कांग्रेस महाधिवेशन : संसदीय चुनावको झल्को

खर्चिलो र भड्किलो चुनाव प्रचारले संसदीय चुनावको झल्को दियो। अबको कांग्रेस नेतृत्व कस्तो हुनुपर्छ भन्ने बहसभन्दा कसले बढी प्रचार गर्न सक्यो भन्नेमा अधिवेशन केन्द्रित बन्यो।

नेपालभ्युज

कांग्रेस महाधिवेशन : संसदीय चुनावको झल्को

काठमाडौँ। नेपाली कांग्रेसको १४ महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावमा भड्किलो प्रतिस्पर्धा भयो। खर्चिलो र भड्किलो चुनाव प्रचारले धेरैलाई संसदीय चुनावको झल्को दियो।

सोमबार र मंगलबार भएको मतदान र मतदानअघि पार्टीको आन्तरिक प्रतिस्पर्धामा पनि नेता कार्यकर्ताहरू तँछाडमछाड थिए। मतदानस्थल बाहिर दुवै पक्षका कार्यकर्ताहरू एकअर्काविरुद्ध आलोचना उत्रिएका समेत देखिए। अबको कांग्रेस नेतृत्व कस्तो हुनुपर्छ भन्ने बहसभन्दा कसले बढी प्रचार गर्न सक्यो भन्नेमा अधिवेशन केन्द्रित बन्यो।

ठूला–ठुला पोस्टर, पम्प्लेट र उम्मेदवारको उल्लेख्य तस्वीरहरु प्रयोग भएका देखिए। उम्मेदवारका फोटो अंकित ज्याकेट, टिसर्ट तथा टोपी हरू गलाएर कार्यकर्ता मत मागिरहेका भेटिन्थे। आ–आफ्नो समूह बनाएर चुनावमा होमिएका यी प्रतिष्पर्धीहरु ठूलै भाग खाउँला झैँ तँछाडमछाडमा थिए।

नीति र नेतृत्वको बहस हुनुपर्ने महाधिवेशनमा उम्मेदवारका पक्षमा बनाइएका ब्यानर, पोस्टरले मतदान क्षेत्र मात्रै नभई वरपरसमेत भरिएको देखियो।

उनीहरू बिहानदेखि साँझसम्म चर्कोचर्को स्वरमा भोट मागिरहेको देखिन्थे। माइकिङ गर्ने, गीत गाउनेदेखि भजन कीर्तनसम्ममा भोटै मागिरहेका भेटिए। महाधिवेशन प्रतिनिधिमा समेत टकराब देखियो।

यद्यपि उम्मेदवारको यस्तो चुनाव प्रचार शैलीले आन्तरिक प्रतिस्पर्धा अस्वस्थ्य देखिएको भन्दै कतिपयले चिन्ता समेत प्रकट गरे। नुवाकोटबाट आएका प्रतिनिधि रामजी पौडेलले भने ‘‘यस्तो प्रचार–प्रसारले मतदाताको मनोविज्ञानमै असर पर्न सक्छ। सक्षम व्यक्ति नेतृत्वसम्म पुग्नै सक्दैन।’’

भड्किला प्रचारले आन्तरिक लोकतन्त्र बलियो बनाउने भन्दै गरिएको निर्वाचनलाई अस्वस्थ बनाएको नेताहरू नै स्विकार्छन्। कतिपयले प्रचारको नाममा अनावश्यक खर्च गरेर आर्थिक भार बढाएको टिप्पणी पनि गरेका छन्।

यस्तो प्रचार–प्रसारले मतदाताको विवेक प्रयोगमा दबाब दिने तर्क गर्नेहरू पनि छन्। भड्किलो चुनावी प्रचार र चहलपहलले कांग्रेसलाई कमजोर पार्ने कतिपय कार्यकर्ताको चिन्ता छ।

यद्यपि सभापतिका उम्मेदवार डा. शेखर कोइराला भने आफूले भड्किलो र अस्वाभाविक प्रचार नगरेको दाबी गर्छन्। आफू स्वस्थ प्रतिस्पर्धामा उत्रिएको र महाधिवेशन प्रतिनिधिको विवेकमा विश्वास गर्ने उनले बताए।

उनले भने ‘‘आजसम्म मैले आचारसंहिता र नैतिक सीमा र मर्यादाभित्र रहेर प्रचार गरेको छु। अरूले जस्तो भोजभतेरदेखि रंगीविरंगी कपडा तथा बाजागाजा केही प्रयोग गरिन्। मतदाताको विवेक बन्धन पार्नु राम्रो होइन। मैले स्वस्थ शैलीबाट भोट मागेको छु।’’


Comment

One thought on “कांग्रेस महाधिवेशन : संसदीय चुनावको झल्को

  1. नेपालमा अझै सचेत नागरिक बिकास भैसकेको छैन l यो शिक्षा नीतिको ब्यबहारिक कमजोरी हो l अनुसन्धानमुलक शिक्षाको बलियो जग बिद्यालय देखिनै गरिनु अति आबश्यक छ l शिक्षित नया पिडीको सक्षमता पनि त देखियो होला यो प्रसार प्रसारमा ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved