‘सधैंभरिलाई कप्तान हुन आएको पनि होइन, म देशका लागि खेल्छु’ (भिडिओसहित)

ज्ञानेन्द्र भन्छन्, “म सधैंभरिलाई कप्तान हुन आएको पनि होइन र हुनुपर्छ भन्ने पनि होइन। म पहिला पनि खेलिरहेको थिएँ भने अब पनि खेल्छु, त्यो देशका लागि खेल्छु, मेरो लागि खेल्छु, परिवारका लागि खेल्छु त्यो नै मेरो प्रमुख उद्देश्य हो।”

नेपालभ्युज

‘सधैंभरिलाई कप्तान हुन आएको पनि होइन, म देशका लागि खेल्छु’ (भिडिओसहित)

काठमाडौं। नेपाल क्रिकेट संघसँगको विवाद अन्तयसँगै नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन्। मंगलबार प्रशिक्षणका लागि टीयू खेल मैदान कीर्तिपुरमा पुगेका उनले मिडियासँगको कुराकनीमा सधैंका लागि कप्तान बन्नका लागि नआएको बताए।

ज्ञानेन्द्र भन्छन्, “म सधैंभरिलाई कप्तान हुन आएको पनि होइन र हुनुपर्छ भन्ने पनि होइन। म पहिला पनि खेलिरहेको थिएँ भने अब पनि खेल्छु, त्यो देशका लागि खेल्छु, मेरो लागि खेल्छु, परिवारका लागि खेल्छु त्यो नै मेरो प्रमुख उद्देश्य हो।”

तर क्यानले कप्तानबाट हटाउँदा दुःख लागेको उनले बताए। “शुरुमा त दुःख लाग्यो, यत्रो वर्ष क्रिकेटलाई दिइयो तर बिनाकारण यो विवादलाई लिएर र अन्य विभिन्न कुराहरू निकालेर कप्तानबाट हटाइँदा व्यक्तिगत रूपमा अलि गाह्रो भएको थियो। किनभने कहिल्यै पनि बोर्डको विरुद्धमा जाने वा बोर्डलाई तल देखाउने काम हामीले गरेको होइन।”

उनी थप्छन्, “यत्रो वर्षदेखि केही नहुँदा पनि खेलिरहेका थियौं। हाल सम्मानजनक अवस्था छ, त्यसलाई अझ संम्बोधन गर्नुपर्ने माग राखेकोमा अन्य विभिन्न आरोप लगाएर यसो गर्दा दुःख लाग्यो। आफ्नो आत्मसम्मानको कुराले अलि अप्ठेरो परेको थियो। तर जीन्दगीमा जस्तो अवस्थामा भएपनि अघि बढ्नुपर्छ।”

वार्षिक सम्झौताका लागि गरेको खेलाडी वर्गीकरणमा चित्त नबुझाउँदै मिडियामा बोलेको र क्यानसमक्ष ११ बुँदे मागसहित अल्टिमेटम दिइकोले अनुशासन उल्लंघनको कारण देखाउँदै गत १९ मंसीर २९ गते क्यानले उनीसँगै राष्ट्रिय टिमका चार खेलाडीलाई कारबाही गरेको थियो।

जसकारण खेलाडीहरूको असन्तुष्ट एक समुहले आसन्न विश्व कप छनोटका लागि बोलाइएको बन्द प्रशिक्षण बहिष्कार गरेका थिए। अब क्यान खेलाडी छलफल पछि विवाद सकिएको उनले बताए।

“विवाद समाप्त भएर नै हामी सबै जना यहाँ छौं। तर यो विवाद भन्दा पनि एउटा असन्तुष्टि हो जसलाई विवाद बनाइएको जस्तो मलाई लाग्छ। यो विवाद जस्तो देखिएको मात्र हो। विवाद नभएर एकदुई कुरामा असन्तुष्टि मात्र थियो त्यसलाई स्पष्ट पार्नु पर्‍यो भन्ने माग मात्र थियो।”

“यो विवादलाई हामी बाहिरभन्दा पनि संघभित्र बसेर नै सल्ट्याउन चाहिरहेका थियौ। अन्त्यमा सबै कुराहरूलाई समेटेर, आ-आफ्नो इगोलाई बाहिर राखेर, नेपाली क्रिकेटको भविष्यको लागि भनेर साथै महत्वपूर्ण प्रतियोगिता पनि आइरहेको छ, त्यसको लागि पनि एक ठाउँमा बस्नुपर्छ र हामीले नै नेपाली क्रिकेटलाई अगाडि बढाउनुपर्छ भनेर सहमति भयो। जे भयो भयो अवको दिनमा हाम्रो लक्ष्य भनेको अघि बढ्ने नै हो,” उनले थपे।

टिममा खेलाडीहरूमा ‘ग्रुपिजम’ को विषयमा प्रश्न गर्दा उनी भन्छन्,“मलाई लाग्दैन कि हामीले एक अर्कासँग वा अथवा बोर्डसँग नै दुश्मनी लिएको हौ। बोर्डसँग बसेर कुरा गर्दा सधै सकारात्मक कुरा नै भएकोछ। सबै खेलाडीहरू गएको १०-१२ वर्षदेखि सँगै खेलिरहेको छ, कोही भर्खर खेलिरहेको छ। घरेलु लिगदेखि सबै क्रिकेटमा सँगै छौं। त्यसैले हामीमा मनमुटाव कसैसँग छ जस्तो लाग्दैन। हुने भएको भए यहाँ सायद कोही पनि हुने थिएन होला।”

उनले छलफलमा क्यानले आफूहरूको सेवा सुविधा सन् २०२२ देखि बढाउने, चार खेलाडीलाई लागेका ६ महिना वार्षिक सम्झोतामा नराख्नेगरी गरेको कारबाही फिर्ता गर्ने, यो वर्षको वार्षिक सम्झोताका लागि भएको खेलाडी वर्गीकरणमा छुटेका तीन खेलाडी प्रोत्साहन भत्ता दिने बाचा गरेको पनि बताए।

अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि नेपालले डेढ महिनापछि छनोट प्रतियोगिता खेल्दैछ। जसका लागि विवादको अन्त्यसँगै सबै ३० खेलाडी प्रारम्भिक टिममा जोडिएका छन्। २८ खेलाडीले मंगलबारदेखि प्रशिक्षणमा छन्। नयाँ कप्तान सन्दीप लामिछाने बिग व्यास लिग खेलिहरेका कारण अष्ट्रेलियामा छन् भने सागर ढकाल अस्वस्थाका कारणपछि टिममा जोडिनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved