काठमाडौं । बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेकाे केही घण्टामै राष्ट्रपति मोहम्मद शाहबुद्दीनले जेलमा रहेकी विपक्षी नेता तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई रिहा गर्न आदेश दिए ।
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की अध्यक्षसमेत रहेकी जिया अहिले रिहा भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । अब उनलाई देशको भावि प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको छ । बंगलादेशी सेनाले लोकतान्त्रिक अन्तरिम सरकारलाई सत्ता हस्तान्तरण गर्ने वाचा गरेको छ ।
श्रीमानको हत्यापछि राजनीतिमा प्रवेश
हसिनाकी कट्टर प्रतिद्वन्द्वी मानिने ७८ वर्षीया जिया प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष हुन् । उनका पति जियाउर रहमान सन् १९७७ देखि १९८१ सम्म बंगलादेशका राष्ट्रपति थिए ।
बंगलादेशका राष्ट्रपिता मुजिबुर रहमानको सन् १९७५ को सैनिक विद्रोहमा हत्या भएको थियो । यो ‘कू’ पछि बंगलादेशको सेनाले सन् १९७७ मा रहमानलाई सत्ता हस्तान्तरण गरेको थियो । यही कारणले सेनासँग जियाको परिवारको सम्बन्ध निकै नजिकको मानिन्छ । रहमानले सन् १९७८ मा बीएनपीको स्थापना गरेका थिए ।
जियाको राजनीतिक करियर पति रहमानको हत्या भएपछि सुरु भएको थियो । सन् १९८१ मे ३० मा सैनिक ‘कु’ का क्रममा रहमानको हत्या भएको थियो । जिया सन् १९८२ जनवरी २ मा बीएनपीमा सामेल भएकी थिइन् ।
देशको पहिलो महिला प्रधानमन्त्री
जिया सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनिन् । पाकिस्तानकी तत्कालिन प्रधानमन्त्री बेनजिर भुट्टोपछि जिया प्रधानमन्त्री बन्ने दोस्रो मुस्लिम महिला हुन् । उनले ५ वर्ष १० दिन (सन् १९९१ मार्च २०-१९९६ मार्च ३०) सरकारको नेतृत्व गरिन् ।
त्यसपछि मोहम्मद हबिबुर रहमान ८५ दिने प्रधानमन्त्री बने । लगत्तै भएको आम निर्वाचनमा अवामी लिगले चुनाव जित्यो र शेख हसिना पहिलो पटक प्रधानमन्त्री बनिन् ।
सन् २००१ मा फेरि सत्तामा
सन् २००१ मा भएको आम निर्वाचनमा जियाको पार्टीले चार दलसँग मिलेर चुनाव लडेको थियो । उनी दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भइन् । ५ वर्ष १९ दिन शासन चलाएर सन् २००६ अक्टोबर २९ मा जियाले पदबाट राजीनामा दिएकी थिइन् ।
यसपछि खालिदा जियाको समस्या बढ्यो । सन् २००७ को चुनाव स्थगित हुनुको कारण राजनीतिक हिंसा र आन्तरिक कलह थियो । जसका कारण सेनाले कार्यवाहक सरकारलाई नियन्त्रणमा लियो । यसै क्रममा खालिदा जिया र उनका दुई छोरामाथि भ्रष्टाचारको आरोप लागेको थियो ।
उनलाई भ्रष्टाचार मुद्दामा जेल पठाइयो । तर, उनले आफूमाथि दर्ता भएका सबै मुद्दा राजनीति प्रेरित भएको बताएकी थिइन् ।
जिया र हसिनाबीच विगत केही दशकदेखि प्रधानमन्त्री पदका लागि लडाइँ भइरहेको छ । त्यसैले बंगलादेशका जनताले दुई नेताबीचको लडाइँलाई ‘बेगम युद्ध’ भन्छन् ।
१७ वर्षको सजाय
सन् २०१८ मा बंगलादेश नेसनलिस्ट पार्टीका अध्यक्षलाई भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो । उनी सन् २०१८ देखि जेल सजाय काट्दै छिन् ।
धेरै स्वास्थ्य समस्याको सामना गरिरहेकी जिया आफ्नो उपचारका लागि बारम्बार विदेश जान्थिन् । स्वास्थ्यका कारण उनलाई पछिल्लो पटक अस्पताल भर्ना गरिए पनि नजरबन्दमै राखिएको थियो ।
रिहा भएपछि पनि उनी अहिले अस्पतालमा भर्ना भएकी छन् ।
भारतसँग तिक्तता, पाकिस्तान र चीनप्रति सहानुभूति
यदि बंगलादेशको सत्ता खालिदा जियाको हातमा गयो भने यो भारतका लागि तनावको विषय हुनेछ । किनभने खालिदा सत्तामा हुँदा भारत र बंगलादेशबीचको सम्बन्ध राम्रो थिएन ।
भनिन्छ कि खालिदाको झुकाव पाकिस्तानतर्फ बढी छ र उनको पार्टी बीएनपी कट्टरपन्थीले भरिएको छ, जुन भारतको लागि तनाव बन्न सक्छ । यससँगै खालिदा जिया पनि चीनको समर्थक भएको बताइएको छ ।
यस्तो अवस्थामा खालिदा जिया बंगलादेशको प्रधानमन्त्री बनिन् भने पाकिस्तान र चीनका लागि खुसीको खबर हुनेछ । बंगलादेशको भावी प्रधानमन्त्री को बन्ने भन्ने अहिले नै स्पष्ट भइसकेको छैन ।
प्रधानमन्त्री हुँदा जियाले दुईपटक मात्रै भारतको औपचारिक भ्रमण गरेकी थिइन् । उनले पहिलो पटक २६ देखि २८ मे १९९२ सम्म भारत भ्रमण गरेकी थिइन् । यसपछि उनले २० देखि २२ मार्च २००६ सम्म भारत भ्रमण गरिन् ।
यससँगै उनले आफ्नो दुवै कार्यकालमा चार पटक पाकिस्तान र दुई पटक चीनको भ्रमण गरेकी थिइन् । यसले चीन र पाकिस्तानप्रति जियाको प्रेमलाई स्पष्ट रूपमा झल्काउँछ ।
यो पनि-
बंगलादेशमा संसद् विघटन
को हुन् मोहम्मद युनुस ? जसलाई बंगलादेशको नेतृत्व दिने चर्चा छ
कस्तो हो बङ्गलादेशको आर्थिक उदय ? यो कति तर्कसङ्गत छ ?
हसिना भागेको भोलिपल्टै रिहा भइन् बीएनपीकी अध्यक्ष जिया
पलाइसे रे पलाइसे हसिना पलाइसे !
शेख हसिना : शान्त नेताको तानाशाही शासन, विद्यार्थीलाई कम आँक्दा लज्जास्पद बर्हिगमन
हसिनाको उन्माद र खालिदा जियाको आँसुमा डुबेको बङ्गलादेशी लोकतन्त्र
हसिनाविरुद्ध ‘हसिन क्रान्ति’ : एक शब्दचित्र
Facebook Comment
Comment