मुस्लिम बाहुल्य बस्तीमा ‘ईद’ को रौनक बढ्यो, द्वितियाको चन्द्रमा पर्खिदै ‘इमाम’

नेपालभ्युज

मुस्लिम बाहुल्य बस्तीमा ‘ईद’ को रौनक बढ्यो, द्वितियाको चन्द्रमा पर्खिदै ‘इमाम’

काठमाडौं । हिजरी संवतको रमदान (रमजान) महिना समापन भइरहँदा मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ ।

रमदानभरि रोजा व्रत (उपवास) बसेका मुस्लिम धर्मावलम्बी ईद–उल–फित्र (बोलीचालीमा ईद)को तयारीमा लागेपछि मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो । हिजरी संवतको पात्रोअनुसार रमदान आज सकिएर भोलि बिहीबार शव्वाल महिना सुरु हुँदैछ ।

शव्वालको पहिलो दिन ईद मनाइन्छ ।

इस्लामकोे मुख्य पर्व ईद मनाउन टाढाटाढा रहेका परिवारजन घर आएका छन् । भोलि मनाइने ईदका लागि  सामान  जुटाउन लागिएको महोत्तरी मटिहानी–८ नुरी बस्तीका २५ वर्षीय मोहम्मद इसराफिल राइनले बताए ।

हिजरी संवत्को पात्रोले आज रमदान सकिने उल्लेख गरे पनि इस्लाम परम्परामा सम्बन्धित क्षेत्रका अधिकारप्राप्त इमाम (धर्मगुरु)ले भरे साँझ द्वितीयाको चन्द्रमा देखिएको घोषणा गरेपछिमात्र भोलि ईद मनाउन बाटो खुल्ने भङ्गाहा–४ रामनगरका ५० वर्षीय सहबुल अन्सारीले बताए ।

इमामहरूका अनुसार हिजरी संवत् परम्परामा रमदान नवौँ महिना हो । इस्लाम परम्परामा यसै महिनामा पवित्र कुरान पृथ्वीमा अवतरित भएको मानिन्छ । त्यसैले मुस्लिमहरू रमदान महिनामा दिनभरि केही नखाइ उपवास बसेर सद्विचार, सद्आचरण र सत्कर्ममा लागि रहन अल्लाहसँग पुकारा गर्छन् ।

ईदमा हुनेखानेले गरिबका लागि दान गर्छन् । दानलाई इस्लाम परम्परामा ‘जकात’ भनिन्छ ।

अहिले रमदान समापन हुन लागेका बेला मुस्लिम बस्तीमा कुरान वाचन भइरहको छ । महोत्तरीका सबैजसो बस्तीमा धेरथोर इस्लाम धर्मावलम्बी छन् । जिल्लाका सम्सी, जलेश्वर, मटिहानी, लोहारपट्टी, भङ्गाहा र बलवासहितका स्थानीय तहका धेरै बस्ती मुस्लिम बसोबास बाहुल्य छन् ।

ईदको चहलपहल सबैतिर भए पनि इस्लाम धर्मावलम्बी बाहुल्यताका बस्ती अहिले ईदमय बनेका छन् ।

रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved