रौतहट । एक अर्ब ४७ करोडभन्दा बढी बिगो दाबी गरिएका सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख (मेयर) भरतबहादुर थापालाई ५० लाख रुपैयाँ मात्र धरौटी मागिएको छ ।
अदालतमा आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थापालाई ५० लाख रुपैयाँ धरौटीको आदेश दिएको त्यहाँका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए ।
थापाले अदालतमा हाजिर भएर ५० लाख धरौटी बुझाइसकेको उनले बताए ।
डिभिजन वन कार्यालय सर्लाहीले मेयर थापासहित ६ जनाविरुद्ध गएको वैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुंगागिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेको’ शीर्षकमा मुद्दा दायर गरिएको थियो ।
सागरनाथ वन विकास परियोजनाको मातहतमा पर्ने वनको जग्गा अतिक्रमण गरेर बागमती माछा पोखरी (भरत ताल) निर्माण गरेको भन्दै मुद्दा दायर भएको हो । यसपछि थापा फरार रहेका थिए ।
बागमती नगरपालिकाकी निलम्बित उपप्रमुख लीलाकुमारी मोक्तान, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चोधरीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
उनीहरूमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको छ ।
सर्लाही जिल्ला अदालतबाट धरौटी आदेश दिए पनि थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्वन्धी दुईवटा मुद्दा यसअघि नै दायर गरेको थियो । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर हुन् ।
Facebook Comment
Comment