दलीय भागबण्डाकै लागि मन्त्रिपरिषद् विस्तार, मन्त्री पद हेरफेर

दलीय भागबण्डाकै लागि मन्त्रिपरिषद् विस्तार, मन्त्री पद हेरफेर

विराटनगर। दलीय भागबण्डा पुर्‍याउन मन्त्रालय विभाजन गरेको प्रदेश १ सत्तारुढ गठबन्धनले आइतबार मन्त्रिपरिषद विस्तार कार्यलाई पूर्णता प्रदान गरेको छ।

चौतर्फी आलोचना र विरोधका बाबजुद सत्ता गठबन्धनले आइतबार मन्त्रिपरिषद् विस्तार गरेको हो।

प्रदेश १ सरकारको ६ सदस्यीय मन्त्रिमण्डल अब १४ सदस्यीय भएको छ। आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा जिम्मेवारी बाँडफाँटसहित नवनियुक्त ८ जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

आइतबार नेपाली कांग्रेसबाट ३, नेकपा (एकीकृत समाजवादी) बाट ३ र माओवादी केन्द्रबाट २ जनाले शपथ ग्रहण गरेका हुन्। आइतबार एक औपचारिक कार्यक्रम आयोजना गरी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराए।

प्रदेश १ मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा वन, वातावरण तथा भू-संरक्षण, झापाका ओमप्रकाश सरावगी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र ताप्लेजुङका प्रतापप्रकाश हाङगाङले उद्योग, श्रम तथा रोजगार मन्त्रीको रूपमा शपथ गहण गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) बाट मोरङका उपेन्द्र घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चार, खोटाङका राजन राईलाई सामाजिक विकास र इलामकी खिनु लङ्वा लिम्बूलाई संस्कृति तथा पर्यटन मन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ। यसअघिका सामाजिक विकास मन्त्री जयराम यादव भने प्रदेश सरकारका स्वास्थ्यमन्त्री बनेका छन्।

यस्तै पाँचदलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट खोटाङका राम कुमार राई र झापाका झलक बहादुर मगरलाई मन्त्री बनाइएको छ। राई प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री भएका छन् भने मगर कृषि मन्त्री बनाइएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत् छन्। आन्तरिक मामिलाबाट सञ्चारलाई झिकेर त्यसको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) का उपेन्द्र प्रसाद घिमिरेलाई प्रदान गरिएको छ।

जिम्मेवारी बाँडफाँटपछि सामाजिक विकास मन्त्री रहेका जयराम यादव स्वास्थ्यमन्त्री भए। भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई भने सडक, पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फेको जिम्मेवारी भने हेरफेर गरिएको छैन। तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै छन्।

अब कायम भएका मन्त्री र उनीहरूको कार्यविभाजन

१। राजेन्द्र राई – मुख्यमन्त्री
२। इन्द्रबहादुर आङबो – आर्थिक मामिला तथा योजना मन्त्रालय
३। हिमाल कार्की – सडक पुर्वाधार तथा सहरी विकास मन्त्रालय
४। केदार कार्की – आन्तरिक मामिला तथा कानुन मन्त्रालय
५। जयराम यादव – स्वास्थ्य मन्त्रालय
६। राम कुमार राई – खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालय
७। राजन राई – सामाजिक विकास मन्त्रालय
८। खिनु लङ्वा लिम्बु – संस्कृति तथा पर्यटन मन्त्रालय
९। झलक बहादुर मगर – कृषि मन्त्रालय
१०। शेखरचन्द्र थापा – वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय
११। ओम प्रकाश सारावगी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
१२। प्रताप प्रकाश हाङगाम – उद्योग, श्रम तथा रोजगार
१३। उपेन्द्र घिमिरे – यातायात व्यवस्था तथा सञ्चार
१४। विष्णु तुम्बाहाम्फे – सामाजिक विकास मन्त्रालय (राज्यमन्त्री)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved