मन्त्रालय फुटाएको विरोधमा मुख्यमन्त्रीलाई कालो झण्डा

प्रदेश १ सरकारले मन्त्रीहरूको भागबण्डा मिलाउन ७ मन्त्रालय फुटाएर १२ पुर्‍याएको थियो।

नेपालभ्युज

मन्त्रालय फुटाएको विरोधमा मुख्यमन्त्रीलाई कालो झण्डा

विराटनगर। प्रदेश १ सरकारले मन्त्रालय फुटाएको विरोधमा एमाले निकट विद्यार्थी संगठन र युवा संघले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका छन्।

दलीय भागबण्डा मिलाउनका निम्त्ति पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले मन्त्रालय विभाजन गरेको विरोधमा बिहीबार अनेरास्ववियु र राष्ट्रिय युवा संघले मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कालो झण्डा देखाएका हुन्। विराटनगर विमानस्थलबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउने क्रममा मुख्यमन्त्री राईलाई एयरपोर्ट रोडमा कालो झण्डा देखाईएको हो। अनेरास्ववियु केन्द्रीय कमिटीका उपमहासचिव भाष्कर खनालको नेतृत्वमा आएका करीब २५ जना विद्यार्थीहरूको समुहले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका थिए।

घटनास्थलमा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विद्यार्थीहरूलाई रोक्न खोज्दा सामान्य झडप समेत भएको थियो। संघीयता समाप्त पार्न प्रदेशको अर्थतन्त्रले धान्न नसक्ने गरी गठबन्धनको सरकारले ७ मन्त्रालयलाई १२ वटा मन्त्रालयमा विभाजन गरेकाले आन्दोलनको आवश्यकता परेको अनेरास्ववियु उपमहासचिव भाष्कर खनालले बताए। उनले सरकारद्वारा मन्त्रालय विभाजनको निर्णय नसच्याईएसम्म आन्दोलन जारी रहने जानकारी दिए।

कालो झण्डा प्रर्दशनपछि नेपालभ्यूजसँग कुरा गर्दै राष्ट्रिय युवा संघ मोरङका सदस्य विनोद परियारले सरकारद्वारा मन्त्री पाल्ने र कार्यकर्ता पोस्ने कार्य भइरहेको बताए। उनले सरकारको यो कदम तत्काल नसच्याइए युवा संघ जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए।

प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधनसहित पारित गर्दै मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सोही निर्णय बमोजिम प्रदेश नं. १ तत्काल कायम रहेका ७ मन्त्रालयलाई हाल १२ वटा मन्त्रालयमा विभाजन गरिएको छ।

जसमा स्वास्थ्य, सामाजिक विकास, सडक पूर्वाधार तथा शहरी विकास, खानेपानी, ऊर्जा तथा सिँचाई, उद्योग, श्रम तथा रोजगार, वन, वातावरण तथा भू-संरक्षण, संस्कृति तथा पर्यटन, कृषि तथा पशुपन्क्षी विकास र भूमि व्यवस्था, सहकारी तथा यातायात व्यवस्था साविकका ४ मन्त्रालय विभाजन पश्चात बनेका नयाँ ९ मन्त्रालयहरू हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved