काठमाडौं । जनवरी २००७ । बंगलादेश सेनाले सत्ता कब्जा गर्यो । दुवै पूर्वप्रधानमन्त्री शेख हसिना र बेगम खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल हालियो ।
सेनाले बंगलादेशका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई कार्यवाहक प्रधानमन्त्री बनाउने प्रयास गर्यो । तर, युनुस त्यति ठूलो जिम्मेवारी लिनबाट पछि हटे ।
१७ वर्षपछि बंगलादेशमा फेरि राजनीतिक उथलपुथल भएको छ । हसिना देश छोडेर भागिन् ।
अब त्यहाँ अन्तरिम सरकार चलाउने जिम्मेवारी फेरि मोहम्मद युनुसकै काँधमा आइपुगेको छ, जसले १७ वर्षअघि प्रधानमन्त्री पद अस्वीकार गरेका थिए । यसपटक भने उनले प्रस्ताव सहजै स्वीकार गरेका छन् ।
उनी अन्तरिम सरकारको प्रमुख बनिसकेका छन् । युनुसको नाम आएपछि विश्वभर उनको चर्चा भइरहेको छ । युनुस अपरिचित व्यक्ति होइनन् । गरिबी उन्मूलनमा उल्लेख्य काम गरेको भन्दै उनले सन् २००६ मा नोवल पुरस्कार पाएका पाएका थिए ।
***
हसिनाका कट्टर प्रतिद्वन्द्वी भनिने युनुस को हुन् ? बंगलादेशको राजनीतिमा उनी कसरी यति ठूलो नाम बने ? १६ वर्षअघि हसिनासँग उनको दुश्मनी कसरी सुरु भयो ? जान्नौं उनको व्यक्तित्व ।
युनुस एक सामाजिक कार्यकर्ता, बैंकर र अर्थशास्त्री हुन् । उनको जन्म सन् १९४० जुन २८ मा दास र अविभाजित भारतमा भएको थियो । उनको जन्म बङ्गालको चटगाउँमा हाजी मोहम्मद शौदागरको घरमा भएको थियो । उनको बुवा गहना व्यापारी हुन् भने आमा गृहिणी ।
ढाका विश्वविद्यालयबाट अर्थशास्त्रमा प्रारम्भिक अध्ययन पूरा गरेपछि युनुस अमेरिका गए । जहाँ उनले पीएचडी गरे र अर्थशास्त्र पढाउन थाले ।
युनुस बंगलादेश स्वतन्त्र भएपछि स्वदेश फर्किए । उनी चटगाउँ विश्वविद्यालयमा अर्थशास्त्र विभाग प्रमुख बने । सो समयमा देशको अवस्था राम्रो थिएन । सन् १९७१ को युद्धपछि बंगलादेशका लाखौं मानिस दिनको दुई छाक खानाको लागि तृष्णा गरिरहेका थिए ।
हरेक दिन गरिबीसँग लडिरहेका मानिसहरूलाई देखेर युनुस निराश भए । यसपछि उनले अर्थशास्त्र पढाउने कामलाई बेकार भने ।
टाइम म्यागजिनसँगको अन्तर्वार्तामा उनले अर्थशास्त्रले मानिसको भोक कसरी मेटाउन सकिन्छ भन्ने कुरा नभनेको बताएका छन् । यसपछि युनुस आफ्नो वरपरका गाउँहरूमा घुम्न थाले र जनताको कल्याणको अवसर खोज्न थाले ।
एक महिलालाई ५ सय रूपैयाँ ऋण दिए, यसले उनको जीवन नै परिवर्तन गरिदियो
द डेली स्टारको रिपोर्टअनुसार एक दिन गाउँमा जाँदा युनुसले आफ्नो झुपडी बाहिर बाँसको टेबुल बनाउँदै गरेकी एउटी महिलालाई देखे । महिलासँग कुरा गरेपछि उनले एक साहूकारबाट ५ सय रूपैयाँ (बंगलादेशी रूपैयाँ) ऋण लिएको पाइयो ।
साहुले उनलाई सो टेबुल कुनै पनि बजारमा नबेच्ने सर्त दिएका थिए । साहुले मनोमानी मूल्यमा यी टेबुलहरू किन्थे र बेच्थे । युनुसले यसलाई व्यवसाय नभइ दासप्रथा हो भन्छन् । जहाँ, साहुले ५ सय रूपैयाँमा महिलाको सीप किनेको बताउँछन् ।
युनुसले ती महिलालाई ५ सय रूपैयाँ दिएर ऋण तिर्न भने । उनले महिलालाई पैसा भएपछि मात्र फिर्ता गर्न भने ।
त्यसपछि युनुसले ४२ महिला समूहलाई ऋण दिए । यसलाई ‘माइक्रोक्रेडिट’ नाम दिइएको थियो । विशेष कुरा यो थियो कि ती महिलाहरूले यो ऋणको लागि कुनै जमानत पनि जम्मा गर्नुपर्दैन थियो ।
यी महिला समूहले चाँडै युनुसको ऋण फिर्ता गरे । यो ऋण दिने प्रणालीको सफलतापछि मात्र बंगलादेशमा ग्रामीण बैंकको आधार सन् १९८३ मा राखिएको थियो ।
युनुसले बनाएको ग्रामीण बैंकले विगत ४० वर्षमा १ करोडभन्दा बढी गरिबलाई ४.३ लाख करोड टका (३.१ लाख करोड भारतीय रूपैयाँ) भन्दा बढी ऋण दिएको छ । तीमध्ये अधिकांश महिला छन् ।
बंगलादेशमा ग्रामीण बैंकको सफलता देखेर अन्य देशहरूले पनि यसलाई अपनाए । अहिले लघु कर्जाको अभ्यास १०० भन्दा बढी देशमा फैलिसकेको छ । अमेरिका जस्ता विकसित देशले पनि यसलाई अपनाएका छन् ।
ग्रामीण बैंकको सफलतापछि युनुसले सन् १९९७ मा ग्रामीण फोन कम्पनी खोलेका थिए । यो कम्पनी बंगलादेशमा प्रि-पेड मोबाइल सेवा सुरु गर्ने पहिलो कम्पनी थियो ।
आज ग्रामीण फोन बंगलादेशको सबैभन्दा ठूलो मोबाइल नेटवर्क कम्पनी हो । यसले बजारको ४८ प्रतिशत ओगटेको छ । यसका ८ करोडभन्दा बढी ग्राहक छन् । सरकारलाई सबैभन्दा बढी कर तिर्ने यो कम्पनी हो ।
नोवल पुरस्कार
युनुसलाई ‘गरिबको साथी’ र ‘गरिबको बैंकर’ भनेर चिनिन थाल्यो । किनकि उनले राजनीतिमा प्रवेश गरेर जनतालाई गरिबीबाट बाहिर ल्याएका थिए । ग्रामीण बैंक र युनुसलाई गरिबी उन्मूलनका लागि सन् २००६ मा नोवल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
सन् २००७ फेब्रूअरी १८ मा युनुसले ‘नागरिक शक्ति’ नामक राजनीतिक पार्टी गठन गरे । उनले यस पार्टीमा स्वच्छ छवि भएका व्यक्तिलाई मात्रै समावेश गर्ने बताएका थिए ।
युनुसले सन् २००८ को चुनाव लड्ने मनसाय राखेका थिए । यसका लागि उनले आफ्नो पार्टीमा ठूला नामहरू थपे, जसमा प्रोफेसरहरू र प्रसिद्ध पत्रकारहरू थिए । तर, त्यसपछि युनुसको कदम पछाडि सेनाको हात रहेको भनिएको थियो ।
नयाँ पार्टी बनाएपछि हसिनासँग शत्रुता
उनी ग्रामीण बैंकसँग जोडिएका थिए । उनलाई ग्रामीण बैंक छोड्न दबाब दिन थालियो । उनको पार्टीमा राजनीतिसँग जोडिएका व्यक्तिहरू थिएनन्, जसका कारण यो पार्टीले खास आकर्षण पैदा गर्न सकेन । यति मात्र होइन उनी अहिले नेताहरूको नजरमा पनि ‘इरिष्ट’ बने ।
हसिनाले युनुसलाई राजनीतिको लागि खतरा मानिन् । नाम नलिइ उनी भन्थिन्, “राजनीतिमा नयाँ आउनेहरू प्रायः खतरनाक हुन्छन्, उनीहरूलाई शङ्काको नजरले हेर्नुपर्छ । उनीहरूले देशको हितभन्दा पनि हानि गर्छन् ।”
पार्टी स्थापना भएको ७६ दिनपछि मे ३ युनुसले पार्टी परित्यागको घोषणा गरे । राजनीतिलाई अलविदा गरिसकेपछि पनि हसिनाले उनलाई शत्रु नै मान्न थालिन् । सन् २००८ मा सरकार गठन गरेलगत्तै हसिनाले युनुसको पछि अनुसन्धान एजेन्सीहरू खटाइन् ।
युनुसको खराब दिन सुरु भइसकेको थियो । उनीमाथि सरकारलाई जानकारी नदिइ विदेशबाट पैसा लिएर दूरसञ्चार नियम उल्लङ्घन गरेको आरोप लगाइयो ।
युनुसविरूद्ध आफ्नै कम्पनीका कर्मचारीले मुद्दा दायर गरेका थिए । त्यसपछि हसिनाले खुलेर युनुसमाथि आक्रमण गर्न थालिन् ।
ज्यान मार्ने धम्की आएपछि अमेरिकी दूतावासमा लुके
हसिनाले युनुसले गरिबलाई उच्च ब्याजदरमा ऋण दिने गरेको आरोप लगाएकी थिइन् । “उनीहरू गरिबका सहयोगी होइनन्, गरिबको रगत चुसिरहेका छन्,” हसिना भन्थिन् ।
त्यसपछि सन् २०११ मा युनुसलाई आफ्नै ग्रामीण बैंकबाट जबरजस्ती निकालियो । अवकाशको उमेर ६० वर्ष पूरा गरे पनि उनी ग्रामीण बैंकको प्रबन्ध सञ्चालक रहेका थिए ।
हसिनाले युनुसलाई विदेशी शक्तिको कठपुतली भएको बताइन् । देशमा केही गडबड हुँदा युनुसलाई दोष दिने गर्थिन् ।
सन् २०१२ मा विश्व बैंकले पद्मा (गंगा) नदीमा पुल निर्माण गर्न कोष दान गर्न अस्वीकार गर्यो । यसबाट हसिना यति रिसाएकी थिइन् कि उनले युनुसले विश्व बैंकलाई भ्रमित गर्न आफ्नो सम्पर्क प्रयोग गरेको बताइन् ।
ज्यान मार्ने धम्की पाएपछि युनुस आफ्नो परिवारसँग ढाकास्थित अमेरिकी दूतावासमा केही समय लुकेर बस्नुपरेको थियो ।
दश वर्षपछि सन् २०२२ मा पद्मा नदीको पुल तयार भयो । यसपछि अवामी लिगको बैठकमा शेख हसिनाले युनुसलाई पद्मा नदीमा डुबाउनु पर्ने जस्तो घृणित अभिव्यक्ति दिएकी थिइन्, ताकि उनले पाठ सिकून् ।
बुबाको कट्टर समर्थक, छोरीको शत्रु
युनुस र हसिनाबीच सधैँ दुश्मनी थिएन । सन् १९९७ मा युनुसले अमेरिकामा एउटा कार्यक्रम आयोजना गरे, जसमा हसिनालाई सह-अध्यक्ष बनाइएको थियो । यसमा हसिनाले युनुसको धेरै प्रशंसा गर्दै उनलाई संसारबाट गरिबी हटाउने व्यक्ति भनेकी थिइन् ।
युनुस हसिनाका पिता शेख मुजिबुर रहमानका कट्टर समर्थक थिए । टेनेसीमा अध्यापन गर्दा युनुसले बंगलादेशको मुक्ति संग्रामको बारेमा सचेतना जगाउन एउटा अखबार खोलेका थिए तर, पदमा उम्मेदवारी दिने उनको निर्णयले हसिनासँगको सम्बन्धमा तनाव उत्पन्न भयो ।
सन् २०२४ जनवरीमा युनुसविरूद्ध १०० भन्दा बढी मुद्दा विचाराधीन थिए । उनलाई भ्रष्टाचार मुद्दामा अदालतले ६ महिना जेल सजाय सुनाएको थियो ।
युनुसले हसिनालाई बंगलादेशको लोकतन्त्रको हत्यारा भनेका छन् । भारतको उक्साहटमा हसिना तानाशाह बने र बंगलादेशमा जबरजस्ती सत्ता हातमा लिएको उनको भनाइ छ ।
Facebook Comment
Comment