नेपाल कबड्डी लिगको खेलाडी छनोट अन्तिम चरणमा

नेपालभ्युज

नेपाल कबड्डी लिगको खेलाडी छनोट अन्तिम चरणमा

काठमाडौं । पहिलोपटक नेपालमा हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) को खेलाडी अक्सनका लागि प्रारम्भिक छनोट अन्तिम चरणमा पुगेको छ ।

फ्रेन्चाइज कबड्डी लिग आगामी जुलाई २० देखि ३० तारिखको बीचमा शुरु हुने आयोजकको तयारी छ । सोही कबड्डी लिगका लागि स्वदेशी खेलाडीको छनोट गरिएको छ । शनिवार काठमाडौंको चमती खेलपार्कमा वागमती प्रदेश र तीन विभागीय टोलीबाट खेलाडी छनोट भएको थियो । चार टोलीबाट कुल ४५ जना प्रारम्भिक खेलाडी छनोट भएको छ ।

अखिल नेपाल कबड्डी संघका महासचिव तथा लिगका डाइरेक्टर अरविन्द कुमार झाको नेतृत्वमा प्रारम्भिक चरणको छनोट भएको हो । नेपालबाट कुल ३०० खेलाडीले कबड्डी लिगका लागि आफ्नो नाम दर्ता गराएका छन् । अहिलेसम्म सुदूरपश्चिमबाट २१ जना, गण्डकी, कर्णाली र लुम्बिनी गरी तीन प्रदेशबाट ४६ जना र सुदूरपश्चिमबाट २१ खेलाडीको छनोट भइसकेको छ ।

अखिल नेपाल कबड्डी संघका महासचिव तथा लिगका डाइरेक्टर अरविन्दकुमार झाले अब कोशी र मधेस प्रदेशबाट छनोट हुन बाँकी रहेको बताए । अक्सनका लागि करिब १७० देखि १८० स्वदेशी खेलाडी छनोट गरिने भएको छ । यसै महिना नै दोस्रो चरणको छनोट काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

यहाँबाट ६० जना स्वदेशी खेलाडी छनोट हुनेछन् । नेपाल कबड्डी लिगका डाइरेक्टर ईप्रसाद राउ र सहभागी ६ फ्रेन्चाइज टोलीका प्रशिक्षकले अन्तिम चरणको छनोट गर्नेछन् । विदेशी २४ जना खेलाडीसहित कुल ८४ खेलाडी अक्सनमा सहभागी गराइने आयोजकको तयारी छ ।

हरेक टोलीमा चार विदेशीसहित कुल १४ खेलाडी समावेश हुनेछ । नेपाल कबड्डी लिगमा कुल ६ फ्रेन्चाइज टोली रहनेछन् । यद्यपि, टोलीको नाम भने निर्धारण गरिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved