शहीदहरूको एकीकृत अभिलेख राख्न प्रधानमन्त्रीको निर्देशन

नेपालभ्युज

शहीदहरूको एकीकृत अभिलेख राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरूको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन्। आइतबार शहीद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरूको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताए।

शहीद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा शहीदसम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन्। उनले शहीदहरूको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहीदका परिवारलाई सहयोग गर्ने तथा शहीदहरूको बारेमा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने बताए।

शहीदहरूले देखेको सपनालाई शाकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेकाले शहीदहरूको परिकल्पनाअनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी,अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनु पर्ने उनको भनाइ थियो। प्रधानमन्त्री देउवाले अबको देशको गन्तव्य आर्थिक रूपान्तरण र सुशासन भएकोले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रूपान्तरण गर्नुपर्ने बताए।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शहीदहरूको योगदानलाई सम्मान गरेर देश र जनताको लागि अठोटकासाथ अघि बढ्नु पर्ने बताए। शहीदका सपनालाई शाकार गर्न उनीहरूका सपनाको पहिचान गरेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो।

काठमाडौं महानगरपालिकाले शहीदहरूको सम्झनास्वरूप १० माघमा शहीद शुक्रराज शास्त्री, १३ माघमा सिफलमा धर्मभक्त माथेमा र १५ माघमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा माल्यार्पण गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved