कोशी अस्पतालमा फोहोर प्रशोधन गरेर बायो ग्यास उत्पादन

नेपालभ्युज

कोशी अस्पतालमा फोहोर प्रशोधन गरेर बायो ग्यास उत्पादन

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले फोहोर प्रशोधनगरी बायो ग्यास उत्पादन शुरू गरेको छ। व्यवस्थित रुपमा प्लान्ट निर्माण गरेर अस्पतालले प्रशोधित फोहोरमैलाबाट बायो ग्यासको उत्पादन सुरु गरेको हो। अस्पतालको प्रसुति गृहबाट दिनहुँ निस्कने सालनाल, खानेकुरा अन्य स्वास्थ्यजन्य फोहोरमैलालाई प्रशोधन गरि बायो ग्यासको उत्पादन सुरु गरिएको अस्पतालले जनाएको छ।

बायो ग्यास उत्पादनका लागि अस्पतालले उत्तरपट्टीको डायग्नोसिस सेन्टर पछाडि अक्सिजन प्लान्टसँगै फोहोरमैला प्रशोधन केन्द्र निर्माण गरेको छ। त्यस्तै, फोहोरमैला प्रशोधनका लागि ५० घनमिटर क्षमताको ग्यास आउटलेट बनाइएको छ।

अस्पतालबाट निस्किने सालनाल र त्यसबाहेकका अन्य फोहोरमैला प्रशोधनका निम्त्ति बेग्लाबेग्लै इन्लेट तयार पारिएको छ। इन्लेटमा राखिएका फोहोर आउटलेट अर्थात् बायो डाईजेष्टरमा पठाएपछि बायो ग्यास उत्पादन हुने गर्दछ। यसरी उत्पादित बायोग्यास हाल अस्पतालले आन्तरिक रुपमै खपत गरिरहेको छ।

बायोग्यासको थप उपयोग सम्बन्धमा अतिरिक्त योजना तयार पार्ने कार्य भईरहेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए। उनले भने, ‘हाल हामीले अस्पतालमै खपत हुनेगरि उत्पादन गरिरहेका छौं । बाहिर पठाउने वा बजारमा बिक्री गर्ने बिषयमा छलफल जारी छ।’

नेपाल सरकारको वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको मापदण्डमा आधारित यस बायो प्लान्ट विराटनगरको भगवती बायो ग्यास तथा उर्जा विकास कम्पनीले निर्माण गरेको हो। उक्त प्लान्टमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र कोशी अस्पतालको संयुक्त लगानी छ। प्लान्ट निमार्णका लागि कोशी अस्पतालले ५ लाख लगानी गरेको छ भने केन्द्रले ४० प्रतिशत अनुदान दिएको छ।

निर्मित प्लान्ट दैनिक ३०० केजी फोहोर प्रशोधन गर्न सक्ने क्षमताको भएको निर्माण कम्पनीका सञ्चालक दिवाकर निरौलाले बताए। उनले दैनिक ८ देखि ९ घण्टा चुल्हो बाल्न पुग्ने गरी कोशी अस्पतालको प्लान्टले बायोग्यास उत्पादन गरिरहेको जानकारी दिए।

विराटनगरस्थित कोशी अस्पतालमा यसअघि फोहोरमैला व्यवस्थापनको उचित प्रबन्ध थिएन। अस्पतालको विभिन्न कुनाकाप्चा र उत्तरपट्टी रहेको पानी टयाङ्की छेउमा जथाभाबी फोहोर फाल्ने गरिएको थियो। प्लास्टिकले छोपेर तथा जस्तापाताले घेरेर फोहोरमैला राख्ने गरिएको थियो। तर, बायो ग्यास उत्पादनका लागि प्रविधि भित्रिएपछि अस्पतालबाट निस्कने फोहोरहरु हाल व्यवस्थित रुपमा भण्डारण गर्ने गरिएका छन्।

यसबाट फोहोरमैला व्यवस्थापनको नाममा मासिक रुपमा खर्च हुने ठूलो रकम जोगिनुका साथै पुनः प्रयोग गर्न सकिने फोहोरमैलाहरु रिसाईकल गर्ने बाटो समेत खुलेको अस्पताल विकास समितिका अध्यक्ष महेश प्रसाद भट्टराईले बताए । उनले बायोग्यास प्लान्ट सञ्चालनमा आएपछि हाल अस्पतालको फोहोरमैला व्यवस्थापन खर्च पनि ५० प्रतिशतमा झरेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved