पदक वितरणप्रति ओलीको टिप्पणी – बुवा, श्रीमती र छोराछोरीको मुख हेर्ने दिन हो ?

‘लजाइराखेका छन् आज मानपदवीहरू । क्या घाँटीमा पुगिने भयो बा । बोल्न सक्ने भए उफ्रिन्थे ती । तर बोल्न सक्दैनन् ।’

नेपालभ्युज

पदक वितरणप्रति ओलीको टिप्पणी – बुवा, श्रीमती र छोराछोरीको मुख हेर्ने दिन हो ?
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान दिवसको सन्दर्भमा सरकारले वितरण गरेको पदकप्रति व्याख्या गर्दै ‘पदकहरूको नाकमा कालो पोतेको’ टिप्पणी गरेका छन्।

सातौँ संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले सरकारले वितरण गरेको विभूषणप्रति टिप्पणी गरेका हुन्।

संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरूले गर्व गर्न पाउनुपर्ने र घाइतेहरूले सम्मानित हुन पाउनुपर्नेमा नेताका श्रीमती, बुबा र छोराछोरीले पाएको भन्दै असन्तुष्टि जनाए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पितालाई पदक दिएको प्रति ओलीले व्यङ्ग्य गरे। सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले भने, ‘‘आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’’

आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरूलाई ठूल्ठुला पदक दिएको उनले बताए। ‘‘झगडियाहरू सम्मानित, तथानाम बहस गर्नेहरू सम्मानित, जे पायो त्यही बोल्नेहरू सम्मानित, २-४ जना छुटेको जस्तो लाग्यो, किन छोडेको होला ?’’ ओलीले भने, “मुद्दा जिताइदिने, हराइदिने सम्मानित।’’

बाहिर म पदको भोको होइन, जनताका लागि हुँ भन्नेहरूले मौका पाउँदा आफ्नालाई मात्र हेरेको उनले बताए। ओलीले अघि भने, ‘‘अलङ्कार, पदक, विभूषणहरूको नाकमा कालो पोतेको। ती विभूषणहरूले लज्जा मानेको हेर्नुस् त।’’

उनले भने, ‘‘लजाइराखेका छन् आज मानपदवीहरू। क्या घाँटीमा पुगिने भयो बा। बोल्न सक्ने भए उफ्रिन्थे ती। तर बोल्न सक्दैनन्।’’

गठबन्धन दलले अहिले लोकतन्त्रलाई मजाक बनाएको समेत ओलीले टिप्पणी गरे। संसद्को दुई तिहाई अधिकारलाई व्यवस्था गर्दै संविधान व्याख्याको नाममा संशोधन भइरहेको बताए। ओलीले भने, ‘‘जुन देशको लागी खतरनाक छ।’

साथै उनले सभामुख र निर्वाचन आयोगले निष्पक्ष भूमिका खेल्न नसकेको भन्दै आलोचना गरे। एमाले फुटाउनका लागि सभामुख र निर्वाचन आयोगले अलोकतान्त्रिक असंवैधानिक काम गरेको आरोप थियो। ‘‘सम्मानित कुर्चीबाट अस्वभलिय काम नहोस् ’’,  उनले भने, “यी संस्थाहरुले आफ्नो मर्यादा राख्न नसके संविधान कानुनको खोस्टोमा परिणत हुन्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved