दुई युवाको भारतबाट उद्धार

नेपालभ्युज

दुई युवाको भारतबाट उद्धार
सांकेतिक तस्बिर

हेटौडा । अपहरणमा परेका हेटौडाका दुई युवालाई भारतबाट उद्धार गरिएको छ। अपहरण भएको तीन दिनपछि भारतीय प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले उनीहरूलाई नेपाल ल्याएको हो।

हेटौडा उपमहानगरपालिका–९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगरलाई उद्धार गरिएको मकवानपुर प्रहरीले जनाएको छ। दुवैलाई सकुसल उद्धार गरी आइतबार परिवारको जिम्मा लगाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। श्रेष्ठ र रानालाई भदौ ३ गते राति साढे ९ बजे हेटौडा बसपार्कबाट तीन जना भारतीयले अपहरण गरेका थिए।

अपहरण गरेर उनीहरूलाई भारत लगेको खुलेपछि भारतीय प्रहरीको सहयोगमा शनिबार राति भारतको बिहार राज्यको मोतिहारीबाट अपहरण मुक्त गरिएको प्रहरीले जनाएको छ। यसक्रममा भारतीय प्रहरीले अपहरणमा संलग्न दुई जनालाई दुई थान हतियारसहित नियन्त्रणमा लिएको बताइएको छ।

प्रहरी नायव उपरीक्षक रिमालले भने, ‘अपहरण मुक्त दुवै युवा लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ। अपहरण गर्नेहरु पनि चिनजानेकै हुन्। अपहरण भएको दिन उनीहरूसँगै बसेर कुराकानी भएको देखिएको छ।’ उनका अनुसार अपहरणकारीले उनीहरूसँग प्रतिव्यक्ति पाँच लाख भारतीय रुपैयाँ फिरौती मागेका थिए। फिरौती नपाए मिर्गाैला बेचिदिने भन्दै श्रेष्ठ र रानालाई यातनासमेत दिइएको बताइएको छ। यसबारेमा अझै विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved