कर्णालीका हिमाली जिल्लामा दुई महीना पनि पढाइ भएन, खस्कियो विद्यार्थीको शैक्षिकस्तर

कर्णालीका हिमाली जिल्लामा दुई महीना पनि पढाइ भएन, खस्कियो विद्यार्थीको शैक्षिकस्तर
फाइल तस्वीर

सुर्खेत। कर्णालीका हिमाली जिल्ला डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र हुम्लामा फागुन महीनाबाट नयाँ शैक्षिक सत्र शुरु हुन्छ। तर जाडो, हिमपात र महामारीका कारण यी जिल्लाहरूमा यो शैक्षिक वर्षमा दुई महीनामा मात्र विद्यार्थीहरू विद्यालयमा जान पाएका छन्।

उच्च हिमपात हुने ठाउँमा पर्ने विद्यालयहरूमा कार्तिकमा वार्षिक परीक्षा लिई त्यसको दुई महीना बिदा हुन्छ। फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुँदा कोरोना महामारी तथा हिमपातका कारण करिब दुई महीना मात्र विद्यार्थीहरू विद्यालय जान पाए।

तिलागुफा नगरपालिका-३ महादेव माध्यमिक विद्यालय फोइकोट कालिकोटका प्रधानाध्यापक नरदीप शाहीले भने, “कोरोना महामारी, जाडो बिदालगायत कारण विद्यार्थीहरूले दुई महीना पनि अध्ययन गर्न पाएनन्, अघिल्लो वर्ष महामारीका कारण विद्यालय सञ्चालनमा समस्या आएको थियो।”

हुम्लाको नाम्खा गाउँपालिका, मुगुको मुगमकार्मारोङ, डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकाका अधिकांश विद्यालय विद्यार्थीहरूले दुई महीना पनि पढ्न पाएका छैनन्।
कोरोना महामारी र चिसोका कारणले नयाँ शैक्षिक सत्रका लागि हुने परीक्षा पनि हालसम्म हुन सकेको छैन।

विद्यालय सञ्चालनमा नहुँदा यी जिल्लाका अधिकांश विद्यालयले ४० प्रतिशत पनि कोर्स पूरा नगरेका मुगु मुगुमकार्मारोङ गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले जानकारी दिए। “विद्यालयमा कार्तिकमा नै परीक्षा हुनुपर्ने हो। हालसम्म पनि परीक्षा भएको छैन।”

वैकल्पिक माध्यम नहुँदा समस्या

कोरोना महामारी बेला दूर शिक्षा, भर्चुअल माध्यमबाट शहरी क्षेत्रमा विद्यार्थीहरूले अध्ययन गर्न पाए पनि दुर्गम तथा हिमाली जिल्लाका विद्यार्थीहरूले वैकल्पिक माध्यमबाट अध्ययन गर्न पाएका छैनन्। दुर्गम तथा हिमाली जिल्लामा इन्टरनेट, विद्युत् तथा सञ्चारका अन्य साधनको सहज पहुँच नहुँदा समस्या भएको हो।

शहर तथा बजार क्षेत्रमा इन्टरनेट तथा अन्य सञ्चारमाध्यमको सहज पहुँच रहेको र हिमाली तथा दुर्गम क्षेत्रमा इन्टरनेट तथा अन्य सञ्चारमाध्यमको सहज पहुँच नहुँदा वैकल्पिक माध्यमबाट अध्ययन गराउन समस्या भएको कालिकोट खाँडाचक्र नगरपालिका–२ पंञ्चदेव माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए।

“शहरी तथा बजार क्षेत्रमा केही सामुदायिक विद्यालयले वैकल्पिक माध्यमबाट अध्ययन तथा अध्यापन गराएका छन्,” उनले भने, “तर, दुर्गम तथा हिमाली जिल्ला तथा क्षेत्रमा इन्टरनेट तथा अन्य सञ्चारमाध्यमको सहज पहुँच नहुँदा समस्या भएको छ।”

विद्यार्थीको शैक्षिकस्तर खस्कँदो

शैक्षिक सत्रको पूरा वर्ष अध्ययन नहुँदा विद्यार्थीको शैक्षिकस्तर खस्कँदै गएको छ। गत शैक्षिक सत्रमा कोरोना महामारीले भौतिक रूपमा परीक्षा नलिएर आन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिएको र चालु आर्थिक वर्षमा पनि पढाइ पूरा नभएका कारणले विद्यार्थीको शैक्षिकस्तर खस्कँदै गएको हो।

१० जिल्लाका २५ वटा नगरपालिका तथा ५४ वटा गाउँपालिका गरी ७९ वटा स्थानीय सरकार रहेको कर्णाली प्रदेशमा शिक्षाको अवस्था विश्लेषण गर्ने हो भने सन्तोषजनक नदेखिएको सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए।

“प्रदेशमा सञ्चालन भएका सबै विद्यालय तथा उच्च प्रदायक संस्थाहरूले केन्द्रबाट निर्माण भएको आपूर्तिमुखी र विषयवस्तुकेन्द्रित पाठ्यक्रम प्रयोग गरिरहेका छन्। अधिकांश विद्यालयहरूमा पर्याप्त शिक्षक दरबन्दी छैनन्। कर्णालीका बालबालिकाले सिक्नुपर्ने ज्ञानसँग हाम्रो पाठ्यक्रमले सम्बन्ध जोड्न सकेको छैन,” उनले भने, “त्यसैमा महामारीलगायत अन्य कारणले पढाइ नहुँदा समस्या आएको छ।”

स्थानीय सरकारहरू आधारभूत र माध्यमिक तहको शिक्षाको जिम्मेवारी पूरा गर्ने संस्थागत, नीतिगत, प्रक्रियागत, व्यवहारगत तथा वातावरणीय सवालमा रनभुल्ल परिहेको अवस्थामा कोरोना महामारीका कारणले झनै शिक्षाको स्तर खस्किएको सहायक प्रधानाध्यापक कोइरालाले बताए।

“मानवश्रोतको व्यवस्थापनको अवस्था दयनीय छ। एकातिर बर्सेनि शिक्षा क्षेत्रमा गरिने लगानी कम हुँदै गइरहेको छ भने अर्कोतिर लगानीको प्रतिफल सन्तोषजनक छैन,” उनले भने,”अझै स्थानीय सरकारहरूले शिक्षा क्षेत्रलाई विकासको बलियो पूर्वाधारको रूपमा ग्रहण गर्न नसकेको अवस्था छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved