प्रदेश २ को नाम र राजधानी तय गर्न जसपा र लोसपाले बनाए वार्ता टोली

प्रदेश सरकार गठन भएको चार वर्ष बित्न लाग्दा पनि प्रदेशको नामाकरण हुन सकेको छैन।  स्थायी राजधानी पनि कायम हुन सकेको छैन। पछिल्लो पटक प्रदेशको नामाकरण गर्न दलहरूको सक्रियता बढेको छ।

नेपालभ्युज

प्रदेश २ को नाम र राजधानी तय गर्न जसपा र लोसपाले बनाए वार्ता टोली

जनकपुरधाम । प्रदेश २ को नाम र राजधानी तय गर्नको लागि सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वार्ता टोली गठन गरेका छन्। प्रदेश २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम राख्न दुबै दल एकमत देखिएका छन्। उनीहरूले प्रदेश सभामा रहेका अन्य दलहरुसँग वार्ता गर्नका निम्ति टोली गठन गरेका हुन् ।

प्रदेश सरकारको तर्फबाट गठन भएको टोली संयोजकमा अर्थमन्त्री शैलेन्द्र साह र सदस्यहरुमा प्रदेशसभा सदस्य विदेश्वर यादव ‘विक्की’, मनिष सुमन, सुरेश मण्डल र शैलेन्द्र यादव रहेका छन्। यो टोलीले मंगलबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेतासँग भेटेर छलफल गरेको थियो।

छलफलका क्रममा माओवादीका नेता एवं आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह मधेश नाममा सकारात्मक देखिएका टोली संयोजक मन्त्री साहले बताए।

त्यसैगरी, लोसपाले प्रदेश सभा सांसद् रानी शर्मा तिवारीको संयोजकत्वमा प्रदेश सभा सांसद्हरू परमेश्वर साह, जयनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रल्हाद गिरी सदस्य रहनेगरी टोली गठन गरेको छ। प्रदेश सभामा प्रस्तुत हुने नाम र राजधानीबारे प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि दलहरुसँग छलफल गर्न यो समिति बनाइएको संसदीय दलका नेता जितेन्द्र सोनलले बताए।

वार्ता टोलीले सबै दलसँग छलफल संवाद गरी सहमतिमा पुग्ने विश्वास लिएको लोसपा संसदीय दलका नेता सोनलले बताए। पुस ८ गते बिहीबार बस्ने प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सरकारले प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव लग्ने तयारी गरेको छ।

प्रदेश सरकार गठन भएको चार वर्ष बित्न लाग्दा पनि प्रदेशको नामाकरण हुन सकेको छैन।  स्थायी राजधानी पनि कायम हुन सकेको छैन। पछिल्लो पटक प्रदेशको नामाकरण गर्नुपर्नेमा दलहरूको सक्रियता बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved