दुई बेगमको लडाइँ

हसिनाको उन्माद र खालिदा जियाको आँसुमा डुबेको बङ्गलादेशी लोकतन्त्र

सन् १९९१ मा खालिदा जिया देशकै पहिलो महिला प्रधानमन्त्री मात्र हैन, मुस्लिम विश्वमै पाकिस्तानकी बेनजिर भुट्टोपछि दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन् । इस्लामिक समाजमा बहुदलीय लोकतन्त्र पुनर्स्थापित हुनु र ‘दुई बेगम’ दुई प्रमुख दलका प्रमुख नेता हुनु एक गजबको संयोग मानिएको थियो । तर, त्यससँग जोडिएका दूर्भाग्य उत्तिकै कठोर बनेर देखा परे ।

हसिनाको उन्माद र खालिदा जियाको आँसुमा डुबेको बङ्गलादेशी लोकतन्त्र

काठमाडौं । आइतबार बङ्गलादेशमा राष्ट्रिय संसद्‌‌‍‍‍‌‌को निर्वाचन सम्पन्न भयो । यदि आवधिक निर्वाचन हुनु मात्र पर्याप्त हो भने त्यहाँ लोकतन्त्र जीवित छ भन्नुपर्ने हुन्छ । तर, जे-जस्तो पृष्ठभूमिमा जे-जस्तो निर्वाचन भयो, त्यसले बङ्गलादेशी लोकतन्त्र मर्दै गएको प्रमाण दिन्छ । लोकतन्त्रिक शासन प्रणालीभित्रै लोकतन्त्र कसरी मर्दछ वा मारिन्छ भन्ने बङ्गलादेशले पुष्टि गरेको छ ।

र, लोकतन्त्रको ‘हत्या’ भनौँ वा यस्तो ‘दुर्दशा’ हुनुमा जिम्मेवार छिन् तिनै व्यक्ति शेख हसिना वाजेद जो सन् २००९ यता निरन्तर सत्तामा छिन् ।

सन् २००८ को आम निर्वाचन अघि उनी सन् १९९६ मा पहिलोपटक प्रधानमन्त्री भएकी थिइन् । शेख हसिना वाजेदको प्रधानमन्त्रीत्वको कूल समय दुई दशक पुगेको छ । आइतबार सम्पन्न निर्वाचनपछि उनी पाँचौँपटक बङ्गलादेशको प्रधानमन्त्री हुँदैछिन् । यदि कुनै नाटकीय वा आकस्मिक घटना भएन भने उनको शासनकाल २५ वर्षको हुनेछ ।

बहुदलीय संसदीय प्रणाली भएको देशमा कुनै प्रधानमन्त्रीको २५ वर्षे शासनकाल आफैमा दुर्लभ घटना हो ।

शेख हसिना बङ्गलादेशका ‘संस्थापक पिता’ शेख मुजिवर रहमानकी छोरी हुन् । मुजिवर रहमानलाई यद्यपि उच्च सम्मानका साथ ‘बंगबन्धु’ भनिन्छ । रहमान इस्लामिक विश्वमा सर्वाधिक उदार, नरम र लोकतान्त्रिक राजनेतामध्ये एक मानिन्थे । उनकै नेतृत्वमा सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बङ्गलादेश बनेको थियो ।

सन् १९७५ अगष्ट १५ को सैनिक ‘कू’ मा रहमान परिवार मारियो । हसिनाले मातापिता र तीन दाजुभाइ गुमाइन् । बङ्गलादेशको राजनीतिमा रहमान परिवार ‘लोकतन्त्रको प्रतीक’ जस्तो थियो । सन् १९८१ मा भारत निर्वासनबाट स्वदेश फर्किएकी हसिनाले सैनिक शासनविरुद्ध लामो सङ्घर्ष गरेकी थिइन् ।

आज उनलाई विश्व सञ्चारमाध्यमले एक ‘निर्वाचित अधिनायक’ का रूपमा चित्रण गर्दैछन् । आइतबारको निर्वाचन प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनालिष्ट पार्टी (बिएनपी) र उसका सहयोगी दलले बहिष्कार गरेका थिए । र, सरकारी तथ्याङ्कमै जम्म्माजम्मी ४० प्रतिशत मात्र मतदान भएको थियो । चुनावी अनियमितता र धाँधलीको प्रभावलाई समेत गणना गर्ने हो भने ३० प्रतिशतभन्दा बढी मतदान नभएको हुनसक्ने ठानिन्छ ।

प्रमुख प्रतिपक्षी दलले नै बहिष्कार गरेको र मुश्किलले ४० प्रतिशत औपचारिक मतदान भएको चुनावलाई के लोकतान्त्रिक निर्वाचन मान्न सकिन्छ ?

निर्वाचनको पृष्ठभूमिमा भएको हिंसा र दमन अर्को महत्त्वपूर्ण पाटो हो, जसले लोकतन्त्रको भविष्यलाई चुनौती दिन्छ । गत अक्टोबरमा स्वतन्त्र तथा निष्पक्ष चुनावी सरकारको माग गर्दै भएका विपक्षी प्रर्दशनमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । १० हजारभन्दा बढी विपक्षी नेता तथा कार्यकर्ता जेलमा छन् । सार्वजनिक बौद्धिकमाथि ठूलो दमन र अत्याचार गरिएको छ । यहाँसम्म कि ८३ वर्ष पुगेका नोबल पुरस्कार विजेता मोहम्मद युनिसमाथि समेत हसिना सरकारले मुद्दा लगाएको छ ।

जियाउर रहमान परिवार बङ्गलादेशको अर्को राजनीतिक परिवार हो, जसको नेतृत्व बेगम खालिदा जियाले गर्छिन् । उनी सन् १९८१ मे ३० को एक सैनिक विद्रोहमा मारिएका तत्कालीन राष्ट्रपति जियाउर रहमानकी पत्नी हुन् । रहमानले बिएनपीको स्थापना गरेका थिए ।

७८ वर्षकी खालिदा जियामाथि १७ वर्षको जेल सजाय सुनाइएको छ । उनका छोरा तथा विपक्षी दलका कार्यवाहक अध्यक्ष तारिक रहमान सन् २००९ पछि लन्डनमा निर्वासित जीवन बताइरहेका छन् । उनीमाथि ७ वर्षको जेल सजाय सुनाइएको छ ।

सन् १९८० को दशकमा यी ‘दुई महिला’ शेख परिवारकी छोरी शेख हसिना वाजेद र जियाउर रहमान परिवारकी विधवा बेगम खालिदा जियाले मिलेर सैनिक तानाशाहीविरुद्ध सङ्घर्ष गरेका थिए । त्यही सङ्घर्षको बलमा सन् १९९० मा तत्कालीन सैनिक शासक हुसेन मोहम्मद एर्सादको शासन अन्त्य भई बहुदलीय संसदीय लोकतन्त्रको पुनर्स्थापना भएको थियो ।

त्यसपछिका दिनमा बङ्गलादेशमा अनौठो राजनीतिक परिदृष्य सृजना भयो । सन् १९९१ को पहिलो चुनाव बिएनपीले जितेको थियो र बेगम खालिदा जिया प्रधानमन्त्री बनिन् । तर, अवामी लिग र बिएनपी, शेख हसिना र बेगम खालिदा जिया बीचको सत्ता सङ्घर्ष तीव्र हुँदै गयो । यी दुई दल र नेताले संसदीय प्रणालीका लोकतान्त्रिक दलको सीमा नाघेर अतिरिक्त शक्ति सङ्घर्ष गर्न थाले ।

यो सङ्घर्षलाई ‘टू-लेडी डेमोक्रेसी’ वा ‘ब्याटलिङ बेगम्स’ भनिन्थ्यो । यो सङ्घर्षमा सन् २००८ को चुनावपछि शेख हसिना बाजेदले निर्णायक बाजी मारिन् । उनी अहिले ७६ वर्षकी छन् । अर्थात् उनकी प्रमुख प्रतिस्पर्धी वा राजनीतिक शत्रु बेगम खालिदा जिया भन्दा दुई वर्ष कम । दुई बृद्धा महिलाको शक्तिसङ्घर्षले करिब १७ करोड जनसंख्या भएको एक राष्ट्रको लोकतन्त्रलाई सङ्कटमा पारिदिएको छ ।

हसिनाको भागमा विजयको उन्माद परेको छ । तर, उनको प्रधानमन्त्रीत्वकाललाई इतिहासले कसरी चित्रण गर्ला, यो प्रश्न भने निक्कै बलियो छ । देशकै संस्थापक पिताकी छोरी र एक लोकतान्त्रिक परिवारकी सदस्यका रूपमा हसिना प्रवृतिको राजनीतिले ऐतिहासिक सम्मान पनि पाउला कि सत्ता मात्रै ?

बेगम खालिदा जिया भने एक दुर्दान्त नियतिको सामना गर्दैछिन् । हसिनाको विजय उन्माद र हाँसोबीच बेगम खालिदा जिया आँशुमा डुबेकी छन् । यो आँशुमा जियाउर रहमान परिवारको दूर्भाग्य मात्रै हैन, बङ्गलादेशी लोकतन्त्रको अंशसमेत देखिन्छ ।

सन् १९९१ मा खालिदा जिया देशकै पहिलो महिला प्रधानमन्त्री मात्र हैन, मुस्लिम विश्वमै पाकिस्तानकी बेनजिर भुट्टोपछि दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन । इस्लामिक समाजमा बहुदलीय लोकतन्त्र पुनर्स्थापित हुनु र ‘दुई बेगम’ दुई प्रमुख दलका प्रमुख नेता हुनु एक गजबको संयोग मानिएको थियो । तर, त्यससँग जोडिएका दूर्भाग्य उत्तिकै कठोर बनेर देखा परे ।

प्रधानमन्त्री शेख हसिना वाजेदको दल अवामी लिगले आइतबार सम्पन्न संसदीय निर्वाचनमा बहुमत हासिल गरेको छ । उनी पाँचौँपटक प्रधानमन्त्री हुने निश्चित भएको छ । तर, त्यहाँ लोकतन्त्रको भविष्यबारे भने चिन्ता उत्पन्न भएको छ।

शेख हसिनाको शासनकालमा बङ्गलादेशका आर्थिक सूचकमा केही सुधार भएका छन् । तर, इस्लामिक कट्टरपन्थ, धार्मिक तथा राजनीति असहिष्णुता, कुशासन र भ्रष्टाचार भने उत्तिकै बढेका छन् । आइतबार सम्पन्न निर्वाचनलाई धेरैले विश्वको आँखामा भ्रम छर्न शेख हसिना अधिनायकवादले रचेको नाटक ठान्दछन् ।

बङ्गलादेशमा मात्रै हैन, समग्र दक्षिण एशियामै लोकतन्त्रको नियति सुखद तथा भविष्य त्यति सहज देखिँदैन । अफगानिस्तानमा इस्लामिक कट्टरपन्थी तालिबान सत्तामा छ । श्रीलंका राजपाक्षे परिवारवाद र आर्थिक सङ्कटले थला परेको छ । पाकिस्तानको राजनीतिक तथा आर्थिक भविष्यबारे यसै भन्न सकिने अवस्था छैन । भुटान राजतन्त्रको छायाँमा अर्ध-लोकतान्त्रिक मुलुक हो भने भारतीय लोकतन्त्रका प्रवृतिबारे अनेक आकलन र विश्लेषण रहँदै आएका छन् ।

लोकतान्त्रिक पद्धतिको सुनिश्चितता, स्थायित्व र आर्थिक विकासका दृष्टिले संसारकै नाजुक क्षेत्र बन्नु सार्क क्षेत्रको दूर्भाग्य हो । बङ्गलादेशमा लोकतन्त्रको सङ्कट समग्र दक्षिण एशियाकै लोकतन्त्रको लागि चिन्ताको विषय हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved