मीनेन्द्रको राजीनामाले प्रकाशमानलाई सरकारमा जानबाट रोक्ला ?

राजनीतिमा नेतृत्व प्रधान हुन्छ। रिजाल शेखर कोइराला गुटबाट महामन्त्रीको उम्मेदवार भएकाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा बसिरहन उनलाई अफ्ठेरो लागेको हो, आफूले नेता नमानेकाे व्यक्ति नेतृत्वको सरकारमा किन बसिरहने भन्‍ने उनलाई लागेको होला : लोकराज बराल

नेपालभ्युज

मीनेन्द्रको राजीनामाले प्रकाशमानलाई सरकारमा जानबाट रोक्ला ?

काठमाडौं। कांग्रेस महामन्त्री पदको अन्तिम परिणाम नआउँदै डा मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट समेत राजीनामामा दिने घोषणा गरेका छन्। मतगणनामापछि परेपछि उनले आफू सरकारमा नबस्ने र प्रधानमन्त्रीलाई भेटेर राजीनामामा दिने जानकारी फेसबुकमार्फत दिए।

ठिक, यहीबेला सभापतिमा पराजित भएका प्रकाशमान सिंह सरकारमा जाने चर्चा चलिरहेको छ। पहिलो चरणको निर्वाचनमा पराजित भएपछि उनले दोस्रो चरणमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए।

र, देउवा यस निर्वाचनबाट सभापतिमा दोहोरिइसकेका छन्। उपप्रधानमन्त्रीको जिम्मेवारीसहित सरकारमा लैजाने आश्वासन देउवाले दिएपछि सिंहले आफ्नो अडान फेरेको उनी निकटका व्यक्तिहरूले नै बताउँदै आएका छन्।

कांग्रेस सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा उनले ३ सय ७१ मतमात्रै ल्याएका थिए। बारम्बार नेतृत्व परिवर्तनको मुद्दा उठाउँदै आएका सिंहले दोस्रो चरणमा भने नयाँ उम्मेदवार डा.शेखर कोइरालाको साटो देउवालाई नै सभापतिमा सहयोग गरे।

मीनेन्द्रका घोषणापछि एकतर्फ, रक्षामन्त्री पद खाली हुँदैछ। अर्कोतर्फ, महाधिवेशनमा पराजित भएका उम्मेदवारहरूलाई सरकारमा सहभागी हुन नैतिकताले दिन्छ या दिँदैन भन्‍ने प्रश्‍न पनि उठेको छ।

राजनीतिक विश्लेषक लोकराज बराल मीनेन्द्रको कदम सही रहेको बताउँछन्। “मिनेन्द्रले जे गरे त्यो राम्रो कुरा हो। तर प्रकाशमान सिंहले शेरबहादुरलाई नै नेता मानिसकेका छन्। अब नेता नै मानिसकेपछि सरकारमा जान अफ्टेरो मान्‍नुपर्ने कुरा भएन,’’ बरालले नेपालभ्यूजसँग भने, ‘‘राजनीतिमा नेतृत्वप्रधान हुन्छ। रिजाल शेखर कोइराला गुटबाट महामन्त्रीको उम्मेदवार भएकाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा बसिरहन उनलाई अफ्ठेरो लागेको हो,  आफूले नेता नमानेकाे व्यक्ति नेतृत्वको सरकारमा किन बसिरहने भन्‍ने उनलाई लागेको होला, त्यस आधारमा राजीनामामा दिनु ठिकै हो।’’

विश्लेषक पुरञ्जन आचार्य पार्टीको आन्तरिक चुनावलाई सरकारसँग जोड्न नमिल्ने बताउँछन्। ‘‘मेरो बुझाइमा पार्टीको चुनावलाई नैतिकताको कसीमा नजोड्दा पनि हुन्थ्यो। तर, उहाँले नैतिक रूपमा जे ठिक हुन्छ भन्ने लाग्यो, त्यही गर्नुभयो। यद्यपि, सरकार जाने कुरा संसदीय निर्वाचनसँग जोडिएको कुरा हो। प्रकाशमानजी सभापतिमा पराजित भए पनि काठमाडौं-१ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, त्यसैले, सरकारमा जाने/नजाने कुरा उहाँको व्यक्तिगत कुरा हो। मीनेन्द्रजीको राजीनामासँग यसलाई जोडेर हेर्न मिल्दैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved