प्रशिक्षक अलमुताइरी नेपाल फर्किने संकेत

नेपालभ्युज

प्रशिक्षक अलमुताइरी नेपाल फर्किने संकेत

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अबदुल्ला अलमुताइरी पुन: नेपाल फर्किने संकेत देखिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुधबार कतारमा यो विषयमा अलमुताइरीसँग छलफल गरेका छन्।

शेर्पाले अलमुताइरीसँगको भेटको तस्वीर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छलफल।’

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलको फाइनल अगाडि प्रशिक्षक अलमुताइरीले फाइनल खेल आफ्नो अन्तिम हुने बताएका थिए। भारतसँग ३-० ले पराजित भएपछि नेपाल उपविजेता बनेको थियो। उक्त खेलपछि खेलाडी र पदाधिकारीहरू नेपाल फर्किएकोमा उनी कुवेत फर्किएका थिए।

यो खेलपछि भने दुई हप्ताको आरामपछि नेपाल फर्किने वा नफर्किने विषयमा निर्णय दिने अलमुताइरीले बताएका थिए।

गत अप्रिलमा नेपाली टिमको प्रशिक्षक बनेका अलमुताइरीको सम्झौता आउँदो मार्चसम्म रहेको एन्फाले जनाएको छ। तर अलमुताइरीले भने एन्फासँगको आफ्नो सम्झौता सकिन लागेको दाबी गरेका छन्।

एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार अलमुताइरीको एन्फासँगको सम्झौता अझैं पाँच महीना बाँकी छ। छुट्टीमा गएका अलमुताइरीलाई पुन: नेपाल फर्काउने विषयमा एन्फाले छलफल गरिररहेको उनले बताए।

एसियाली फुटबल महासंघको व्यवसायीक प्रशिक्षकको लाइसेन्स भएको अलमुताइरीलाई कतार फुटबल संघ सहयोगस्वरुप प्रशिक्षकका रुपमा नेपाल पठाएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved