बेमौसमी बर्षातले ४० प्रतिशत फूल मरे : तिहारमा मालाको मूल्य बढ्ने

नेपालभ्युज

बेमौसमी बर्षातले ४० प्रतिशत फूल मरे : तिहारमा मालाको मूल्य बढ्ने
तस्बिर : रासस

काठमाडौं। मनसुन सकिएको एक सातापछि बंगालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ जिल्ला नराम्ररी प्रभावित भएको छ। ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ।

धान भित्र्याउने बेला परेको वर्षातले धान खेतीमा निकै प्रभाव परेकोमा यता फूल व्यवसायमा पनि वर्षातको प्रभाव परेको छ। तिहारकै मुखमा बर्षातले फूल खेती पनि प्रभावित भएपछि मूल्य बढ्ने अनुमान गरिएको छ। बर्षातले करीब ४० प्रतिशत क्षति भएको फ्लोरिकल्चर एशोसिएसन अफ नेपालले जनाएको छ।

जसको प्रभावस्वरुप २० प्रतिशतसम्म तयारी मालाको मूल्य बढ्ने अनुमान एशोसिएसनको छ। फूल खेती कोभिडका कारण भएको निषेधाज्ञाले नै प्रभावित भएको थियो। व्यवसायीहरूले निषेधाज्ञाका कारण फार्मसम्म आवतजावत जान नपाउँदा फूलको स्याहार गर्न पाएनन्। जसकारण लगाएका बोटविरुवा पनि सुकेका थिए।

एशोसिएसनका अध्यक्ष मीन बहादुर तामाङले भने, ‘‘बन्दबन्दीका कारण फूलको स्याहार गर्न नसक्दा बिरुवा मरेका थिए,” उनले भने, ‘‘अहिले फेरि फुल्ने समयमा परेको वर्षातले खेती बिग्रिएको छ।”

बर्षातपछिको बाढीले २५ रोपनी जमिनमा ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। उनले भने, ‘‘बर्षातले ५० हजार विरुवा नष्ट भए।” जसकारण यो वर्ष अघिल्लो वर्षको भन्दा ३५ प्रतिशतस्म उत्पादन घटेको जानकारी उनले दिए। कोभिडका कारण अघिल्लो वर्ष बिक्री पनि घटेको थियो। व्यवसायीहरूले तिहारमा ३ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरेकोमा एक करोड ४० लाख रुपैयाँको मात्र कारोबार भएको थियो।

कोभिडको संक्रमण कायम रहेकाले यस वर्ष पनि कारोबार नबढ्ने अनुमान व्यवसायीको छ। उत्पादन घटेपनि यस वर्ष साढे दुई लाख रुपैयाँसम्मको मात्र फूल आयात गरे पुग्ने एशोसिएसनका अध्यक्ष तामाङ बताउँछन्। ‘‘गोदावरी र मखमलीको माला झण्डै तीन लाख थान खपत हुन्छ त्यो आन्तरिक उत्पादनले नै धान्छ,” उनले भने, ‘‘सयपत्री फूलको माग करीब १८ लाख हुने गर्छ, जुन आयात गर्नुपर्ने देखिन्छ।”

अघिल्लो वर्ष एक मिटर लम्बाई भएको मालाका मूल्य प्रति थान ६० रुपैयाँसम्म रहेकोमा यस वर्ष उत्पादन घटेकाले ८० देखि सय रुपैयाँसम्म पर्ने उनले बताए।

एशोसिएसनका अनुसार चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, धादिङ, रामेछाप, झापा, इलाम, धनकुटा, काठमाडौं, भक्तपुर, ललितपुर, सुनसरी, मोरङ, सर्लाही, सिराहा, रूपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली लगायतका जिल्लामा व्यवसायीक फूल खेती हुँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved