जनकपुरधाम । मधेश प्रदेश सरकारले आज दिउँसो ४ बजे प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दैछ। आर्थिक मामिला तथा योजनामन्त्री सुनिलकुमार यादवले प्रदेश सभा बैठकमा बजेट पेस गर्ने कार्यसूची रहेको छ।
प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले बजेट सत्र निकै महत्त्वपूर्ण हुने भन्दै सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई समयमै बैठकमा उपस्थित भई सहभागिता जनाउन अनुरोध गरेका छन्।
मुख्यमन्त्री सतिश कुमार सिंहका अनुसार, यस वर्षको बजेटमा कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिइनेछ। प्रदेश सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रमको मूल आधार पनि कृषिमा आधारित रहेको छ। आर्थिक मामिला तथा योजनामन्त्री सुनिलकुमार यादवका अनुसार, प्रदेश सरकारले कृषिलाई समृद्धिको मेरुदण्ड मानी आन्तरिक उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, निजी क्षेत्रको संलग्नता, बीउ–विजनको सुनिश्चितता, सिँचाइ सुविधा, भण्डारण पूर्वाधार विकास, बजारीकरण तथा बीमा प्रणालीलाई प्राथमिकता दिने योजना बनाएको छ।
नवीन कृषि रणनीति अन्तर्गत युवालाई कृषितर्फ आकर्षित गर्ने, कृषिमा व्यावसायिकीकरण ल्याउने, सहकारी तथा निजी क्षेत्रको सहकार्यमा नवप्रवर्तनशील कार्यक्रम सञ्चालन गर्ने सोच प्रदेश सरकारले लिएको छ। स्रोतका अनुसार, यसपटकको बजेटको आकार चालू आर्थिक वर्षकै हाराहारीमा रहने अनुमान गरिएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेश सरकारले ४३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको थियो। तर, प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरको तथ्यांकअनुसार जेठ महिनाको अन्तिम सातासम्म जम्मा ८ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल बजेटको केवल २०.२६ प्रतिशत हो।
खर्च विवरणमा पुँजीगत शीर्षक अन्तर्गत जम्मा ३ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ मात्रै खर्च भएको देखिन्छ, जुन कुल पुँजीगत बजेटको १३ प्रतिशत मात्र हो। यता, चालु खर्चतर्फ ५ अर्ब ७२ करो ८८ लाख रुपैयाँ खर्च भएको छ, जुन विनियोजित बजेटको ३२ प्रतिशत हो। बजेट खर्चको यो निराशाजनक अवस्थाले आगामी वर्षको बजेट कार्यान्वयनमा चुनौती थप्ने देखिन्छ।
यस्तो छ मधेश प्रदेशको विगतका बजेटहरू
आर्थिक वर्ष २०८०/८१: चालु तर्फ १८ अर्ब ५४ करोड र पुँजीगत तर्फ २५ अर्ब ५७ करोड गरी कुल ४४ अर्ब ११ करोड रुपैयाँ।
आर्थिक वर्ष २०७९/८०: चालु तर्फ २० अर्ब ९० करोड र पुँजीगत तर्फ २५ अर्ब ९७ करोड गरी कुल ४६ अर्ब ८८ करोड रुपैयाँ।
आर्थिक वर्ष २०७८/७९: चालु तर्फ १५ अर्ब ३१ करोड र पुँजीगत तर्फ १९ अर्ब ५६ करोड गरी कुल ३४ अर्ब ८८ करोड रुपैयाँ।
आर्थिक वर्ष २०७७/७८: चालु तर्फ १४ अर्ब ७ करोड र पुँजीगत तर्फ २० अर्ब ३६ करोड गरी कुल ३४ अर्ब ४४ करोड रुपैयाँ।
आर्थिक वर्ष २०७६/७७: चालु तर्फ २१ अर्ब ६९ करोड र पुँजीगत तर्फ २२ अर्ब ४४ करोड गरी कुल ४४ अर्ब १४ करोड रुपैयाँ।
आर्थिक वर्ष २०७५/७६: चालु तर्फ ११ अर्ब ९५ करोड र पुँजीगत तर्फ १७ अर्ब २२ करोड गरी कुल २९ अर्ब १७ करोड रुपैयाँ।
आर्थिक वर्ष २०८१/८२ मा चालु तर्फ १५ अर्ब ९४ करोड र पुँजीगत तर्फ २७ अर्ब ८९ करोड गरी कुल ४३ अर्ब ८९ करोड रुपैयाँ। यो बजेट अघिल्लो वर्षको भन्दा ०.५० प्रतिशतले कम हो ।
Facebook Comment
Comment