काठमाडौं। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरूलाई बर्खास्त गर्नुपर्ने शर्त राखेकोमा दुःख व्यक्त गरे।
अध्यक्ष नेपालले नेकपा एमालेले एमसीसीबारे स्पष्ट धारणा नराखेर अहिलेसम्म न पोथी न भालेको चाल देखाइरहेको बताए। उनले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधानहरू नसच्याएसम्म आफूहरू विपक्षमा रहने स्पष्ट पारेको पनि बताए।
त्यस्तै सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिए। नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि मुलुकमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवा सपना मात्र भएको जिकिर गरे।
खनालले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकतावद्ध हुनुपर्ने बताए। एमसीसीबारे अझै देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी सम्भावनाहरूलाई उजागर गर्न आवश्यक रहेको उल्लेख गरे।
Facebook Comment
Comment