काठमाडौं । भारतमा दशकौं लामो निर्वासित जीवन बिताइरहेकी बंगलादेशी लेखिका तसलिमा नसरिनले प्रधानमन्त्रीबाट राजीनामा गरी देश छोडेकी अवामी लिग नेतृ शेख हसिना वाजेदप्रति कठोर टिप्पणी गरेकी छन् ।
सामाजिक सञ्जाल एक्समा उनले भनेकी छन्–‘हिजो मलाई लखेट्यौ, आज आफैँ देश छोडेर भाग्यौं ।’
लेखिका नसरिनले बंगलादेशको पछिल्लो परिस्थितिका लागि हसिना आफैँ जिम्मेवार रहेको बताएकी छन् । उनले भनेकी छन्–‘हसिनले राजीनामा दिएर देश छोड्न पर्ने स्थिति उत्पन्न हुनुमा उनी आफैँ जिम्मेवार छिन् । उनले इस्लामिक कट्टरपन्थीहरुलाई हुर्किन दिइन । आफ्ना मान्छेलाई भ्रष्टाचारमा सामेल गराइन ।’
सन् १९९२ मा भारतमा बाबरी मस्जिद विध्वंसपछि भड्किएको साम्प्रदायिक दंगामा पीडित एक बंगलादेशी हिन्दू परिवारको कथामा उनले ‘लज्जा’ उपन्यास लेखेकी थिइन ।
सन् १९९३ मा प्रकाशित उनको यो उपन्यास बंगलादेशमा प्रतिबन्धित भएको थियो । इस्लामिक कट्टरपन्थी समूहले ज्यान मार्ने धम्की दिएपछि लेखिका नसरिन सन् १९९४ मा बंगलादेश छोड्न बाध्य भएकी थिइन । उनी नर्वे र बेलायत हुँदै भारतमा आएर निर्वासित जीवन बिताइरहेकी छन् ।
नसरिनले सन् १९९९ मा एक पटक आफ्नी बिरामी आमालाई भेट्न गएको र हसिना शासनले त्यसपछि उनलाई कहिल्यै देश फर्किन नदिएको उल्लेख गरेकी छन् ।
पछिल्लो राजनीतिक परिवर्तनमा समेत इस्लामिक कट्टरपन्थीको हात हुन सक्ने उनको आशंका छ । उनले भनकी छन्–‘जुन इस्लामिक कट्टरपन्थी समूहलाई खुशी पार्न उनले मलाई देशबाट धपाइन र कहिल्यै फर्किन दिइनन्, आज तिनै विद्यार्थी आन्दोलनमा सामेल छन् । तिनैले हसिनालाई देश छोड्न बाध्य बनाए ।’
उनले आफ्नो मातृदेशको भविष्य र धार्मिक सहिष्णुताको चिन्ता समेत गरेकी छन् । नसरिनले अगाडि भनेकी छन्–‘बंगलादेश पाकिस्तानजस्तो हुनु हुँदैन । सेनाले शासन गर्नु हुँदैन । बंगलादेश धर्म निरपेक्ष राज्य हुनु पर्दछ ।’
पछिल्ला घटनाक्रमपछि त्यहाँ ४ वटा हिन्दू मन्दिर भत्काइएको समाचार छ । अल्पसंख्यक हिन्दू समुदायको भविष्यलाई लिएर विश्वव्यापी चिन्ता उत्पन्न भएका छन् ।
यी पनि पढ्नुहोस :
Facebook Comment
Comment