यसका लागि सबै राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय भएको छ। यदी, जर्बजस्ती कसैले टेबल गर्न खोज्यो भने के गर्ने भन्ने निर्णय त्यही बेलामा सचिवालयले गर्नेछ,’’ उनले भने।

पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले भने एमसीसी टेबल गर्ने विषयमा औपचारिक निर्णय नभएको बताए। ”छलफल अगाडि बढाउने भनेपछि अब छलफलमा सहभागी हुने भन्दै जाने कुरा हो । टेबल गर्ने\नगर्ने भनेर निर्णय गरेका छैनाैं, यथास्थितिमा पारित नगर्ने, छलफल अगाडि बढाउने भनेर निर्णय गरेका छौं,” उनले भने।

प्रधानमन्त्री एवंम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीलाई तत्काल संसदमा टेबल गर्नुपर्ने अडान राख्दै आएका छन्। उनले सत्ताघटक अन्य दल एमसीसी टेबल गर्ने पक्षमा नभए कांग्रेस एक्लैले यसलाई अघि बढाउने स्पष्ट बताइसकेका छन्। अर्को सत्ताघटक नेकपा माओवादी केन्द्रले कुनै हातलमा संसदमा टेबल गर्न नहुने अडान राखिरहेको छ। यसअघि प्रधानमन्त्री देउवाले शुक्रबारै संसद् बैठकमा एमसीसी टेबल गर्नुपर्ने बताएका थिए। नेकपा एसले आजको आफ्नो स्थायी कमिटी बैठकको निर्णय कुर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved