शिखर सन्तोषसँग लता मंगेशकर। तस्वीर स्रोतः शिखर सन्तोषको ट्वीटर
बिहानै लता मंगेशकरको निधनको खबर सुनेर म दुखी छु। आज सरस्वती पूजाको दिन। मेरो निम्ति त लता मंगेशकर आफै सरस्वती माताको स्वरूप हुनुहुन्थ्यो। म उहाँलाई ‘दिदी’ भन्थेँ।
कोभिड–१९ को संक्रमणका कारण उहाँ बिरामी हुनुभएको र आइसीयुमा राखी उपचार गरिरहेको भन्ने थाहा पाएपछि केही दिन अघि उहाँको स्वास्थ्यको लागि पशुपतिमा पूजा पनि गरेका थियौँ। संगीतकर्मी मिलन मोक्तान, गायक रामकृष्ण ढकालसँग मिलेर हामीले पशुपतिनाथ सामु उहाँको सुस्वास्थ्यको लागि प्रार्थना गरेका थियौँ।
मलाई भेट्दा दिदी जहिल्यै पशुपति नाथ मन्दिर दर्शन गर्ने इच्छा सुनाउनुहुन्थ्यो। दिदीको त्यो इच्छा हामीले पूरा गर्न सकेनौँ। मैले कतिपटक कोशिस पनि गरेँ। तर उहाँको स्वास्थ्य जटिलतालाई लिएर रिस्क लिन सक्ने अवस्था थिएन।
उहाँलाई दिन भनेर मैले रुद्राक्ष पनि राखेको थिएँ। मेरो गाडीमा नै छ। तर दिदीलाई त्यो दिन पाइनँ।
म निशब्द भएको छु। अब त उहाँसँग जोडिएका स्मृतिहरू मात्र छन्। उहाँले मेरो संगीतमा गीत गाउनुभयो। मेरा लागि त्यो निकै ठूलो उपलब्धि हो।
थुप्रै मानिस आफ्नो गीत दिदीले गाइ दिनुभए हुन्थ्यो भन्ने ईच्छा राख्छन्। भारतका मात्रै नभई सांगीतिक क्षेत्रमा लागेका विभिन्न देशका संगीतकार, निर्माता, निर्देशक, गायक सबैको इच्छा हुनेगथ्र्यो, एउटा गीत चाहिँ लता दिदीले गाइदिए हुन्थ्यो। मेरो पनि सपना थियो, दिदीले एउटा गीत गाइदिनुभए हुन्थ्यो।
यो सपना साकार पार्न निकै संघर्ष गर्नुपर्यो। २५ हजार भन्दा बढी गीत गाइसक्नुभएकी उहाँले पछिल्लो समय गीत गाउन कम गर्नुभएको थियो। निकै छानेर मात्र गाउनुहुन्थ्यो।
त्यतिबेला म मुम्बईमा नै काम गर्थेँ। हिन्दी, मराठी केही गीतमा संघर्ष गरिरहेको थिएँ। उहाँका भतिजा बैजनाथ मंगेशकर पनि गीत गाउनुहुन्थ्यो। बैजनाथको लागि मराठी गीत लिएर म उहाँको घरमा जाने गर्न थालेँ। त्यसरी मंगेशकर परिवारसँग मेरो सम्पर्क बढ्दै गयो। उहाँ मेरो साथी पनि बन्नुभयो। तिनै गीतमा काम गर्ने क्रममा उहाँको घरसम्म पुग्ने बाटो बन्दै गइरहेको थियो। बिस्तारै घरमा आउने जाने भयो।
त्यसपछि मलाई नेपाली गीतमा पनि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। केही गीत थिए मसँग, ती गीत दिदीले नै गाइदिनुभए हुन्थ्यो भन्ने मनमा थियो। तर उहाँलाई मेरो गीत गाउन लगाउनु सजिलो भएन मलाई। उहाँसम्म पुग्न नै मैले संघर्ष गर्नुपर्यो।
१० वर्षको संघर्षपछि उहाँ ‘बाँचुन्जेलीलाई…’ गीत गाउन तयार हुनुभयो। त्यतिबेला मेरो खुसीको सीमा थिएन। तर मनमा डर पनि लागिरहेको थियो। किनकि उहाँ जस्तो दिग्गज कलाकारलाई कसरी गीत सिकाउने भनेर डर लागिरहेको थियो।
गीत गाउने फाइनल भएपछि अगाडि बसेर मैले दिदीलाई गीत सुनाउन थालेँ। तर उहाँको अगाडि हार्माेनिमय बजाउँदा मेरो हात काम्न थाल्यो। उहाँले म नर्भस भएको देखेर हौसला दिनुभयो।
उहाँले मलाई भन्नुभयो, “तपाईं मेरो गुरु हो, म तपाईँको गीत गाउनेवाला छु, तपाईँ निर्धक्क भएर मलाई राम्रोसँग सिकाउनुस्।”
त्यसपछि मलाई हौसला आयो। त्यसपछि मैले मज्जाले दिदीलाई सिकाएँ। उहाँ शब्द–शब्द पनि अड्कलेर, ह्रस्व, दीर्घलाई पनि कसरी गाउनुपर्छ, कसरी उच्चारण गर्नुपर्छ भनेर विचार गर्नुहुँदो रहेछ। पातलो ‘स’, मोटो ‘श’ को उच्चारण बीच भएको सानो भिन्नतालाई हेरेर बुझेर मात्रै गाउनुुहुँदो रहेछ। रिहर्सलको लागि हामीलाई दुई हप्ता लाग्यो। दिदीले दुई हप्तामा राम्रोसँग गीत सिक्नुभयो।
उहाँसँगको गीत रेकर्ड गरिसकेर रामकृष्ण ढकालसँग फोटो, भिडिओ खिच्न दिदीलाई फेरि रेकर्डिङ स्टुडियोमा बोलाएँ। त्यतिबेला पनि आइदिनुभयो। नेपाली सांगीतिक क्षेत्रलाई दिदीले ठूलो योगदान दिनुभएको छ।
अहिलेसम्म मैले उहाँजस्तो गायक भेटेको छैन। स्वभावको हिसाबले पनि उहाँ असल हुनुहुन्थ्यो। संगीतकारसँग कसरी सहकार्य गर्ने भन्ने उहाँबाट सिक्न जरुरी छ। दुई हप्तासँगै रिहर्सल गर्दा पनि उहाँमा घमण्ड भन्ने नै देखिनँ। त्यति ठूलो व्यक्ति भएर पनि घमण्ड भन्ने थिएन।
अरू बेला पनि उहाँ जो सँग पनि हाँसेर बोल्ने, सम्मान पूर्वक बोल्नुहुन्थ्यो। कला क्षेत्रमा लागेका मानिसहरू त्यस्तै हुनुपर्छ जस्तो लाग्छ मलाई। उहाँबाट हामीले शिक्षा लिनुपर्छ।
हाम्रो समाजमा दुई, चारओटा गीत गाउँदैमा ‘के के न भएँ’ भन्छन्। संगीतको साधना गर्ने मानिस त्यस्तो हुँदैन। संगीतको साधना गर्ने मानिस त शान्त, सबैलाई सम्मान गर्ने हुनुपर्छ।
दिदीले मेरो मात्रै नभई नेपाली दाजुभाइ दिदीबहिनीको लागि केही दिनुभएको छ। उहाँले नेपालीलाई दिनुभएको ‘बाँचुन्जेलीलाई..’ गीत सँधै अमर भइरहनेछ।
(सन्तोषसँग सुनिता साखकर्मीले गरेको कुराकानीमा आधारित।)
Facebook Comment
Comment