भरतपुर सबस्टेशनको दुवै ट्रान्सफर्मर सञ्चालनमा

सबस्टेशनको क्षमता अब ४५ एमभिए रहेकाले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहकसेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताए।

नेपाल भ्यूज

भरतपुर सबस्टेशनको दुवै ट्रान्सफर्मर सञ्चालनमा

काठमाडौं। चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२/११ केभी क्षमताको भरतपुर सबस्टेशनमा रहेका दुई वटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन्।

नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतबार साँझदेखि विद्युत् आपूर्ति दिएको छ। सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो।

प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सबस्टेशनमा जगेडामा रहेको २२.५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारदेखि घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति दिएको थियो। एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत् आपूर्ति शुरु गरिएको थियो।

कास्कीको लेखनाथ सबस्टेशनमा रहेको २२.५ एमभिए क्षमताको ट्रान्सफर्मर ल्याएर भरतपुर सबस्टेशनमा जडान गरी त्यसलाई पनि आइतबार साँझदेखि सञ्चालनमा ल्याइएको हो।

सबस्टेशनको क्षमता अब ४५ एमभिए रहेकाले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहकसेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताए। सिंहका अनुसार आँपटारीस्थित अर्को १३२/११ केभीको सबस्टेशनमा १५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान शुरु गरिएको छ।

उक्त सबस्टेशनबाट विद्युत् आपूर्तिका लागि तीन वटा फिडर निकाली सकिएको छ। तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोली मर्मतस्थलमा खटिएको थियो।

कार्यकारी निर्देशक घिसिङले दीपावलीमा कुनै पनि घरमा बिजुली बाल्न पाइएन भन्ने गुनासो नआओस् भनेर आफै खटेर सबस्ेटशनको मर्मत गरेको र हाल पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved