काठमाडौं। काठमाडौं। प्राकृतिक प्रकोपका कारण काठमाडौंबाट जिल्ला फर्किन कठिनाइ बेहोरेका उम्मेदवारहरूले निर्वाचन आयोगकै केन्द्रीय कार्यालयमा मनोनयन दर्ता गराउन पाउने भएका छन्।
टिकट लिनका लागि काठमाडौं आएका र लगातारको वर्षाका कारण जिल्ला फर्किन कठिनाइ बेहोरेका उम्मेदवारहरूले आयोगमै मनोनयन दर्ता गर्न सक्ने ब्यवस्था आयोगले गर्न लागेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शनिबार पत्रकार सम्मेलन गरी कान्तिपथस्थित केन्द्रीय कार्यालयमा बुझाइएको मनोनयन पत्र आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा स्थानान्तरण गरिदिने जानकारी दिए।
‘आफ्नो क्षेत्रको निर्वाचन कार्यालयमा जान उम्मेदवारहरूलाई कुनै पनि कठिनाइ भएमा उहाँहरूले निर्वाचन आयोगको कार्यालयमा मनोनयन पत्र बुझाउन सक्नुहुन्छ। हामी त्यसलाई सम्बन्धित कार्यालयमा स्थानान्तरण गरिदिन्छौं,’ उनले भने।
बाढी तथा पहिरोका कारण जिल्ला जान समस्या रहेको गुनासो बढेपछि आयोगले यस्तो प्रबन्ध मिलाएको हो। प्राकृतिक प्रकोपकै कारण देखाउँदै दलहरूले आयोगलाई मनोनयन दर्ताको समय धकेल्न पनि आग्रह गरेका थिए।
आयोगले दलहरूको आग्रहलाई अस्वीकार गर्दै मनोनयन पत्र दर्तामा आवश्यक पर्ने सबै सहजीकरण गर्ने बताएको छ। यस्तै थपिलयाले भोलि हुने उम्मेदवारी मनोनयनको तयारी पूरा भएको बताए। ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरिसकेको उनले बताए। सबै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर मनोनयन दर्ताको तयारी गरिरहेको उनले जानकारी दिए।
भोलि बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ। उनले भने, ‘उम्मेदवारी दर्ताको समय केही पर सारिदिन केही सुझाव आएका हुन्।
त्यसमा मनोनयन दर्ताको स्थानीय तहमा पनि दुई दिन, समानुपातिकमा पनि दुई दिन दिएको त्यसैले यसमा तीन दिन दिन सुझाव आएको थियो। तर, स्थानीय तहमा दुई दिन दिँदा भोलिपल्ट अबेर मात्रै दलहरू आउनुभयो। त्यसैले आयोगले त्यसलाई दोहोर्याउन चाहेन।’
यस्तै उनले निर्वाचनको दिन व्यवस्थित ढंगबाट सार्वजनिक यातायातका साधन चलाउन दिइने समेत बताए। यसअघिका निर्वाचनमा मतदानको दिन सार्वजनिक यातायातका साधान पुरै बन्द गरिँदै आएको थियो।
आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची आज राति १२ बजेसम्म प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ। आयोगका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा आज बेलुका १२ बजेसम्म सो बन्दसूची प्रकाशन गर्ने काम भइरहेको आयोगले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिक तर्फ प्रतिनिधि सभा तर्फ ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको जानकारी दिए।
थपलियाका अनुसार प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको छ।
बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ। यस्तै लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी परेको छ भने कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ।
सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको छ। प्रतिनिधि सभा र प्रदेश सभा गरी ६ हजार ४ सय ९३ जना उम्मेदवारको अन्तिम रूप दिने कार्य भइरहेको थपलियाले जानकारी दिए।
Facebook Comment
Comment