सत्ता गठबन्धनमा एमसीसी : ‘संसदमा टेबुल गरौँ’, ‘हुन्न’

एमसीसीको विषयमा देउवाले गरेको प्रस्तावमा प्रचण्ड र नेपाल सहमत नभएसँगै शीर्ष नेताको बैठक निष्कर्षबिनै टुंगिएको छ। देउवाले एमसीसीको विषयमा सदनमै आफ्ना धारणा राख्ने र टुंग्याउनतर्फ लाग्न भनेका थिए।

नेपालभ्युज

सत्ता गठबन्धनमा एमसीसी : ‘संसदमा टेबुल गरौँ’, ‘हुन्न’
फाइल तस्वीर

काठमाडौं। सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर कित्ताकाट भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई संसदमा टेबुल गर्ने प्रस्ताव गरेपछि दुवै कित्ता प्रष्ट भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्ता गटठबन्धनको शीर्ष नेताहरुको बैठकमा कांग्रेस सभापतिसमेत रहेका देउवाले ‘अब एमसीसीलाई संसदमा टेबुल गरौँ’ भनेर प्रस्ताव गरेका थिए।

देउवाको उक्त प्रस्तावमा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले हुन्न भन्ने जवाफ दिएका छन्।

एमसीसीको विषयमा देउवाले गरेको प्रस्तावमा प्रचण्ड र नेपाल सहमत नभएसँगै शीर्ष नेताको बैठक निष्कर्षबिनै टुंगिएको छ। देउवाले एमसीसीको विषयमा सदनमै आफ्ना धारणा राख्ने र टुंग्याउनतर्फ लाग्न भनेका थिए।

तर, प्रचण्ड र नेपाल दुवै एमसीसी संसदमा टेबुल गर्न नदिने अडानमा टसमस नभएपछि बैठक बिनानिष्कर्ष सकियो। आजको बैठकमा दुवै नेताले प्रधानमन्त्री देउवाले एमसीसी टेबुल र पास गर्न जबर्जस्ती गरे गठबन्धन टुट्न सक्ने आशयमा धारणा राखेका थिए।

प्रधानमन्त्री देउवा र प्रचण्डले संयुक्त रुपमा एमसीसीलाई पत्र लेखेर पास गर्नका लागि थप समय मागेको र सोही पत्रका आधारमा अमेरिकी पक्षबाट ताकेता आएपछि देउवा दबाबमा छन्।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रचण्डसहितका शीर्ष नेतालाई फोन नै गरेर एमसीसी पास नभए अमेरिकी नीतिमा परिवर्तन हुनेसम्मको ‘चेतावनी’ दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved