जनकपुरधाम। जनकपुरधाममा ‘कलकतियाबाली’ उपनामले चर्चित कलाकार अविनाश झाकी श्रीमती अन्सा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्। जनकपुरधाम उपमहानगरपालिका-१५, नोचपुरस्थित घरमा २१ वर्षीया सदा सोमबार राति मृत अवस्थामा भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, अन्साको शव कोठामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको थियो। प्रहरीले घटना स्थललाई नियन्त्रणमा लिई अनुसन्धान थालिसकेको छ।
गत माघ महिनामा ब्राह्मण समुदायका कलाकार अविनाश झा र दलित समुदायकी अन्सा सदाले अन्तरजातीय विवाह गरेका थिए। धुमधामका साथ विवाह गरेर गृह प्रवेश गरेपछि यो जोडी सामाजिक सञ्जालमा निकै खुसी देखिन्थ्यो। तर, सोमबार राति अचानक अन्सा सदा मृत फेला परेपछि सबै चकित भएका छन्।
अवस्था हेर्दा सदाले आत्महत्या गरेको देखिए पनि पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरी प्रवक्ता सिंहले जनाए । प्रहरीले माइती पक्ष आएपछि शवको पोस्टमार्टम प्रक्रिया अगाडि बढाउने जनाएको छ।
कलाकार अविनाश झा र अन्सा सदाबीच करिब १०-११ दिनदेखि तनाव चल्दै आएको बुझिएको छ। यो जोडी दैनिकजसो फेसबुकमा रिल्स र भिडियो अपलोड गर्ने गर्थे। तर, उनीहरूको अन्तिम भिडियो गत २०२५ जुन १३ (जेठ ३० गते) को मात्रै पोस्ट भएको देखिएको छ। त्यसपछि यो अन्तरालमा उनीहरूको सँगैको कुनै भिडियो अपलोड नभएको र दैनिक भिडियो हाल्ने दुईजनाले भिडियो हाल्न बन्द गरेपछि उनीहरूबीच यो समय तनाव भएको हुन सक्ने आशंका गरिएको छ।
घटनाबारे जानकारी पाएपछि नोचा पोखरी नजिकैको नोचपुरस्थित सुटिङ स्थलमा सर्वसाधारणको भीड लागेको छ। अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार झा श्रीमतीको मृत्युको खबरले अचेत अवस्थामा रहेको बताइएको छ। प्रहरी टोलीले घटनास्थलको मुचुल्का प्रक्रिया अगाडि बढाएको छ।
Facebook Comment
Comment