राष्ट्रिय सभा निर्वाचनमा गण्डकीका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

नेपालभ्युज

राष्ट्रिय सभा निर्वाचनमा गण्डकीका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

पोखरा। गण्डकी प्रदेशमा आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। सभाको निर्वाचनको लागि तीन सदस्य चयन हुनेछन्।

गण्डकीका दिनानाथ शर्मा र शान्तिकुमारी बिसी र समावेशी दलित समूहतर्फ गण्डकी प्रदेशबाट खिमकुमार विकको पदावधि सकिँदैछ। २०७८ फागुन २० गतेसम्म गण्डकीका ३ जनाले ४ वर्षे कार्यकाल पूरा गर्दैछन्।

सोही रिक्त पदका लागि नेकपा एमालेले कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लिला थनेत र बागलुङका गोविन्द परियारको नाम टुंगो लगाएको छ। एमालेले सिफारिसमा परेका ९ मध्येबाट ३ जनाको नाम टुंगो लगाएको हो।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सत्तारुढ गठबन्धनको भागबण्डामा एक-एक सिट पाएका छन्। कांग्रेसले गोरखाकी कमला पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा माओवादीले भुवनबहादुर सुनार र सोही पार्टीका सुरेशकुमार आले मगरलाई उम्मेदवार बनाएको छ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ। आइतबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो। आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रूख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको छ।

त्यसैगरी, राप्रपालाई हलो, जनता समाजवादी पार्टी नेपाललाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टीलाई मादल र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न प्रदान गरिएको छ।

गण्डकी प्रदेशमा ६० प्रदेशसभा सदस्य छन्। यहाँ एमालेका २७ प्रदेश सभा सांसद छन्, जसको मतभार १ हजार २ सय ९६ छ। स्थानीय तहमा एमालेका ७० जनाप्रतिनिधिको मतभार १ हजार २ सय ६० छ।

राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रदेश सभा सदस्य सहभागी हुन्छन्। स्थानीय तहका प्रमुख-उपप्रमुखको १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ।

गण्डकी प्रदेशमा ८५ स्थानीय तहका १७० र ६० सदस्यीय प्रदेश सभाका ५९ गरी २ सय २९ जना मतदाता छन्। राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सांसद कृष्ण थापा कारबाहीमा परेपछि प्रदेशसभाको एक पद रिक्त छ।

स्थानीय र प्रदेश सभा गरी एमाले एक्लैको मतभार २ हजार ५५६ हुन्छ। तर, स्थानीय र प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससहित ५ दलीय गठबन्धन एक ठाउँ हुँदा मत बढी हुने आँकलन छ। गण्डकीमा ५ दलीय गठबन्धनमा कांग्रेस (२१९६), माओवादी (७९२), जनता समाजवादी (९६), राष्ट्रिय जनमोर्चा (१५० ) र एकीकृत समाजवादी (१८) मिल्दा मतभार ३ हजार २ सय ५२ हुन आउँछ। यसरी हेर्दा ५ दलीय गठबन्धनसँग एमाले ६९६ मतभारले पछाडि छ।

मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) पनि गठबन्धनको प्रदेश सरकारमा मन्त्री छन्। उनले पनि गठबन्धनका उम्मेदवारलाई मत हाल्दा ३३०० मतभार हुने देखिएको छ।

यहाँ एमालेबाट फुटेको एकीकृत समाजवादी कमजोर छ। प्रदेश सभामा एक जना पनि एकीकृत समाजवादीका सांसद छैनन् भने स्थानीय तहमा ८५ मध्ये आँधीखोला गाउँपालिका उपाध्यक्ष एक जनामात्र छन्।

प्रचारप्रसारमा पाँचदलीय गठबन्धन

गण्डकी प्रदेशमा ५ दलीय संयन्त्र गठन भएको छ। नेपाली कांग्रेस तर्फबाट गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, एकीकृत समाजवादी गण्डकी प्रचार विभाग प्रमुख श्रीनाथ बराल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समिति अध्यक्ष शंकर बराल र जनता समाजवादी पार्टी गण्डकी प्रदेश उपाध्यक्ष हेमबहादुर थापाले विज्ञप्ति निकालेर संयन्त्रको घोषणा गरेका हुन्।

५ दलीय संयन्त्रले २८ पुसमा मा नवलपुर, २९ मा कास्की, ३० मा तनहुँ, २ माघमा लमजुङ, ३ गते पर्वत र बागलुङ, ४ गते म्याग्दी र ५ गते स्याङजा जिल्लामा मतदातासँग भेटघाट कार्यक्रम राखेको छ।

यसअघि नै गोरखामा मतदातासँग भेटघाट गरिसकेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीको पाँचदलीय गठबन्धन रहँदै आएको छ।

संयन्त्रले मनाङ र मुस्ताङ जिल्लामा अनुकुल समय मिलाएर मददाता भेट्ने जनाएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात वटै प्रदेशमा ४३ जनाको उम्मेदवारी परेको छ। राष्ट्रिय सभामा १९ पद रिक्त छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved