माओवादी महाधिवेशन

राम कार्कीको फरक मत : पुँजीवादविरुद्ध जाइलाग्न अबेर भयो

'सँगुर खोर सफा गर्न गएको माओवादी खोरमै रमायो'

आइतबारदेखि राजधानीमा जारी नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा ‘केही पूरक, केही नवीन धारणाहरू’ शीर्षकको ११ पन्ने फरक मत राख्दै यस्तो दुःखेसो पोखेका हुन्। उनले संसदलाई सुँगरखोरको संज्ञा दिएका हुन्। ससद् बदल्न भनेर गएका माअ‍ोवादी संसदवादी भासमा भासिएको उनको तर्क छ।

नेपालभ्युज

राम कार्कीको फरक मत : पुँजीवादविरुद्ध जाइलाग्न अबेर भयो

काठमाडौं ।  माओवादी नेता राम कार्कीले सुँगुरको खोर सफा गर्न खोरमा पसेको माओवादी सुँगुर खोरमै रुमल्लिएको भन्दै चित्त दुखाएका छन्।

आइतबारदेखि राजधानीमा जारी नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा ‘केही पूरक, केही नवीन धारणाहरू’ शीर्षकको ११ पन्ने फरक मत राख्दै यस्तो दुःखेसो पोखेका हुन्। उनले संसदलाई सुँगरखोरको संज्ञा दिएका हुन्। ससद् बदल्न भनेर गएका माअ‍ोवादी संसदवादी भासमा भासिएको उनको तर्क छ।

‘सुँगुरको खोर सफा गर्न खोरमा जानै पर्छ भन्ने मान्यतासँग पनि मार्क्सवादलाई प्रयोगाश्रीत विज्ञान (Empirical Science) मान्ने सच्चा कम्युनिष्टहरूले विमति जनाउन सक्दैनन्,’ फरक मतमा कार्की लेख्छन्, ‘यसरी पुँजीवादी संसद्मा पठाइएका क्रान्तिकारीहरूलाई अवसरवादबाट जोगाउने काम पार्टीले गर्नुपर्दछ।’

उनले पार्टी प्रमुख पुष्पकमल दाहाल प्रचण्ड नै संसदमा गएर संसदीय दलदलमा फसेकोमा चिन्ता गरेका छन्। उनी लेख्छन्, ‘तर, सिंगो पार्टी मुल नेतृत्वसहित संसद्मा गएपछि यसलाई अवसरवादबाट जोगाउने संयन्त्र कुन हो? यो प्रश्न हाम्रो सन्दर्भमा मुख बाएर खडा भएको छ।’

लेखेका छन्, ‘जडसुत्रवादलाई त्याग्नु भनेको सम्पूर्ण रूपले संसदवादमा धसिनु होइन।’

उनले त संसद र सरकारलाई ज्ञान आर्जनको रूपमा उपयोग नगरी धन आर्जन र संसदीय दलदलमा फसेको तर्क गरेका छन्। ‘क्रान्तिकारी कम्युनिष्टहरूले संसदको उपयोग गर्दा वा सरकारमा सामेल हुँदा त्यसलाई शासन गर्ने सौभाग्यका रूपमा बुझ्दैनन्। बरु त्यसको ठीकविपरीत त्यो अवसरलाई विचार, ज्ञान र सोच्ने तरिका फेर्ने कामका निम्ति उपयोग गर्दछन्। हाम्रो सन्दर्भमा त्यस्तो कतै नदेखिएकोले हामी संसदवादमा भासिएकै कुरालाई प्रमाणित गर्दछ।’

उनले अन्तर्राष्टिय परिस्थितिको व्याख्या गर्दै पुँजीवादको विरोध गरेका छन्। विश्वभर पुँजीवादको हाइधुइ चलिरहेको पुँजीवादमा संकट आएको तर्क गर्छन्। उनी लेख्छन्, ‘आजको संकट समाधान गर्ने पुँजीवादी पण्डितहरूको प्रयत्न निरर्थक बन्दै गइरहेको छ।’ पुँजीवाद संकटमा फसेको बेलामा पनि समाजवादी भने चुपचाप बसेको देखेर कार्की निराश छन्। समाजवादीहरू पुँजीवादविरुद्ध जाइलाग्न अबेर गरेको समेत आरोप लगाएका छन्। लेख्छन्, ‘समाजवादीशिविर शान्त देखिन्छ। लेनिन, रोजा र एन्टेनियो ग्राम्सीजस्ता बौद्धिक क्रान्तिकारी जोधाहाहरू कहीँ कतै देखिँदैनन्।’

उनले अन्तर्राष्ट्रिय परिस्थितिको मसिनरी व्याख्या गरेका छन्। सोभियत संघको विघटनपछि केही कालका निम्ति एक ध्रुवीय विश्वको सम्भावना बढेको, अमेरिका उकालिएको तथ्य केलाउँदै उनले अहिले भने चीनको शक्तिले विश्वको शक्ति सन्तुलनमा नै बदलाव ल्याएको जनाएका छन्। लेख्छन्, ‘विश्व पूँजीवादी अर्थतन्त्रको प्रादुर्भाव पूर्व संसारकै धनको भकारी भनेर चिनिने चीनको आर्थिक पुनरोदयले विश्वकै शक्ति सन्तुलनलाई प्रभावित पारेको छ।”

नेपाली समाजको संरचनाबारे व्याख्या गर्दै उनले विश्व पुँजीवादको संक्रमणले गाँजेकोमा पनि दुःखी छन्। “सामन्तवादको निर्णायक उच्छेद नहुँदै नेपालको नशा नशामा दलाल पुँजीवादका विशालु प्रभावहरूको विस्तार भयो। हाम्रो आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र शैक्षिक नशाहरूबाट सामन्तवादको विष नउत्रँदै दलाल तथा नोकरशाही पुँजीवादका विषहरू फैलिए,’ कार्की प्रतिवेदनमा उल्लेख छ।

आगामी कार्यभार नामक उपशीर्षकमा उनले नेपाली समाजको अध्ययन, अनुसन्धान र व्याख्याको काम अत्यन्त कम भएकोमा पनि दुःखेसो पोखेका छन्। शिक्षामा सुधारको खाँचो औंल्याएका छन्, ‘नेपालको शिक्षालाई कसरी जनवादी र वैज्ञानिक बनाउन सकिन्छ? हाम्रा पाठ्यक्रमहरूमा जमेर बसेको आस्था, जात व्यवस्था, पितृसत्ता र जडसुत्र’लाई फेरेर समाजवादी सोच र प्रणालीलाई कसरी प्रभावी बनाउने भन्ने बहसकाबीच सरकारले जनपक्षीय शिक्षा नीति र कार्यक्रम अगाडि सार्‍यो भने मात्र हामीले शिक्षामा चाहेको परिवर्तन ल्याउन सक्छौं।”

उनले गणतन्त्रलाई जात व्यवस्था विनाश गर्ने प्रभावी हतियारका रूपमा विकसित गर्नुपर्ने तर्क गर्छन्। उनी लेख्छन्, ‘हाम्रो गणतन्त्रले पितृसत्तात्मक सोचलाई क्रमशः निर्मुल गर्दै जानुपर्दछ। हाम्रो विद्यालयमा, कामका विभिन्न क्षेत्रहरूमा (यहाँसम्म कि घरमा) विस्तार गर्न, विकसित पार्न चुक्यौं भने हाम्रो गणतन्त्रले आफ्नो अर्थ, मूल्य र ग्राह्यता गुमाउनेछ।’ यसैगरी गणतन्त्रलाई शिक्षा, कृषि, स्वास्थ्य सबैतिर छरिनुपर्ने जनाउँछन्।

‘हाम्रो शिक्षा, कृषि, स्वास्थ्य, उद्योग नीतिहरूमा गणतन्त्र टड्कारो भएर देखा पर्नुपर्दछ।’ नीति निर्माणमा उत्पीडित हिस्साको सहभागीता सुनिश्चित भएमात्र लोकतन्त्र विकास हुने उनको तर्क छ। चौरमा, चौतारामा, विद्यालय परिसरमा, गुन्द्री, राडीपाखी आदिमा बसेर कुलो, कुलेसो, पुलपँधेरा, बाटोघाटो, स्वास्थ्यकेन्द्र, विद्यालय आदिबारे नीति निर्माण गर्न सकियोस् भन्ने उद्देश्यका साथ संघीयतालाई राजनीतिक मुद्दा बनाउनुपर्नेमा जोड दिएका छन्।

समावेशी प्रजातन्त्र उपशीर्षकमा कार्कीले लेख्छन्, ‘लाखौं दलित, लाखौं लोपउन्मुख जनजाति, करोडौं महिला आदिको बीचबाट १०-२० जना आज्ञाकारी खोजेर तिनलाई दिइने पद, विभूषण, सुविधालाई समावेशी प्रजातन्त्रको मुलम्मा (lint) चढाउने चटके राजनीतिलाई विदा गर्न आग्रह गर्नुपर्छ। बदलामा उत्पीडितहरूको मुक्तिका निम्ति आवश्यक नीति निर्माणमा स्वयम् उत्पीडितहरूकै सहभागिता सुनिश्चित गर्ने प्रजातन्त्र हाम्रो समावेसी प्रजातन्त्र लागु गर्नुपर्छ। तथाकथित माथिल्ला तहहरूमा पाँच जना दलितलाई टिपेर प्रजातन्त्रको डंका गर्ने परिपाटीलाई पूर्णतः रोक लगाएर सिंगो दलितको मुक्तिको निम्ति जात व्यवस्थालाई विनाश गर्ने नीति बनाउनु र त्यसमा सम्पूर्ण उत्पीडित तप्कालाई विश्वस्त पार्नु हाम्रो कार्यभार हो।”

उनले शिक्षामा सुधार ल्याउने विद्यार्थी आन्दोलनबाट विद्यार्थी संगठन बेखबरमा भएकोमा पनि चिन्तित छन्। लेख्छन्, ‘किसानहरू सडकमा चुपचाप दूध बगाउँछन् तर आन्दोलनका लागि अगाडि आउँदैनन्। महिला संगठनको नीति र नेतृत्व कस्तो रहने भन्ने निर्णय पार्टीमा हाबी पुरुषहरूबाट हुने गरेको छ।’

‘कम्युनिष्ट पार्टी र यसका नेताहरूमा बढ्दो उपभोक्तावाद र त्यसलाई पूरा गर्न अपनाइने राजनीतिक अवसरवाद अनियन्त्रित बनेको’ मा चिन्ता जाहेर गरेका छन्। नेपालको समाजवादी क्रान्तिलाई अगाडि बढाउन जात व्यवस्थालाई समाप्त तुल्याउने कार्यक्रम सर्वाधिक सहयोगी बन्ने दाबी गरेका छन्। उनी लेख्छन्, ‘मजदुर, किसान आदिसँग दलितको ठूलो हिस्सालाई क्रान्तिको आधारभूत शक्तिको रूपमा अगाडि नबढाएसम्म संसद्वादमा भासिएको कम्युनिष्ट पार्टीको आफ्नै मुक्ति सम्भव छैन। जनतालाई मुक्त गराउने कुरा त धेरै टाढाको विषय हो।’

उनले माओवादीको गतिविधि चुनावबाट चुनावसम्म सीमित भएको भन्दै दु:खी छन्। लेखेका छन्, ‘हामी हाम्रो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र बन्दकी बनाउने छैनौं।’ उनले तत्काल गर्नुपर्ने काममा उनले शिक्षामा नेपाली समाजका तीन प्रमुख बाधा उल्लेख गरेका छन्। एक, मानव समाजकै कलंकका रूपमा रहको जात व्यवस्था। दुई, पितृसत्तात्मक सोच। तीन, विज्ञानभन्दा आस्थालाई प्राथमिकता दिने परम्परावादी जडसोच।

माओवादीले निर्वाचन जितेको इकाइमा अनिवार्य रूपमा कुल बजेटको १० प्रतिशत वा त्यसभन्दा माथिको रकम शिक्षामा र घटीमा १० प्रतिशत बजेट स्वास्थ्यमा छट्याउनुपर्ने प्रस्ताव गरेका छन्। कृषि पर्यावरण र पर्यावरणमैत्री पर्यटनमा विशेष जोड दिन पनि पार्टीका कमिटी परिचालित हुने जनाएका छन्।

स्वास्थ्य क्षेत्रमा परम्परागत चिकित्सा व्यवस्थालाई क्रमशः वैज्ञानिक बनाउँदै लैजाने कुरामा विशेष जोड दिइने प्रस्ताव छ। उनको प्रतिवेदनमा प्रजातन्त्रको सामाजिक पक्ष क्रान्तिकारी भूमिसुधार, जनमुखी शिक्षानीति र सुरक्षा क्षेत्रको पुनर्संयोजनका निम्ति माओवादीले भूमिका खेल्न नसकेकोमा आलोचना गरिएको छ।

पार्टीले आफैंभित्रको भ्रष्ट आचरणलाई दुरुत्साहित गरेर र उत्पीडित सामाजिक वर्गको मन जित्न प्रस्ताव गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved