पनौती मकर मेलाले दिनभर राजमार्ग जाम

नेपालभ्युज

पनौती मकर मेलाले दिनभर राजमार्ग जाम
फाइल तस्वीर ।

भक्तपुर । काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ। मेलाको आज अन्तिम दिन बिहानैदेखि मेला भर्न जानेहरूले प्रयोग गरेको सवारीसाधनको घुइँचो लागेपछि अरनिको राजमार्ग खण्डको भक्तपुरको सल्लाघारीबाट पनौतीसम्मको सार्वजनिक तथा निजी सवारी आवागमन अस्तव्यस्त बनेको हो।

महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक राम केसीले मकर मेला भर्न जाने र फर्कने रिजर्भ तथा निजी र सार्वजनिक सवारीसाधनको चाप अत्यधिक भएपछि बिहानैदेखि अरनिको राजमार्ग खण्डअन्तर्गत सल्लाघारी–साँगा सडकमा घण्टौँ सवारी जाम हुँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको जानकारी दिए।

अरनिको राजमार्गमा घण्टौँ जाम भएपछि यस राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको भक्तपुरको च्यामासिं, ताथली, नाला हुँदै बनेपा जाने सडकमा समेत सवारी चाप बढेको छ। यो मार्ग भएर आज बिहानैदेखि लामो रुटका सवारीसाधन, मेलामा जान रिजर्भ गरिएका र निजी सवारीसाधनको चाप बढेपछि यो मार्गमासमेत सवारी जाम भएको छ।

मुख्य अरनिको राजमार्गमा भएको सवारी जामले अलपत्र यात्रु गन्तव्यमा पुग्न सास्ती भएको प्रहरीको भनाइ छ। साँझसम्मै सडक जाम हुने अवस्था आएपछि सडक जाम खुलाउन प्रहरीको टोली सल्लाघारीबाट काभ्रेको सिमाना साँगासम्म प्रहरी परिचालन गरिएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved