केपी ओली विश्वकै उत्कृष्ट नेता हुन् – प्रभु साह

नेपालभ्युज

केपी ओली विश्वकै उत्कृष्ट नेता हुन् – प्रभु साह
फाइल तस्वीर

काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओली विश्वकै उत्कृष्ट नेता रहेको बताएका छन्।

बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीसँगको भेटघाटमानेता साहले सिंगो विश्वका सर्वहारा वर्गले केपी शर्मा ओलीमाथि गर्व गर्नुपर्ने बताएका छन्।

पूर्वप्रधानमन्त्री ओली राष्ट्रवादी, स्वाभिमानी एवं दूरगामी सोच भएको नेता भएका उनले बताए। साहले मुलुकलाई समृद्ध बनाउने मौलिक दिशासमेत ओलीसँग रहेको बताए। विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेको चुनौतीपूर्ण अवस्थामा केपी ओलीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ दिएका नेता साहको भनाइ छ।

“संसारका जुनसुकै देशका नेताहरूले आफ्नो मुलुकको स्वाधीनता एवं राष्ट्रियताको रक्षा गर्न प्रतिबद्ध हुन्छ। तर नेपालको जुन प्रकारको भूगोल छ, हाम्रो देश दुई विशाल महाशक्ति राष्ट्रहरूको बीचमा अवस्थित छ। दुवै देशसहित विश्वभरको शक्ति सन्तुलन गर्दै आफ्नो मुलुकको राष्ट्रियता र स्वाभिमान रक्षा गर्न उहाँले जुन प्रकारले सक्षमता देखाउनुभएको छ। दुनियाँको कुनै पनि देशमा यस्तो देखिएको छैन,” नेता साहले भने, “उहाँकै नेतृत्व भएकोले मात्र वर्षोदेखि गुमेको नेपाली भूमिसहित नेपालको नक्सा सार्वजनिक गर्दै हाम्रो भूभागलाई फिर्ता लिने कार्यको थालनी भएको हो। जो नेपालको इतिहासमा नयाँ हो।”

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा र टुटफुट र विघटन अवस्थामा रहँदा नेपालमा ओलीको नेतृत्वमा शान्तिपूर्ण ढंगले मतदानमार्फत कम्युनिष्टको प्रभाव बढेको साहले बताए। यसले विश्वभरका कम्युनिष्टलाई पाठ सिकाएको पनि उनको भनाइ छ। भने, “आज हेर्नुहुन्छ भने उहाँले लामो समयदेखि गरिबी र पछौटेपनबाट ग्रसित नेपाललाई विकसित बनाउने एउटा नयाँ मोडल दिनुभएको छ। समृद्ध नेपाल सुखी नेपालीको महान राष्ट्रिय आकांक्षासहित उहाँले कम समयमा मुलुकको तीव्र विकास सम्भव छ भन्ने मोडालिटी दिनुभएको छ।”

नेता साहले मुलुकमा समाजवादी शासन स्थापना गर्नसमेत केपी ओलीको विकल्प नरहेको समेत बताए। ओली प्रधानमन्त्री हुँदा मुलुकलाई समृद्ध बनाउने दह्रो आधारशीला बसालिसकेकाले अब ओलीकै पालामा युगान्तकारी परिवर्तन हुने नेता साहको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved