तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्राथमिक सेयर निष्कासनका लागि नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ।
केबलकारले लिमिटेडको प्रतिसेयर एक सय दरका २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।
आईपीओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेन्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माबीच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
कुल तीन अर्ब ४९ करोड लागत रहेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब पन्ध्र करोड छ। चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् चार करोड ३० लाख बराबरको साधारण सेयर परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ भने दश प्रतिशत अर्थात् २१ करोड ५० लाख बराबरको सेयर सर्वसाधारणलाई छुट्याइने छ।
परियोजना निर्माण विसं २०७६ साउन ४ मा सुरु भएको थियो। कम्पनीले केबलकार, पाँचतारे होटल, जीपलाइन, बन्जी जम्प, क्यान्टी लिभर सहितको सिसाको पुल, क्विन टावर लगायतका पूर्वाधार निर्माण गर्दैछ।
कम्पनीले विसं २०८० वैशाख २५ गते केबलकार सञ्चालनका लागि परीक्षण गर्ने तयारी थालेको छ भने पाँचतारे होटल आगामी मङ्सिरमा सञ्चालन गर्ने कम्पनीको तयारी छ।
बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गादेखि बरालथोकसम्म पुग्छ। केवलकार एक किलोमिटर लम्बाइको हुनेछ। -रासस
Facebook Comment
Comment