सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य छ : योगेश भट्टराई

नेपालभ्युज

सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य छ : योगेश भट्टराई
फाइल तस्वीर

काठमाडौं । नेकपा (एमाले) का सचिव तथा सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गठबन्धन अप्राकृतिक रूपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको उनले बताए। गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धारा अनुसार एमालेको भूमिका कहाँ हुन्छ सोहीअनुसार भूमिका निर्वाह गरिने उनले उल्लेख गरे।

भट्टराईले भने, “अहिले सरकार एमालेको प्राथमिकता होइन। एमालेको प्राथमिकता चुनाव हो। वैशाख ३० गतेको चुनाव र आउने संघ र प्रदेशको चुनाव एमालेको प्राथमिकता हो। एमालेको प्राथमिकता सत्ता गठबन्धन होइन, प्रधानमन्त्री, मन्त्री होइन। यो गठबन्धन जे उद्देश्यले बनेको थियो, यसको जग बलियो थिएन। यसमा पर्याप्त मात्रामा क्रंक्रिटहरू थिएनन्। सिमेन्टहरू थिएन। छडहरू मिलाएको थिएन। रसायन मिलेको थिएन। त्यसकारण यो टुट्नु त अनिवार्य छ। यो त एकदमै अप्राकृतिक ढंगले मात्रै जोडिएको हो यो टुट्नु अनिवार्य छ। टुटेपछि संविधानले जे व्याख्या गरेको छ, सर्वोच्च अदालतका न्यायाधीशहरूले जे व्याख्या गर्नुभएको छ, त्यो व्याख्यामा जान्छ। त्यसको मतलव संसदमा अर्को सरकार बन्ने सम्भावना हुँदासम्म त संसद विघटन हुन्न भन्या छ। जब यो गठबन्धन टुट्छ भने संविधानको धारा ७६ प्रभावित हुन्छ। धारा ७६ ले जे–जे भनेको छ त्यो–त्यो हुन्छ। धारा ७६ भित्र एमालेको भुमिका जहाँ–जहाँ हुनुपर्ने त्यही–त्यही हुन्छ। तर अहिले हामी त्यसमा लालायित छैनौँ।”

उनले एमसीसीको सम्बन्धमा एमालेले धारणा बनाउनुअघि एमालेले उठाइरहेको मागको सम्बोधन हुनुपर्ने पनि बताए। एमालेको मागअनुसार १४ जना सांसदहरूलाई कारबाही गरिनुपर्ने उनले बताए। सचिव भट्टराईले एमालेको प्राथमिकता सत्ता गठबन्धन नभई आगामी तीनै तहको निर्वाचन भएको उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved