कांग्रेस महाधिवेशन

एमालेमा गैंडापछि कांग्रेसमा भेडाको चर्चा

अहिले कांग्रेसको महाधिवेशन चलिरहेको छ र चर्चा ‘भेडा’को छ। सामाजिक सञ्जालमा धेरैले स्वर्गीय नेता गणेशमान सिंहको शब्द सापटी लिदैं उनकै छोरा प्रकाशमान सिंहलाई ‘ब्याकफायर’ गरिरहेका छन्।

नेपालभ्युज

एमालेमा गैंडापछि कांग्रेसमा भेडाको चर्चा

काठमाडौं। दशौं महाधिवेशनमा नेकपा एमालेले आफ्नो मस्कटमा ‘गैंडा’ प्रयोग गरेको थियो। गैंडाले कम्युनिष्ट झन्डा उठाएको तस्वीरलाई कतिले मन पराए, कतिले मजाक बनाए।

अहिले कांग्रेसको महाधिवेशन चलिरहेको छ र चर्चा ‘भेडा’को छ। सामाजिक सञ्जालमा धेरैले स्वर्गीय नेता गणेशमान सिंहको शब्द सापटी लिदैं उनकै छोरा प्रकाशमान सिंहलाई ‘ब्याकफायर’ गरिरहेका छन्।

गणेशमानले कुनै समय भनेका थिए, ‘जनता भेडा हुन्।’ अहिले महाधिवेशनको प्रसङ्सलाई जोड्दै नयाँ नेतृत्व चाहनेहरुले सामाजिक सञ्जालमा लेखेका छन् :

गणेशमानले किन ‘‘भेडा’’ भने ?

२०४६ सालको जनआन्दोलनमा गणेशमान सर्वोच्च कमाण्डर थिए। र, उनको सिंगो परिवार आन्दोलनमै होमिएको थियो। जनआन्दोलन सफल पार्न गणेशमान पत्नी मंगलादेवी सिंहको भूमिका ठूलो थियो। तर, जनआन्दोलनपछि भएको ०४८ सालको निर्वाचनमा काठमाडौं–३ बाट मंगलादेवी पराजित भइन्।

कांग्रेसका पार्टी सभापति तथा गणेशमानका सहयात्री कृष्णप्रसाद भट्टराई पनि पराजित भए। त्यसपछि निराश देखिएका गणेशमानले काठमाडाैंका जनतातर्फ संकेत गर्दै भनेका थिए,‘‘जनता भेडा हुन्।’’

गणेशमानले यस निर्दोष पशुको स्वभावलाई नियालेर यो बिम्ब प्रयोग गरेका थिए। भेडाको बथानमा अगाडीको भेडा जुन दिशामा हिंड्छ, बाँकी भेडाहरु एकोहोरो त्यतै लाग्छन्। जसकारण, अगाडीको भेडा भीरमा खस्यो भने बाँकी सबै भेडा पनि भीरमै खस्ने संभावना रहन्छ।

खासमा भएको के थियो ?

अघिल्लो दिनसम्म प्रकाशमान सिंह आफैं सभापतिका प्रत्यासी थिए। उनी कांग्रेसमा कुनै हालतमा नयाँ नेतृत्व आउनुपर्ने तर्क गर्दै भोट मागिरहेका थिए।

पहिलो चरणमा, शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिका उम्मेदवार थिए। यसमध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन सकेनन्।

जसकारण, पहिलो चरणमा सर्वाधिक मत ल्याउने उम्मेदवारहरु देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा तय भयो। पहिलो चरणमा देउवाले २ हजार २ सय ५८, कोइरालाले १ हजार ७ सय २, सिंहले ३ सय ७१, निधिले २ सय ५० र गुरुङले २० मत ल्याएका थिए।

देउवाबाहेक अन्य सबैले नेतृत्व परिवर्तनलाई आफ्नो मुख्य एजेन्डा बनाएकाले मतदान दोस्रो चरणसम्म पुगेमा देउवा इतरका उम्मेदवार एकजुट हुनेछन् भन्‍ने परिवर्तन चाहनेहरुको बुझाई थियो। मतदान दोस्रो चरणमा पुगेपछि भने कथामा नयाँ ट्वीस्ट आयो।

लामो समयदेखि देउवा इतर पक्षमा रहेका प्रकाशमान सिंहले चाक्सीबारीस्थित आफ्नै घरमा देउवालाई निम्त्याएर उनको पक्षमा समर्थन जताए।

नेतृत्व परिवर्तनको एजेन्डा लत्याएर देउवाले लिदैं आएको ‘‘सुधारिएको कांग्रेस’’ एजेन्डामा उनले सहमति जनाए। लगत्तै, विमलेन्द्र निधि पनि देउवाकै पछि लागे। हुँदाहुँदा कल्याण गुरुङले पनि अहिले देउवालाई नै समर्थन गरिसकेका छन्।

अर्थात्, नेतृत्व परिवर्तनको एजेन्डाबाट डा. शेखर कोइरालाबाहेक अन्य सबै उम्मेदवार ब्याक भएका छन्।

र, गैंडाबारे पनि …

केही समयअघि राजनीतिमा गैंडा चर्चित थियो। चितवनलाई गैंडाको घर मानिने भएकाले दशौं महाधिवेशनमा मौलिकता जोड्न एमालेले यसको प्रयोग गरेको थियो।

किनकि, महाधिवेशन चितवनमै भएको थियो। गैंडाले झन्डा बोके तस्विरलाई कतिले चितवनको पहिचानसँग जोडे। कतिले मजाकमा उडाए।

एमाले विभाजित गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गै‌डाको प्रयोगबारे तिखो टिप्पणी गर्न बाँकी राखेनन्। उनले सार्वजनिक रुपमै भनेका थिए, ‘‘एमालेका कार्यकर्ता सकिए, पार्टीमा कम्युनिष्ट विचार सकियो। त्यसैले गैंडाले हँसिया हथौडा अंकित झन्डा उठायो। भोली, यहीं झन्डा बाँदरले उठाउनेछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved