हसिनाविरुद्ध ‘हसिन क्रान्ति’ : एक शब्दचित्र

क्रान्तिको चरित्र नै यस्तै हुन्छ । यो कतिखेर कुन निहुँमा भड्किन्छ भन्न सकिँदैन । तर, क्रान्तिको पृष्ठभूमिमा भने घटनाक्रमको लामो शृङ्खला हुन्छ । ‘हसिन क्रान्ति’ ले हसिनाको राजनीतिक जीवनको प्रारम्भिक गौरव समाप्त गरिदिएको छ । उनी एक बदनाम र देश छोडेर भाग्न अभिशप्त शासकका रूपमा चित्रित भएकी छन् ।

हसिनाविरुद्ध ‘हसिन क्रान्ति’ : एक शब्दचित्र

सन् २०२४ अगष्ट ५ सोमबार । विश्व क्रान्तिको इतिहासमा एक नयाँ मिति थपिएको छ । बंगालादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको शासनविरुद्ध ‘हसिन क्रान्ति’ भएको छ ।

‘हसिन’ अर्थात् सुन्दर । थोरै दिनको जनविद्रोहबाट लामो शासनको अन्त्य । शान्तिपूर्ण जनप्रदर्शनबाटै सत्ता परिवर्तन ।

हसिनाको पछिल्लो शासनकाल १५ वर्ष लामो भइसकेको थियो । र, यो अझै एक दशक लम्बिन सक्ने सम्भावना थियो । हसिनाको शासनकालमा आर्थिक वृद्धिदर तुलनात्मक रूपमा राम्रो देखिए पनि राष्ट्रिय जीवनका अरु सबै पक्ष निराशाजनक थिए ।

सबैभन्दा दुखद् कुरा; उनले लोकतन्त्रको नाममा त्यसकै हत्या गरिरहेकी थिइन् । उनी एक लोकतान्त्रिक क्रान्तिकारी परिवारकी सदस्य थिइन् तर, आफैँ ‘लोकतन्त्रको हत्यारा’ बनिरहेकी थिइन् ।

सत्ता र शक्तिको उन्मादले उनलाई लोकतन्त्रका आधारभूत मूल्य-मान्यता र नैतिक मापदण्डबाट क्षयीकृत र पतित गरिरहेको थियो ।

हसिना बंगलादेशका ‘संस्थापक पिता’ शेख मुजिबुर रहमानकी छोरी हुन् । मुजिबुर रहमानलाई उच्च सम्मानका साथ ‘बंगबन्धु’ भनिन्छ । बंगलादेशी जनता रहमानलाई असाध्यै सम्मान गर्थे । विश्व राजनीतिमा पनि उनको आफ्नै प्रकारको ख्याति र प्रतिष्ठा थियो ।

रहमान इस्लामिक विश्वमा सर्वाधिक उदार, नरम र लोकतान्त्रिक राजनेतामध्ये एक मानिन्थे । उनकै नेतृत्वमा भएको आन्दोलनबाट सन् १९७१ मा पाकिस्तानबाट ‘पूर्वी पाकिस्तान’ छुट्टिएको थियो र ‘बंगलादेश’ बनेको थियो । बंगलादेश अर्थात् बंगाली जनताको भूमि ।

विश्व मानचित्रमा एक नयाँ देश बनेको थियो । नयाँ राष्ट्रियताको उदय भएको थियो । बंगाली जनताको पहिचान विश्वव्यापी रूपमा स्थापित भएको थियो ।

बंगाल थियो, बंगाली थिए तर, बंगलादेश थिएन । बंगाल र बंगाली पनि पूर्वी र पश्चिम बंगालमा बाँडिएका थिए । पूर्वी पाकिस्तानको स्वतन्त्रता र बंगलादेशको स्थापना आफैँमा ठूलो राजनीतिक घटना थियो । रहमान परिवार एक सम्मानित तथा ऐतिहासिक राजनीतिक परिवार बनेको थियो ।

स्वतन्त्रतापछि सन् १९७३ मा भएको पहिलो आम निर्वाचनमा रहमानको दल बंगलादेश अवामी लिगले ठूलो जित हात पारेको थियो । शेख मुजिबुर रहमान बंगालादेशको पहिलो राष्ट्रपति बनेका थिए ।

दुर्भाग्यको कुरा, सन् १९७५ अगष्ट १५ को सैनिक ‘कू’ मा रहमान परिवार मारियो । हसिनाले माता, पिता र तीन दाजुभाइ गुमाएकी थिइन् । परिवारका सदस्यमा उनी र बहिनी शेख रिहाना मात्र बाँचेका थिए । उनीहरू विदेशमा थिए ।

सन् १९८१ मा भारत निर्वासनबाट देश फर्किएकी हसिनाले सैनिक शासनविरुद्ध लामो सङ्घर्ष गरिन् । यो अवधिमा उनी ‘लोकतान्त्रिक योद्धा’ को विम्ब बनेकी थिइन् ।

आज तिनै सम्मानित संस्थापक पिता शेख मुजिबुर रहमानका शालिक भत्काइँदैछ । हसिनाको ‘लोकतान्त्रिक योद्धा’ भत्किएको छ र उनी ‘निर्वाचित तानाशाह’ का रूपमा बदनाम भएकी छन् ।

सत्ता र शक्तिको आशक्ति तथा अतिमोहले कुनै बेलाका क्रान्तिकारीलाई कसरी प्रतिक्रान्तिकारी र लोकतन्त्रवादीलाई कसरी अधिनायकवादी बनाउँछ भन्ने राम्रो उदाहरण बनेकी छन् हसिना ।

‘हसिन क्रान्ति’ ले उनको राजनीतिक जीवनको प्रारम्भिक गौरव समाप्त गरिदिएको छ । उनी एक बदनाम र देश छोडेर भाग्न अभिशप्त शासकका रूपमा चित्रित भएकी छन् ।

सन् २००९ देखि हसिना निरन्तर बंगलादेशको सत्तामा थिइन् । उनको यो पछिल्लो कार्यकाल १५ वर्ष लामो थियो । त्यसअघि पनि उनी सन् १९९६ देखि सन् २००१ सम्म पहिलोपटक प्रधानमन्त्री भएकी थिइन् । उनको कूल शासनकाल २० वर्ष भएको थियो ।

यही वर्षको जनवरीमा भएको निर्वाचनमा उनी पाँचौँपटक प्रधानमन्त्री भएकी थिएन । यो कार्यकाल पूरा भएको भएको भए उनको शासनकाल २५ वर्ष लामो हुने थियो । तर, पाँचौँपटक निर्वाचित भएको करिब ७ महिनामा उनले सत्ता मात्र होइन, देश नै छोडेर भाग्नुपर्‍यो ।

क्रान्तिको चरित्र नै यस्तै हुन्छ । यो कतिखेर कुन निहुँमा भड्किन्छ भन्न सकिँदैन । तर, क्रान्तिको पृष्ठभूमिमा भने घटनाक्रमको लामो शृङ्खला हुन्छ । बंगलादेशमा पनि त्यही भएको हो ।

यो क्रान्तिको बहाना भने कथित स्वतन्त्रता सेनानीका सन्तानलाई दिइएको ३० प्रतिशत आरक्षण बन्यो । २०७१ मा स्वतन्त्रता युद्ध भएको देशमा ५३ वर्षपछि उनका नाति-नातिनाका लागि आरक्षण कुनै पनि अर्थमा उचित थिएन । यो एक प्रकारको राजनीतिक आरक्षण थियो, जो संसारमा बिरलै होला ।

प्रधानमन्त्री हसिनाले नयाँ पुस्ताका बंगलादशीलाई ‘मुक्ति योद्धा’ र ‘राजाकार’ (गद्दार) का सन्तान गरी कथित दुई वर्गमा विभाजित गर्न खोजिन् । सत्तारुढ दल अवामी लिगका समर्थक परिवार ‘मुक्ति योद्धाका सन्तान’ का रूपमा पहिलो दर्जाका नागरिक मानिने भए ।

अरुलाई पाकिस्तान समर्थक ‘राजाकार’ का सन्तानका रूपमा दोस्रो दर्जाको व्यवहार गर्न खोजियो । पुस्तौंपुस्ता तिनलाई ‘तिमी देशविरोधी गद्दारका सन्तान हौ’ भन्ने सन्देश दिन खोजियो र यस्तो काम सत्तारुढ दल अवागी लिग र यसकी नेतृ हसिनाका लागि निकै महङ्गो पर्‍यो ।

यस्तो अन्यायपूर्ण र अवैज्ञानिक आरक्षणविरुद्ध विश्वविद्यालयका विद्यार्थीले प्रदर्शन सुरु गरे । अन्ततः घटनाक्रम सोमबारको ‘हसिन क्रान्ति’ सम्म पुग्यो । यसक्रममा ३ सयभन्दा बढी मानिस मारिए । तर, यी क्रान्तिका तात्कालिक घटनाक्रम थिए । भित्रभित्रै भुसको आगो भने धेरै अगाडिदेखि सल्किँदै गएको थियो ।

गत जनवरीमा भएको आम निर्वाचन लोकतन्त्रको हत्याको उत्कर्ष थियो । लोकतान्त्रिक शासन प्रणालीभित्रै लोकतन्त्र कसरी मर्दछ वा मारिन्छ भन्ने एक राम्रो उदाहरण थियो ।

निर्वाचनमा ४१.८ प्रतिशत मात्र मतदान भएको थियो । ५० प्रतिशतभन्दा कम मतदान भएको निर्वाचनको निष्पक्षता र वैधताबारे विश्वव्यापी रूपमा प्रश्न उठेको थियो । प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनालिष्ट पार्टी (बिएनपी ) ले निर्वाचन बहिष्कार गरेको थियो ।

निर्वाचनको पृष्ठभूमिमा विपक्षीमाथि दमन र हिंसाका घटना भएका थिए । यो एक लोकतान्त्रिक राज्यलाई नसुहाउने प्रयोजित र आपत्तिजनक थियो ।

सरकारी तथ्याङ्कमा जम्म्माजम्मी ४१.८ प्रतिशत मात्र मतदान भएको थियो । चुनावी अनियमितता र धाँधलीहरूको प्रभावलाई समेत गणना गर्ने हो भने ३० प्रतिशतभन्दा बढी मतदान भएको थिएन ।

निर्वाचनअघि सन् २०२३ को अक्टोबरमा स्वतन्त्र तथा निष्पक्ष चुनावी सरकारको माग गर्दै भएका विपक्षी प्रर्दशनमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । १० हजारभन्दा बढी विपक्षी नेता तथा कार्यकर्ता जेलमा थिए । सार्वजनिक बौद्धिकमाथि ठूलो दमन र अत्याचार गरिएको थियो । यहाँसम्म कि ८३ वर्ष पुगेका नोबल पुरस्कार विजेता मोहम्मद युनुसमाथि समेत हसिना सरकारले मुद्दा लगाएको थियो ।

जियाउर रहमान परिवार बंगलादेशको अर्को राजनीतिक परिवार हो, जसको नेतृत्व बेगम खालिदा जियाले गर्छिन् । उनी सन् १९८१ मे ३० को एक सैनिक विद्रोहमा मारिएका तत्कालीन राष्ट्रपति जियाउर रहमानकी पत्नी हुन् । रहमानले बिएनपीको स्थापना गरेका थिए ।

जिया अहिले ७८ वर्षकी छन् र १७ वर्षको जेल सजाय सुनाइएको छ । उनका छोरा तथा विपक्षी दलका कार्यवाहक अध्यक्ष तारिक रहमान सन् २००९ पछि लण्डनमा निर्वासित जीवन बताइरहेका छन् । उनीमाथि ७ वर्षको जेल सजाय सुनाइएको थियो ।

सन् १९८० को दशकमा यी ‘दुई महिला’ मिलेर सैनिक तानाशाहीविरुद्ध लडेका थिए । त्यही सङ्घर्षको बलमा सन् १९९० मा तत्कालीन सैनिक शासक हुसेन मोहम्मद एर्सादको शासन अन्त्य भइ बहुदलीय संसदीय लोकतन्त्र पुनर्स्थापना भएको थियो ।

त्यसपछिका दिनमा बंगलादेशमा अनौठो राजनीतिक परिदृश्य सृजना भयो । सन् १९९१ को पहिलो चुनाव बीएनपीले जितेको थियो र बेगम खालिदा जिया प्रधानमन्त्री बनिन् । तर, अवामी लिग र बिएनपी, शेख हसिना र बेगम खालिदाबीचको सत्ता सङ्घर्ष तीव्र हुँदै गयो । यी दुई दल र नेताले संसदीय प्रणालीका सीमा नाघेर अतिरिक्त शक्तिका लागि सङ्घर्ष गर्न थाले ।

यो सङ्घर्षलाई ‘टू-लेडी डेमोक्रेसी’ वा ‘ब्याटलिङ बेगम्स’ भनिन्थ्यो । यो सङ्घर्षमा सन् २००८ को चुनावपछि अवामी लिग र हसिनाले निर्णायक बाजी मारिन् । उनले बेगम खालिदा जियामाथि एक लोकतान्त्रिक प्रतिस्पर्धीको हैन, दमन र अत्याचारको प्रयोग गरिन् । बंगलादेशी लोकतन्त्र विपक्षविहीन जस्तो हुँदै गयो ।

जनवरीको आम निर्वाचनपछि हसिनाको शासन लामो जान नसक्ने अनुमान गर्न थालिएका थिए । बंगलादेशको राजनीतिक सङ्कट निरन्तर गहिरो हुँदै गइरहेको थियो । यस पटकका विद्यार्थी प्रदर्शनमा विपक्षी दलको समर्थन थियो ।

सवाल यदि आरक्षणको मात्र हुन्थ्यो त सर्वोच्च अदालतको निर्णयपछि प्रदर्शन शान्त हुनुपर्ने थियो । तर, त्यसो भएन । सर्वोच्च अदालतको मुक्तियोद्धा आरक्षण खारेज गर्ने निर्णय, देशव्यापी कर्फ्यूको घोषणा र सेना परिचालनपछि पनि स्थिति नियन्त्रणमा आएन । यसको अर्थ हो कि बंगलादेशमा एक नयाँ राजनीतिक क्रान्ति घटित हुनु अनिवार्य भइसकेको थियो ।

हसिनाको शासनकालमा बंगलादेशका आर्थिक सूचक अवश्य सुध्रिएका हुन् । तर, इस्लामिक कट्टरपन्थको विस्तार, धार्मिक तथा राजनीति असहिष्णुता, कुशासन र भ्रष्टाचारले सीमा नाघेको थियो । त्यहाँ लोकतन्त्र र सुशासनको सम्भावना अन्त्य हुँदै गएको थियो ।

बंगलादेशमा मात्रै हैन, समग्र दक्षिण एशियामै लोकतन्त्र निरन्तर क्षयीकृत र कुण्ठित हुँदै गएको छ । आवधिक निर्वाचनको औपचारिकताले मात्र लोकतन्त्र जीवन्त हुन सक्दैन भन्ने पुष्टि हुँदै गएको छ । केहीअघि निर्वाचित भनिएका शासक नै केही समयपछि चरम अलोकप्रिय भएर जनआन्दोलनद्वारा सत्ताबाट लखेटिँदै छन् ।

सन् २०२१ मा अफगानिस्तानका निर्वाचित राष्ट्रपति असरफ घानी देश छोडेर भाग्न बाध्य भए । त्यहाँ अहिले इस्लामिक कट्टरपन्थी तालिबान सत्तामा छ ।

श्रीलंकाको राजपाक्ष परिवार तमिल विद्रोहको दमनपछि असाध्यै लोकप्रिय भनिएको थियो । राष्ट्रपति गोतावाया राजपाक्षेले सन् २०१९ को नोभेम्बरमा राम्रो मत पाएर चुनाव जितेका थिए । तर, सन् २०२२ को जुलाईमा उनी देश छोडेर भाग्नुपर्‍यो ।

बंगलादेशकी प्रधानमन्त्री हसिना पाँचौँपटक निर्वाचित भएको करिब ७ महिनापछि देश छोड्न बाध्य भएकी छन् । उनले अहिले भारतमा शरण लिएकी छन् ।

हसिना शासनको पतनपछि बंगलादेशको राजनीतिक घटनाक्रम कसरी अघि बढ्छ, त्यो अर्को रोचक जिज्ञासाको विषय हो । बंगलादेश बारम्बार सैनिक विद्रोह हुँदै आएको देश हो । त्यहाँ सन् १९७१ यता २९ पटक सैनिक विद्रोहका सफल-असफल प्रयास भएका छन् ।

सन् १९७५ को ‘कू’ पछि सन् १९९० सम्म सैनिक शासन थियो । हसिनाको पतनपछि देश अन्तरिम सरकार र नयाँ निर्वाचनमार्फत लोकतान्त्रिक शासन प्रणालीतिर अभिमुख हुने अपेक्षा गरिएको छ । त्यसो हुन नसके अलोकतान्त्रिक सैनिक शासनको जोखिम बढ्नेछ । र, त्यो बंगलादेशी जनताका लागि नेपाली उखान ‘तावाबाट उम्केर भुङ्ग्रो’मा भनेझैँ हुन सक्नेछ ।

यी पनि पढ्नुहोस :

बंगलादेशमा संसद् विघटन

को हुन् मोहम्मद युनुस ? जसलाई बंगलादेशको नेतृत्व दिने चर्चा छ

कस्तो हो बङ्गलादेशको आर्थिक उदय ? यो कति तर्कसङ्गत छ ?

हसिना भागेको भोलिपल्टै रिहा भइन् बीएनपीकी अध्यक्ष जिया

पलाइसे रे पलाइसे हसिना पलाइसे !

शेख हसिना : शान्त नेताको तानाशाही शासन, विद्यार्थीलाई कम आँक्दा लज्जास्पद बर्हिगमन

हसिनाको उन्माद र खालिदा जियाको आँसुमा डुबेको बङ्गलादेशी लोकतन्त्र

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved